लमजुङ– लमजुङको जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ६ चण्डिस्थानका बासिन्दाहरू वडालाई नयाँ जागरणको उदाहरणीय स्थल बनाउन सक्रियतापूर्वक जुटेका छन् । सो वडाका अध्यक्ष प्रकाश थापा सहित सयौं वडाबासीहरू राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा आबद्धभई त्यस्तो जागरणको संकेत बैशाख ३० गते दिएका हुन् ।
सो वडामा करिब ६५० घर धुरी रहेका छन् । तीमध्ये चार सय भन्दा बढी घरधुरीबाट रास्वपाको सदस्यता ग्रहण गरिएको हो । उक्त कार्यक्रम पछि थप(अन्य घरबाट पनि) प्रवेशका लागि छलफल चलिरहेको स्रोतको भनाइ छ । रास्वपाको एक विशेष कार्यक्रममा बीचमा गत स्थानीय निर्वाचनमा उक्त वडामा एमालेबाट विद्रोह गरी स्वतन्त्र रुपमा निर्वाचन लडेर वडाका अध्यक्ष निर्वाचित हुनुभएका प्रकाश थापाको नेतृत्वमा वडाबासीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको हो । त्यसरी प्रवेश गर्नु हुनेमा नेपाली काँग्रेसका वडाउपसभापति राजकुमार राउत, नेकपा(एस)का वडा उपसभापति मनबहादुर विक, काँग्रेसका वडासदस्य उम्मेदवार केशबहादुर बस्नेत, मकैडाँडा सारिङ साहित्य समाजका अध्यक्ष इन्द्र सुयललगायत हुनुहुुन्छ । इन्द्र सुयल एमालेको जनसांस्कृतिक मञ्चको सचिवालय सदस्य हुनुका साथै प्रगतिशील लेखक संघको जिल्ला उपाध्यक्ष समेत हुनुहुन्थ्यो ।
सो अवसरमा रास्वपाको सदस्यता ग्रहण गर्नु हुनेहरूमा बयोबृद्ध समाजसेवी सिंहबहादुर रिमाल, समाजसेवीहरू तिजबहादुर रिमाल, सुवे. कृष्णबहादुर रिमाल, पूर्णबहादुर रिमाल, ज्ञानबहादुर रिमाल, नेत्रबहादुर रिमाल लगायत हुनुहुन्छ । यसैगरी, रास्वपा प्रवेश गर्नु हुने अन्यमा पूर्ववडा सदस्यद्वय होमबहादुर राउत र राममाया खत्री, एमालेका नगर कमिटीको सचिवालय सदस्यहरू भरत थापा, पूर्णबहादुर खत्री, नगर सदस्य तेजबहादुर भण्डारी, भेषबहादुर राउत हुनुहुन्छ । त्यसैगरी, बयोबृद्ध समाजसेवीहरू ज्ञानबहादुर राउत, नरबहादुर भण्डारी, सन्तबहादुर अधिकारी, कुलबहादुर भण्डारी, रुद्र भण्डारी, रेशमबहादुर भण्डारी, लिलाबहादुर बस्नेत आदि हुनुहुन्छ । यसैगरी, माधव थापा, रुद्र सुयल, रणबहादुर सुयल, चुडामणि सुयल, उर्मिला विष्ट सुयल, कल्पना सुयल, ईश्वरी थापा, दिल्लीराम परियार, यज्ञराज परियार, शोभा परियार, मीना परियार लगायत हुनुहुन्छ ।
उक्त कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य डा. प्रभात अधिकारी प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले र सो दलका जिल्ला संयोजक धर्म केसीले संयुक्त रुपमा रास्वपाको चुनाव चिह्न भएको व्याच पहिराई विभिन्न व्यक्तित्वलाई पार्टीमा स्वागत गर्नु भएको थियो ।
सो अवसरमा डा. अधिकारीले रास्वपाको स्थापनाकालीन इतिहास, पृष्ठभूमि, आजका दिनसम्म समाजमा निभाउँदै आएको भूमिका, उपनिर्वाचनमा खेलेको भूमिका, साथै संसद बैठकमा सदस्यहरूलाई अनिबार्य उपस्थितिका लागि पार्टीले लगाएको ह्विप आदिका बारेमा जानकारी दिनु भएको थियो । उहाँले को मानिस के उद्देश्य(सेवा गर्ने कि पद लिएर स्वार्थ लुट्ने ?)ले पार्टीमा आएको हो ? भन्ने समेत हेका राख्ने गरिएको जानकारी दिनुभयो ।
यसैगरी, सो पार्टीका जिल्ला संयोजक धर्म केसीले आजको कार्यक्रममा वडानं ६ का बासिन्दाहरूको उत्साहजनक सहभागिता एवम् उपस्थिति र पार्टी प्रवेशले पार्टीलाई थप उर्जा मिलेको बताउँदै यसरी नै हामी जिल्लाको ७५ वटै जिल्लामा पुग्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
स्वःस्फूर्त रुपमा चार सय बढी घरधुरीबाट सदस्यता ग्रहण :
उक्त वडाका अध्यक्ष प्रकाश थापाले रास्वपालाई रोज्न पर्नुको औचित्यका बारेमा प्रष्ट्याउनु भएको थियो । उहाँले आजको समय तथा आम देशबासीको माग सुशासन हो, तर पुराना खिया लागेको दलहरूमा बसेर देशमा व्याप्त भ्रष्टाचारको उन्मुलन गर्न नसकिने र राष्ट्रनिर्माण गर्न नसक्ने ठहर गरी आफूहरूले रास्वपामा जाने निर्णय गरेको बताउनु भयो । उहाँले यो प्रतिनिधिसँगको भेटमा भन्नुभयो, ‘हाम्रो वडामा ६५० घर धुरी जति छन् । तीमध्ये स्वतः स्फुर्त रुपमा चारसयभन्दा बढी घरका व्यक्तिहरू आउनु भएर प्रवेश गर्नु भएको छ ।’ उहाँले थप भन्नुभयो, ‘त्यो कुनै करबलले गरिएको होइन, हामीले माइकिङ गरेर सार्वजनिक जानकारी भने गराएका थियौं ।
नगरपालिकाबाट वडाको विकास बजेट रोक्ने धम्की :
पूर्ववडा सदस्य होमबहादुर राउतले स्वागत मन्तव्य राख्दै एमाले छाडेर रास्वपामा गएको खण्डमा यस वडाको विकास निर्माणको काम(बजेट) समेत रोकिदिने भन्ने धम्की नगरपालिकाबाट आएको छ । यदि त्यस्तो भाइबन्दी गरेको भेटियो भने यस वडाका सम्पूर्ण वडाबासी गएर नगरपालिकालाई घेराउ गर्न समेत पछि पर्ने छैनौं भन्ने चेतावनी दिन चाहन्छौं भन्नुभएको थियो ।
सो अवसरमा बेसीशहर नगरपालिका– ६ को वडा समिति गठनको कार्य समेत गरिएको छ । जसमा अध्यक्ष तेजबहादुर भण्डारी चयन हुनुभएको छ । उपसभापतिमा राजकुमार राउत, सचिव इन्द्रबहादुर सुयल, कोषाध्यक्ष मीना परियार चयन हुनुभएको छ । त्यस्तै, सो समितिको सदस्यहरूमा मनबहादुर विक, राजु रिमाल, कृष्णबहादुर राउत, अमृत खत्री, बाबुराम अधिकारी, विष्णु मिजार र वमबहादुर अधिकारी चयन हुुनु भएको छ ।
बेसीशहर नगरपालिका– २ को वडा अध्यक्षमा खड्गबहादुर अधिकारी :
यसैगरी, हिजै बेसीशहर नगरपालिका– २ को वडा कमिटी पनि गठन भएको छ । सो समितिको अध्यक्षमा खड्गबहादुर अधिकारी, उपसभापतिमा काजी थापा, सचिवमा सुरज अधिकारी चयन हुनु भएको छ । यसैगरी, सदस्यहरूमा रञ्जना तिवारी, सपना धिताल, विविकला धिताल, विष्णु थापा, विष्णुबहादुर धिताल, स्वस्तिका धिताल, देबेन्द्र बराल र कृष्णबहादुर धिताल चयन हुनु भएको जिल्ला सहसंयोजक अशोक सापकोटाले जानकारी दिनुभएको छ । उहाँका अनुसार रास्वपाको विधान अनुसार नगर समिति ११ सदस्यीय हुने प्रावधान रहेको छ ।
प्रकाशित मिति २०८० बैशाख ३१, आईतवार २१:५५ गते