सुन्दरबजार– लमजुङको सुन्दरबजार नगरपालिकामा गत वर्ष सम्पन्न स्थानीय निर्वाचन पछि विजयी नयाँ समितिले वर्षभर गरेका कार्यप्रगति सार्वजनिक गरेको छ । नगरपालिकाले आफ्नै सभाहलमा पत्रकार सम्मलेन गरी उक्त प्रगति जेठ ७ गते सार्वजनिक गरेको हो ।
मेयर कृष्णप्रसाद कोइरालले विभिन्न शीर्षकका पाँच पेज लामो प्रतिवेदन पत्रकार सम्मेलनमा सार्वजनिक गर्नु भएको हो । सो अवसरमा नगरपालिकाका उपमेयर भगवती केसी, वडाध्यक्षहरू तथा नगर कार्यपालिकाका सदस्यहरू तथा नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरू समेतको सहभागिता थियो ।
सो अवसरमा मेयर कोइरालाले नगरपालिकाका पदाधिकारीको पद गत वर्ष जेठ ६ गते भएको थियो तर हिजो बिदा परेका कारणले आज यो कार्यक्रम गरिएको बताउनु भयो । उहाँले भौतिकपूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, महिला बालबालिका तथा जेष्ठनागरिक, रोजगार सेवातर्फ, सामाजिक सुरक्षा, वित्तीय प्रगति, न्यायिक समितिका गतिविधि तथा राजस्व संकलन जस्ता विविध विषयमा प्रकाश पार्नु भएको थियो । उहाँले भन्नुभयो, ‘नगरबासीको जन्मदेखि मृत्युसम्म नगरपालिका साथसाथै छ’ अभियान सञ्चालन गरेको छ ।
त्यस क्रममा मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका ४८ जना बिरामीहरूलाई मासिक रुपमा पाँच हजार रुपैयाँ उपलब्ध गराइएको, कार्यपालिकाको पहिलो निर्णय अनुसार छोरी जन्मेमा बैंक खातामा प्रति बालिका दुई हजार रुपैयाँबाट खाता खोलिदिने थालनी त्यस्ता २७ जनाको रकम जम्मा गरिएको, सुरक्षित प्रसुति गराउनेलाई एम्बुलेन्स खर्च २८ जनालाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ अनुदान प्रदान, वडानं– १ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको, नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणाका साथमा मलामी सहितको शवबाहनको प्रवन्ध लगायतका काम गरिएको मेयर कोइरालाले बताउनु भयो ।
उहाँले भौतिक पूर्वाधारतर्फ नगरस्तरीय र वडास्तरीय २२० वटा योजना रहेकोमा उपभोक्ता समितिमार्फत संचालित हालसम्म १८० वटा योजना सम्झौता भई ९७ वटा योजनाको भुक्तानी भएको र ८३ वटा योजना भुक्तानीको लागि बाँकीमध्ये लागत साझेदारीमा आन्तरिक सडक पिच तथा ढलानका लागि ६ वटा योजना रहेका छन् । योजनाको सम्झौता गर्ने अन्तिम मिति यही जेठ १० गतेसम्म तोकिएको र भुक्तानीका लागि अन्तिम म्याद असार १० गतेसम्म तोकिएको जानकारी दिनु भयो । त्यस्तै, नगरपालिकामा जम्मा पक्की सडक १८ किमी, ग्रावेल र कच्ची सडक १÷१ सय किमि रहेको उहाँको भनाई छ ।
शिक्षातर्फ स्थानीय पाठ्यक्रम निर्माण भई कार्यान्वयन भइरहेको, नगर शिक्षा समिति विस्तार भएको, विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी निर्देशिका पारित गरी लागु भएको र सोको आधारमा विद्यालय व्यवस्थापन समितिहरू गठन भइरहेका छन् । कक्षा १ देखि ३ का प्रति विद्यार्थी १ वटा मूल्याङ्कन पुस्तिका छपाई वितरण गरिएको, राष्ट्पति रनिङ शील्ड प्रतियोगिता व्यवस्थित ढङ्गले सञ्चालन गरिएको, क्लष्टरमा आधारित प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भई नगरस्तरीय चरणमा प्रवेश गरेको लगायतका १३ बुँदो उपलब्धी उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै, कृषि र पशुपालनतर्फ नगरपालिकालाई आत्मनिर्भर बनाउनेतर्फ काम भइरहेको, आकस्मिक बाली संरक्षण, कृषकहरुलाई स्थलगत तालिम, कुनै वडा बाख्रापालन, कतै मौरी पकेटक्षेत्र जस्ता कार्यक्रम सञ्चालन गरिएको, उत्पादन हुने महको ब्राण्डिङ र लेवलिङको काम भइरहेको, जसको लागि सिलिङ आइरन मेशिन वितरण भएको उल्लेख गर्नुभयो ।
यसैगरी, बेरोजगारतर्फ नगरपालिकामा वेरोजगार संख्या ६ सय ५८ सूचिकृत भएको, तीमध्ये सबैभन्दा बढी बेरोजगार सुचिकृत वडा नं. ३ मा २ सय ४३ जना, वडा नं. ९ मा बेरोजगार सुचिकृत नभएको, ८१ जना बेरोजगरालाई कूल ६,३५१ दिनको रोजगारी उपलब्ध गराइएको जानकारी मेयर कोइरालाले दिनुभयो ।
वित्तीय प्रगतितर्फ यस आवमा चालु खर्च ६४.३५ प्रतिशत (विनियोजन भएको ४७ करोड ७० लाख ३७ हजार मध्ये ३० करोड, ७० लाख १० हजार २८९ रुपैयाँ) खर्च भएको र पूँजीगत खर्चतर्फ ३३.५१ प्रतिशत (२१ करोड ४ लाख ७६ हजार ८३ रुपैयाँ मध्ये ७ करोड ५३ लाख ७ हजार ८ सय १४ रुपैया) खर्च भई बाँकी काम भइरहेको र भुक्तानी हुन बाँकी रहेकोले खर्च प्रतिशत कम देखिएको उहाँको भनाइ थियो ।
उहाँको प्रस्तुतिपछि पत्रकारका जिज्ञासाको जवाफ दिने काम शिक्षा शाखाका प्रमुख ठाकुरजी तिवारी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र मेयर कोइराला आफैले गर्नु भएको थियो । तिवारीले कला, संस्कृति, साहित्यको विकासमा ध्यान दिएको र विद्यार्थी प्रतिभा प्रस्फुटनका कार्य हुने गरेको उल्लेख गर्नु भयो । विद्यार्थी बाहेकको समुदायमा हुने काल, संस्कृति, साहित्य तथा मानवीय संसाधनको विकासका बारेमा भने सायद नगरपालिकाको कुनै कार्यक्रम नै नभएर होला प्रतिक्रिया आएन ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफू कार्यालयमा भरखरै आएको हुँदा राम्रोसँग चिनजान र कार्यालयको वस्तुस्थितिसँग पूर्ण जानकारी लिन नै बाँकी रहेको जानकारी दिदै दिगो विकास र समुन्न नगरपालिका बनाउनेतर्फ ध्यान दिइएको उल्लेख गर्नुभयो ।
मेयर कोइरालाले कार्यक्रमको व्यानरसम्म नराखिएकोमा कमजोरी स्विकार गर्नुभयो, मध्यपहाडी लोकमार्गको विवादबारेमा यो राष्ट्रिय गौरवको आयोजना भएको हुँदा आफूहरूले सहजिकरणमात्र गर्ने बताउनु भयो, त्यसको मापदण्डमा हालै भौतिक निर्माण मन्त्रालयले जारी गरेको निर्देशनको कार्यन्वयनका बारेमा उहाँ बोल्न चाहनु भएन । सुन्दरबजार र चन्द्रेश्वर अस्पतालको सञ्चालक समितिका बारेको जिज्ञासामा पदावधि बुझेर सकिएको भए तत्कालै पदपूर्ति गर्ने कोइरालाले जानकारी दिनुभएको थियो ।
सामाजिक सुरक्षातर्फ जेष्ठ नागरिक (७०बर्ष माथीका) २ हजार १५२, जेष्ठ नागरिक (दलित) २ सय ५५ जना, जेष्ठ नागरिक (एकल महिला) २ सय ७७ जना, एकलमहिला भत्ता पाउने संख्या ३ सय ६१ जना तथा दलित बालबालिका ३ सय ९२ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेको उल्लेख गर्नु भयो ।
नगरपालिकाबाट हुने बजार अनुगमन, किशोर किशोरी तथा युवाहरूलाई कुलतबाट जोगाउने जस्ता कार्यक्रमहरू भएको देखिएन ।
कार्यपालिका बैठक जम्मा १९ वटा सम्पन्न गरी २ सय ५२ बटा निर्णय गरिएकोमा २ सय ४६ बटा निर्णयहरू कार्यान्वयन भएका÷कार्यान्वयनको क्रममा रहेका छन् । बाँकी ६ बटा निर्णयहरू कार्यान्वयन हुन बाँकी छन् मेयर कोइरालाले प्रष्ट्याउन्ु भएको थियो । उहाँका अनुसार एक वर्षको यस अवधिमा २ बटा नगर सभा सञ्चालन भई ३८ वटा निर्णय भएकोमा ३७ बटा निर्णय कार्यान्वयन भएका÷कार्यान्वयन भइरहेका र १ बटा निर्णय कार्यान्वयन हुन बाँकी रहेको उहाँको भनाइ छ ।
स्मरणीय छ, नगरपालिकाले वर्षमा एक दिनमात्र भने पनि पत्रकार सम्मलेन मार्फन आफ्ना गतिविधि सार्वजनिक गरी पारदर्शीता एवम् सुशासनको पक्षपोषण गर्नुलाई भने सकारात्मक रुपमा लिइएको छ । लमजुङमा यसरी आफ्नो कार्यप्रगति पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने सु्न्दरबजार नगरपालिका जिल्लाका आठ पालिकामध्ये पहिलो भएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ ८, सोमबार ०७:४६ गते