चितवन मेडिकल कलेजकी छात्राद्वारा आत्महत्या : दुई जना शिक्षक निलम्बन

चितवन मेडिकल कलेजकी छात्राद्वारा आत्महत्या : दुई जना शिक्षक निलम्बन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० बैशाख २८ गते बिहिबार ०९:३९

घटनालाई भित्र भित्रै लुकाउन खोज्ने, गलत व्यक्तिलाई ढाकछोप गर्ने, पीडित परिवार र विद्यार्थीलाई धम्की दिने र घटनाको छानबिन प्रक्रियामा चलखेल गर्ने जस्ता कार्य भइरहेको भन्दै अभियानले आपत्ति जनाएको हो ।

मृतकका परिवारजनले शिक्षक सिंह र गुप्ताविरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दायर : कलेजद्वारा दुवैलाई निलम्बन

भरतपुर– चितवन मेडिकल कलेजकी एक छात्राले आत्महत्या गरेकी छिन् । बीडीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीय सिम्रन थापाले बैशाख २७ गते दिउँसो आत्महत्या गरेकी हुन् ।
उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । सिम्रन थापाले आत्महत्या गरेपछि कलेजले दुई शिक्षक डा. हरेन्द्र सिंह र डा. अभिषेक गुप्तालाई कलेजले निलम्बन गरेको हो । थापालाई दिउँसो परीक्षा दिइरहेको समयमा शिक्षकले परीक्षा हलबाट शिक्षकले निकालेपछि उनले आफ्नो कोठामा गएर आत्महत्या गरेकी हुन् ।
परीक्षा हलबाट निकालिएकी थापाले भरतपुर– १०मा रहेको डेराको कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन् । मृतकका परिवारजनले सिंह र गुप्ताविरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दायर गरेका छन् । त्यसपछि कलेजले निलम्बन गरेको हो ।
उनीहरूले दिउँसो परीक्षा दिइरहेकी थापालाई चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए । त्यसपछि कलेज नजिकै रहेको आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
उक्त घटनापछि विद्यार्थीहरूले मेडिकल कलेजको ओपिडी सेवा बन्द गरेका छन् । घटनापछि कलेजले निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको थियो ।
प्रहरीले उक्त घटनाका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले अनुसन्धान थालेको र शिक्षकलाई निलम्बन गरेपछि विद्यार्थीहरूले ओपीडी सेवा सुचारू गरेका छन् । तर, डेन्टलको ओपीडी सेवा भने बन्द छ ।
कलेजले घटनाको निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको र अनुसन्धानलाई सहजीकरण गर्न तथा विद्यार्थीहरुको मागलाई मध्यनजर गरेर दुई शिक्षकलाई निलम्वन गरेको जनाएको छ ।
घटनाको विषयमा पीडित पक्ष, कलेज प्रशासनसँग बसेर सहमती भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले बताउनु भएको छ । उहाँले घटना पछि परिवारजनले थापाको शव बुझेको जानकारी दिनु भयो ।
थापाको आत्महत्यापछि चिकित्सा शिक्षा संघर्ष अभियानले समेत विरोध जनाएको छ । विद्यार्थीमाथि हुने शारीरिक र मानसिक यातनाका विरुद्धमा विगतदेखि नै आवाज उठाउँदै आएको तर, त्यस्ता घटना बारम्बार दोहोरिने गरेको अभियानको ठहर छ । घटनालाई भित्र भित्रै लुकाउन खोज्ने, गलत व्यक्तिलाई ढाकछोप गर्ने, पीडित परिवार र विद्यार्थीलाई धम्की दिने र घटनाको छानबिन प्रक्रियामा चलखेल गर्ने जस्ता कार्य भइरहेको भन्दै अभियानले आपत्ति जनाएको हो । अभियानले विज्ञप्ति जारी गर्दै चितवन मेडिकल कलेजमा निरन्तर कलेज प्रशासनबाट विद्यार्थीहरूलाई गरिने व्यवहार एकदम अपमानजनक र खेदजनक रहेको बताएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न अभियानले माग गरेको छ ।
यसैगरी, सो घट्नाको अनेरास्ववियु चिकित्सा विद्यार्थी राष्ट्यि कमिटीले घटनाको छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेको छ ।

प्रकाशित मिति २०८० बैशाख २८, बिहीबार २१:३९ गते
हजुरको प्रतिक्रिया