चामे(मनाङ)– गण्डकी प्रदेश सरकारले स्थापनाकालमै प्रदेश राजधानी पोखरादेखि सबै पालिकाको केन्द्र(सदरमुकाम) सम्म जोड्ने सकड प्रदेश सरकारले बनाउने नीतिगत निर्णय गर्दै प्रतिवद्धता व्यक्त गरेको थियो । तर हिमाल पारीको जिल्ला मनाङको पनि दुर्गम क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकामा अझै पनि सडक सञ्जालमा जोडिन सकेको छैन । त्यतिमात्र हैन त्यसको निर्माणका लागि प्रदेश सररकारले सुको पैसा पनि विनियोजित नगरेबाट गण्डकी प्रदेश सरकारको स्थापनाकालीन नीतिगत निर्णय हावामा उडेको पुष्टि भएको हो ।
पालिकासम्म सडक विस्तारका लागि प्रदेश र संघ सरकारले वास्ता नगरेपछि गाउँपालिका आफैले त्यसको लागि पहल गरी निर्माणको काम सुरु गरेको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनु भयो । उहाँका अनुसार पालिकासम्म सडक विस्तार गर्नका लागि प्रदेश र संघ सरकार, यो क्षेत्रका प्रदेश सांसद राजीव गुरुङ(दीपक मनाङे)लाई समेत पटक पटक भने, ज्ञापन पत्र त कति दियो, दियो कसैले सुनेन । उहाँले भन्नुभयो, ‘यस कार्यका लागि आफू धेरै पटक योजना आयोग, शहरी विकास मन्त्रालयमा धाएको यही क्षेत्रका प्रदेश सांसद राजीवलाई पनि पटक पटक भन्यो तर कसैले सुन्दैन ।’
पालिकामा सडक लग्नका लागि चालु आवमा गाउँपालिकाको ९० लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष लामाले बताउनुभयो । ‘पालिकाको एकल लगानीमा सडक विस्तारको काम भइरहेको छ ।’ उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेशमा रहेका ८५ वटा स्थानीय तहमध्ये अहिलेसम्म सडक सञ्जालले नछोएको एक मात्र नार्पाभूमि गाउँपालिका बाँकी रहेको छ तर पनि कोही सुन्दैन ।’ मनाङमा चार मात्र स्थानीय तह अर्थात गाउँपालिका छन् ।
सडकको र्ट्याक खोल्नका लागि पालिका आफैले डोजर, ब्रोकर किनेर, आफैले चालक, सहयोगी राखेर तेल किनेर निर्माणको काम गरिरहेको पालिका अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङ जिल्ला सडक सञ्जालसँग जोडिएको २० वर्ष भइसकेको छ । तर पनि हिमाली जिल्ला मनाङको सबैभन्दा विकट मानिने नार्पाभूमि गाउँपालिका सडक सञ्जाल जोडिने नसकेको र त्यसका लागि यस निर्वाचन क्षेत्रबाट जितेर गएका प्रदेश सांसद राजीव गुरुङले समेत सुन्ने कान नलगाएको अध्यक्ष लामाको गुनासो छ ।
जिल्ला सदरमुकाम चामेको कोतो गाउँदेखि नार्पाभूमिको कार्यालयसम्मको दुरी २६ किलोमिटर रहेको अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको डिपिआर समेत तयार भएको छ । मात्रै बजेटको कमी छ । गुनासो शैलीमा उहाँले थप भन्नुभयो, ‘यो क्षेत्रको प्रदेश सांसद राजिवले समेत सडक बनाउनेतर्फ ध्यान नदिएकोमा दुःख लागेको छ ।’ कडा पहरो फोरेर सडक निर्माण गर्नु पर्ने भएकोले खर्च धेरै लाग्ने स्थिति उत्पन्न भएको छ उहाँले भन्नुभयो ।
सो पालिकाका लागि २०७७ देखि सडक विस्तारको काम थालिए पनि हालसम्म खासै उपलब्धी भने हुन सकेको छैन । यस अघिका वर्षमा ३०, ४०, ६० लाखसम्म बजेट छुट्याउँथ्यो गाउँपालिकाले, यसवर्षबाट भने ९० लाख छुट्याएको अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अब सडक नबन्दासम्म र म अध्यक्ष हुँदासम्म यही दरले बजेट छुट्याउँछ पालिकाबाट ।
गण्डकी प्रदेश सरकारले स्थापनाकालमै प्रदेश राजधानी पोखरादेखि सबै पालिकाको केन्द्र(सदरमुकाम) सम्म जोड्ने सकड प्रदेश सरकारले बनाउने प्रतिवद्धता नीतिगत रुपमै व्यक्त गरेको हो तर पनि प्रदेशबाट सुको पैसा बजेट विनियोजन नगरेको सो गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले गुनासो गर्नु भयो । उहाँले भन्नुभयो, ‘पृथ्वीसुब्बा गुरुङ मुख्य मन्त्री हुँदा पनि यो बाटोलाई हेरेन ।’ कतै तिरबाट पनि सहयोग नआउने भएपछि पालिकाकै बजेटबाट भने पनि सडकको र्ट्याक खोल्न लागिएको उहाँको भनाइ छ ।
यो वर्ष पाँच किलोमिटर सडकमा र्ट्याक खोल्ने काम जारी रहेको छ, छिटै सम्पन्न हुन्छ, गर्छौं । त्यसछि पनि २१ किलोमिटर सडक निर्माण हुन बाँकी छ । उहाँले भन्नुभयो, ‘गाउँसम्म सडक लग्न दुई वटा मोटरेवल ठूला पुल बनाउनु पर्छ, यौटा मर्स्याङदी नदीमा र अर्को नार खोलामा । ती दुवैको बजेट ५/५ करोड निस्केको छ अध्यक्ष लामाले उल्लेख गर्नु भयो । सडक विस्तारका लागि हारगुहार गर्दा पनि संघ र प्रदेशबाट कुनै सहयोग नभएको भन्दै गाउँपालिकाको एकल प्रयासमा सडक विस्तारको कामलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नार्पाभूमिमा सडक लग्नका लागि विस्फोटक पदार्थसमेत हामी आफैले किनेको छ र पहाड फोरेर सडकको र्ट्याक खोल्ने काम गरिएको छ ।’
नार्पाभूमि गाउँपालिकामा सडक सञ्जालमा जोडनका लागि प्रशासकका हिसाबले गर्नु पर्ने सहयोगमा कुनै कमी नहुने मनाङकी प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेलले बताउनु भयो । उहाँका अनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि विस्फोटक पदार्थ प्रयोग गरी नेपाली सेनाको सहयोगमा नार्पाभूमिको कोतो– च्याँखुको नार्फु सडक खण्डको ट्र्याक खोल्न सहयोग गरिएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ ३, बुधबार १२:५५ गते