काठमाडौं– रास्वपाका केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले आफ्नो दलले नीति नियमको कडाईका साथ पालन गर्ने बताउनु भएको छ । राष्ट्यि स्वतन्त्र पार्टी(रास्वपा)को लमजुङ– काठमाडौं सम्पर्क समिति गठन गर्न आयोजित भेलालाई सम्बोधन गर्दै उहाँले जेठ ६ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले सक्षम, भिजन भएको काममा खट्न सक्ने व्यक्तिलाई पद दिइने बताउँदै पदका लागि पैसाको खेल नहुने दावी गर्नुभयो । उहाँले स्थानीय तहको वडादेखिनै केन्द्रसम्मको संगठन निर्माणदेखि सबै काम पारदर्शी हुने हुन्छ र सबै सिस्टम अनुसार चल्ने हुन्छ भन्नुभयो । पार्टीको आम्दानी खर्च समेत ३/३ महिनामा लेखा परीक्षण गरी पार्टीको वेभसाइटमा राखिएको छ, तपाई हेर्न सक्नु हुन्छ उहाँले उल्लेख गर्नु भयो । राजनीतिलाई स्तरीयकरण गर्नका लागि आफ्नो पार्टीको उदय भएको बताउँदै उच्च नैतिकता हाम्रो पार्टीको प्रतिवद्धता हो उहाँले भन्नुभयो । हामीले प्राइमरी निर्वाचनका आधारमा जिम्मेवारी दिने गरेका छौं । त्यसलाई राप्रपाले पनि अनुसरण गर्यो भन्ने छ, अब सबै पार्टी यो बाटोमा नआई सुख्खै छैन भन्दै उहाँले यसले भ्रष्टाचारको अन्त्य गर्न सघाउने छ जोड दिदै भन्नुभयो ।
यसैगरी, सो दलबाट निर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले संगठन बिना पार्टीको कल्पना गर्न सकिदैन तर हामीले सुसंस्कृति राजनीतिको उदाहरण दिनुछ भन्नुभयो । हाम्रा प्रयासहरू सांकेतिक मात्र नभई सार्थक हुनुपर्छ, हामीले इमान्दार प्रयास गरेका छौं र गरिरहने छौं उहाँले भन्नुभयो । आफू पार्टीको साधारण सदस्य मात्र भएको बताउँदै हाम्रो पार्टीमा ‘म यति हजार मान्छे लिएर आउँछु के पद दिन्छौं ?’ भन्ने पनि भेटिन्छन् तर हामी कसैलाई पनि सुरुमै तलाई यो दिन्छु भनेर ल्याउँदैनौं भन्नुभयो । हामी कार्यकर्ताको भिड जम्मा गरेर, भातृसंगठनलाई विचौलियाको रुपमा काम गर्ने शैलीका विरुद्ध छौं । कार्यकर्ताले विचौलियाको काम गरेपछि भ्रष्टाचार नबढे के बढ्छ ? उहाँको तर्क र प्रश्न थियो । उहाँले जोड दिदै भन्नुभयो, ‘अब हामीले सोध्नु पर्छ कि बिना पेशा/आम्दानीको कुनै पनि दलका कार्यकर्ताहरू जो सानसौकत, रजगजका साथ बस्ने गरिआएका छन्, उसको त्यो हैसियतको आय स्रोत के हो ?’ यसकारण हामीले कार्यकर्ता पंक्ति ठूलो नराख्ने भनेका छौं साथै, उत्पादनमा समेत जोड दिइरहेका छौं उहाँले उल्लेख गर्नु भयो । हाम्रा मान्छे केही न केही उद्यम गर्नु पर्छ र एक व्यक्तिले दुई कार्यकालभन्दा बेसी काम गर्न हुँदैन भन्ने मान्यता रहेको छ ।
उहाँले चुनावको बेलामा आफूले साकाहारी खाना खाएर प्रचारमा हिडेको स्मरण गर्दै भन्नुभयो, निर्वाचन भड्किलो हुनुहुँदैन । हाम्रो पार्टीमा टिकटमा लेनदेन चल्दैन, टिकट रवि वा स्वर्णिमले दिने हैन । सिस्टमले दिन्छ । हामीले प्राइमरी निर्वाचनका आधारमा जिम्मेवारी दिने गरेका छौं भन्नुभयो । उहाँले हाम्रो पार्टीमा आजीवन राजनीति गर्ने पद एउटै व्यक्तिले लिइरहने भन्ने पनि हुँदैन, हाम्रो पार्टीको सदस्यता लिदा कुनै प्रकारको गल्ती नगरेको भन्ने प्रतिवद्धता र भोलिका दिनमा त्यस्तो प्रमाणित भएमा स्वतः सदस्यता निस्कृय हुने गरी संगठनको ढाँचा निर्माण गर्न लागिएको समेत उहाँले जानकारी दिनुभयो । हर नेता, कार्यकर्ताको नैतिक पक्ष सुदृढ हुन आवश्यक छ, त्यो हुनासाथ विकास, सुशासन र समुन्नतिलाई कसैले रोक्न सक्दैन डा. वाग्लेले प्रष्ट्याउनु भयो । उहाँले आफ्नो दल २१ औं शताब्दीको र अन्य सबै २०औं शताब्दीका हुन् भन्ने समेत ठोकुवा गर्नु भयो ।
डा. वाग्लेले विवादित सांसद ढाकाकुमारको उदाहरण दिदै भन्नुभयो, ‘उहाँले ७२ लाखको बार्गेनिङ गरेको हो, लिएको त देखिएको छैन, विद्यमान ऐन, कानुनले उहाँलाई दोषी नदेख्न पनि सक्ला तर हाम्रो पार्टीको नीति र सिद्धान्तले दोषी देख्यो हामीले कारवाही गर्यौं ।’ त्यसैले उच्च नैतिकता हाम्रो पार्टीको मौलिक पहिचान हो, जो रहेक कार्यकर्तामा हुन जरुरी छ उहाँले भन्नुभयो । यो पार्टीको सिद्धान्त छैन, खहरे हो भन्नेहरूलाई जवाफ दिदै विधान, बाचापत्र पार्टीको सिद्धान्त लगायतका धेरै कुरा दिइएको छ । हामी कुशासनको सशक्त रुपमा कर्मले गर्दैछौं पार्टी सदस्यको अचारण नै हाम्रो पार्टीको पहिचान हो भन्दै उहाँले हामीले २, २ जोड्दा पाँच हुन्छ भन्ने देखाउनु छ भन्नुभयो ।
सो दलका लमजुङका जिल्ला संयोजक धर्म केसीले हामीले परिवर्तनका लागि काम गर्ने हो र गरिरहेका छौं भन्नुभयो । उहाँले निर्वाचन ताका सोही स्थानमा गरिएको भेलाको स्मरण गर्दै त्यो बेलामा यहाँ आउनु भएका केही व्यक्तिले हामी सहयोग गर्छौं तर हाम्रो फोटो कतै नआओस् है भन्ने आग्रह गर्ने संख्या ठूलो थियो । तर आजको स्थिति धेरै भिन्न पाउँदा निकै खुशी लागेको उल्लेख गर्नु भयो । उहाँले अबको देशको राजनीति बुढाखाडाले नभई विज्ञ र राजनीतिज्ञले हाँक्ने हो भन्नुहुँदै पार्टी संगठन ढाँचाका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले जिल्ला समिति बाहेक पाँच सदस्यीय निर्वाचन कमिटी, विभिन्न विभागहरू समेत छन्, आफ्नो रुचि, दक्षता र लगाव अनुसार त्यहाँ पनि बस्न सकिन्छ भन्ने जानकारी दिनुभयो । लमजुङमा पर्यटन, कृषि, उर्जा लगायतलाई आधुनिक प्रविधिबाट काम गर्दा समृद्धि आउँछ, हाम्रो मिसन जिल्लाका रहेक घरमा एक सय युनिटसम्म विद्युत निःशुल्क हुनुपर्छ भन्ने छ । तत्कालका लागि ५० युनिट निःशुल्क हुनु पर्छ त्यसका लागि हामीले पहल गरिरहेका छौं भन्नुभयो । भ्रष्टाचारको विरोध गर्नु र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै उहाँले पार्टीको अबको मिसन २०८४ हो, त्यो सालमा हुने निर्वाचनमा लमजुङमा ७५ वटै वडामा पार्टीले आफ्नो बर्चश्व कायम गर्ने गरी हामीले काम गर्नु छ, गरौं भन्ने आह्वान गर्नु भयो ।
सो भेलाले लमजुङ– काठमाडौं सम्पर्क समिति तत्कालका लागि ११ सदस्यीय गठन गरेको छ । समितिको भोला संयोजकमा भोला शर्मा चयन हुनु भएको छ । सदस्यहरूमा ज्ञानेन्द्र गुरुङ, रामहरि अधिकारी, रामप्रसाद न्यौपाने, नारायण न्यौपाने, भरतराज डौलिया, रमेश तिवारी, रमा पौडेल सापकोटा, सूर्यबहादुर भुजेल, वसन्तमणि पराजुली चयन हुनुभएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ ७, आईतवार ११:३४ गते