काठमाडौं– लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी रबैयाप्रति प्रेस चौतारी नेपालले चुनौती र चेतावनी दिएको छ । प्रेस चौतारी नेपालले जेठ ७ गते प्रेस विज्ञप्ति जारी गर्दै चेतावनी दिएको हो ।
प्रेस चौतारीका महासचिव हिरामान लामाले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक संकटले अन्य क्षेत्रमा प्रभाव पारेपछि त्यसको असर मिडियामा झन् धेरै परेको छ । यो कुराको मनन् गरेर सरकारले सञ्चार क्षेत्रका लागि थप राहात प्याकेज घोषणा गर्ला भन्ने हाम्रो अपेक्षा थियो । राहात प्याकेज त हैन पाइरहेको सुविधा समेत कटौती गर्ने सरकारी रवैया अविलम्ब सच्याउन प्रेस चौतारी नेपाल माग गर्दछ । अन्यथा प्रेस चौतारी नेपालले आन्दोलनका चरणवद्ध कार्यक्रम घोषणा गर्ने चेतावनी दिन चाहन्छ ।’
विज्ञप्तिमा त्यसअघि भनिएको छ, नेपाल सरकारले विगत लामो समयदेखि छापा र विद्युतीय सञ्चार माध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेको कुराले प्रेस चौतारी नेपालको गम्भिर ध्यानआकर्षण भएको छ । सरकारले चालु आर्थिक वर्षको जेठ १५ गतेदेखि असार मसान्तसम्मको लोककल्याणकारी विज्ञापनको रकम निकासा नदिएको विषय नेपाली प्रेसलाई कमजोर पार्ने गठबन्धन सरकारको पहिलो कदम हो भन्ने बुझाइ हाम्रो छ ।
यसैगरी, वर्तमान आर्थिक संकटको घडीमा विविध समस्याहरु सँग जुधेर पनि आम जनतालाई सुसुचित गर्न अहोरात्र खटिरहेका सञ्चार माध्यम र तिनमा आवद्ध सञ्चारकर्मीहरुको रोजीरोटी खोसिने गरी वर्तमान गठबन्धन सरकारले विज्ञापनको रकम कटौती गर्नु नेपाली सञ्चार क्षेत्रलाई ठूलो उपेक्षा हो भन्ने ठहर प्रेस चौतारी नेपालकोछ विज्ञप्तिमा उल्लेख छ ।
यस सन्दर्भमा विगतमा केपी शर्मा ओली प्रधानमन्त्री भएका बखत विद्युतीय सञ्चार माध्यमले पाउने लोककल्याणकारी विज्ञापनको रकममा २५ प्रतिशत वृद्धि गरिएको प्रेस चौतारी नेपाल स्मरण गराउन चाहन्छ सो विज्ञप्तिमा भनिएको छ ।
सो विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सदैव राजनीतिक दलका एजेण्डलाई साथ दिएको नेपाली सञ्चार क्षेत्रलाई सत्तामा पुगेपछि संकटमा पार्ने वर्तमान गठबन्धन सरकारको यो कदमको प्रेस चौतारी नेपाल घोर भत्र्सना गर्दछ । आर्थिक संकटले अन्य क्षेत्रमा प्रभाव पारेपछि त्यसको असर मिडियामा झन् धेरै परेको छ । यो कुराको मनन् गरेर सरकारले सञ्चार क्षेत्रका लागि थप राहात प्याकेज घोषणा गर्ला भन्ने हाम्रो अपेक्षा थियो । राहात प्याकेज त हैन पाइरहेको सुविधा समेत कटौती गर्ने सरकारी रवैया अविलम्ब सच्याउन प्रेस चौतारी नेपाल माग गर्दछ । अन्यथा प्रेस चौतारी नेपालले आन्दोलनका चरणवद्ध कार्यक्रम घोषणा गर्ने चेतावनी दिन चाहन्छ ।’
प्रकाशित मिति २०८० जेष्ठ ८, सोमबार ०६:२९ गते