राष्ट्रकविको जन्मस्थलमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको तयारी

राष्ट्रकविको जन्मस्थलमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ ३ गते बुधबार ०९:३२

पालिकास्तरमा प्ररम्भिक चरणको प्रतियोगिता सञ्चालन गरि उत्कृष्ठ छनौट भएका दुई जनालाई फाइनल चरणमा भाग लिन पठाउने नीति तय गरिएको आयोजकद्वारा जानकारी दिइएको छ ।

‘आधुनिक समाजमा परम्परागत ज्ञान र सीपको आवश्यकता’ विषयमा वक्तृत्वकला हुने

बेसीशहर– लमजुङमा राष्ट्रकवि माधव घिमिरेको जन्मस्थल भिरपुस्तुन अर्थात बाहुनडाँडामा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने तयारी गरिएको छ । मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान काठमाडौंको आयोजना र मर्स्याङ्दी गाउँपालिकाको ुसहयोगमा सो प्रतियोगिता गरिने भएको हो ।
सो प्रयोजनका जिल्लाको आठवटै पालिकाभित्र ‘आधुनिक समाजमा परम्परागत ज्ञान र सीपको आवश्यकता’ विषयमा प्रारम्भिक चरणको अन्तरपालिका विद्यालयस्तरीय प्रतियोगिता यही जेठको पहिलो हप्ताभित्र आफ्नै स्रोत साधनको उपयोग गरी सम्पन्न गर्नु पर्ने छ । सो प्रतियोगितामा पालिकाहरूमा रहेका माद्यामिक विद्यालय (कक्षा १० सम्म)को आन्तरिक वक्तृत्वकला प्रतियोगिता सम्बन्धित पालिकाको शिक्षा इकाईमार्फत सञ्चालन गराई सर्वोत्कृष्ट ठहर भएका २ जना विद्यार्थीलाई छनौट गरी जिल्लास्तरीय प्रतियोगितामा पठाउन अनुरोध गरिएको आयोजक मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान काठमाडौंका अध्यक्ष विजयराज न्यौपानेले बताउनु भयो ।
उहाँका अनुसार प्रतियोगिताको फाइनल चरण राष्ट्रकविको जन्मस्थल मर्स्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडा स्थित चन्द्रोदय मा.वि.मा यही जेठ १६ गते मंगलबार गरिने छ ।
उक्त प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई क्रमशः १० हजार, सात हजार पाँच सय, पाँच हजार र २÷२ हजारनगदसहित प्रमाणपत्र र केही बालोपयोगी पुस्तकहरू प्रदान गरिने कार्यक्रम रहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी विद्यार्थीहरूलाई पनि सहभागिताको प्रमाणपत्रसहित केही बालोपयोगी पुस्तकहरू प्रदान गरिने छ । उहाँले भन्नुभयो, ‘साथै आयोजक विद्यालयलाई धन्यवाद पत्र सहित केही बालोपयोगी पुस्तकहरू प्रदान गरिने तयारी छ ।’
विद्यार्थीहरूलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे, डा. हर्कबहादुर गुरुङको जन्मस्थलसहित लमजुङको प्राकृतिक, पर्यटकीय स्थलहरूको प्रत्यक्ष अवलोकन गराउनुका साथै लमजुङका सबै पालिका विद्यार्थीबीच सुसम्बन्ध कायम गर्ने अवसर यसबाट मिल्नुका साथै वाक्कलाको विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको आयोजकको भनाई छ ।
उहाँका अनुसार फाइनल प्रतियोगितात्मक समारोहमा विशिष्ट अतिथिका रूपमा सहभागी हुनका लागि आठ वटै पालिकाका मेयर तथा अध्यक्षहरूलाई आमन्त्रण गरिएको समेत आयोजक मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपाने जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८० जेष्ठ ३, बुधबार २१:३२ गते
हजुरको प्रतिक्रिया