भ्रष्टाचार विरुद्धको अभियान : भोलि लमजुङमा विरोध र्याली र सभाको आयोजना

भ्रष्टाचार विरुद्धको अभियान : भोलि लमजुङमा विरोध र्याली र सभाको आयोजना

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ ८ गते सोमबार ११:१८

भोलि मनाङ्गे चौतारबाट विहान ११ बजे सरु हुने र्याली बेसीशहर बजार परिक्रम गरी समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत हुने छ ।

भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरिरहेको बास नेपालको जिल्ला शाखाले पनि उक्त र्यालीमा ऐक्यवद्धताका साथ सहभागी हुने

बेसीशहर– नेपालमा व्याप्त भ्रष्टाचार र तत्काल जल्दोबल्दो रुपमा देखापरेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई फोकस गर्र्दै व्यापक रुपमा विरोध र्याली र सभा गरिने भएको छ । भ्रष्टचार विरोधी नागरिक अभियानका नाउँमा सो र्याली तथा सभाको आयोजना गरिएको जेठ ८ गते पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
सो अवसरमा नागरिक समाजका अगुवा बालकृष्ण बराल, खेमजङ्ग गुरुङ, तेजनारायण अधिकारी, पदमराज घलेले आ– आफ्नो धारणा राख्नु भएको थियो । उक्त अवसरमा अमेरिकी नागरिक सन्ध्या समेत सो अभियानमा सरिक भएकी थिइन् ।
सो अवसरमा बरु पार्टी छोड्ने तर कमिशनखोरी र सबै भ्रष्टचार बिरुद्धका मुद्धा नछोड्ने नागरिक अभियानका

जारी विज्ञप्ति बरालले पढेर सुनाउनु भएको थियो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले २००७ सालदेखि अहिलेसम्म पटक पटक राजनीतिक परिवर्तनको लागि ठूला ठूला जनआन्दोलनहरू र सशस्त्र जनयुद्ध समेत गरे । कुनै पनि राजनीतिक परिवर्तनले देशमा प्रजातन्त्रलाई सुदृढ गर्न पनि सकेन र आर्थिक र सांस्कृतिक परिवर्तनको आभाष जनतालाई दिन सकेन । पटक पटक जनताले प्राणको आहुती दिए तर जनताले गरेको जन आन्दोलनको परिणाम प्राप्त हुन सकेन । राजनीतिक दलका मुठ्ठीभर नेता र उनिहरुकै आसेपासेहरू, आफन्तहरुले मात्र आर्थिक उन्नतीका अवसरहरू प्राप्त गरे । यसले राजनीतिक दल र नेताहरूप्रति जनताको चरम वितृष्णा र निरासा देखिएको निकै लामो समय भयो । पद पाएर कहिल्यै नअघाउने हाम्रा विभिन्न पार्टीका नेताहरूले पार्टी भित्र र सरकारका शीर्ष पदहरू ओगटेर बसिरहने जुन प्रवृती देखाइरहेका छन् । त्यसले जनतामा आशंका सृजना भएकै थियो फलस्वरुप पार्टी भित्र र सरकारमा पनि यदाकदा सानातिना विद्रोहहरू देखा पर्न थालेका थिए । अहिले आएर नक्कली भुटानी शरणार्थी सम्बन्धि भ्रष्टाचार एवं सांगठनिक अपराधको पर्दाफास भएसंगै राजनीतिक दलका नेताहरू सपरिवार नाङ्गै देखापरिरहेका छन् ।’
त्यस्तै, सो विज्ञप्तिमा ‘नेपालीलाई भुटानी बनाउने त्यो पनि नेपाल भित्रै शरणार्थी भुटानी बनाएर लाखौं लाख रुपैंया अशुलेको र अमेरिका पठाइदिने आश्वासन दिएर नेपाली जनतालाई बेच्ने मानव बेचविखनकोे जघन्य अपराध गर्नेहरू राजनितिक दलका शिर्ष नेताहरु र गृह मन्त्रालयका शिर्ष कर्मचारी लगायत अन्य उच्च पदस्थ नेता तथा कर्मचारीहरू मात्र देखा परे । यस्तो जधन्य भ्रष्टाचारलाई वर्तमान नेपाल सरकारले कार्वाहीको लागि कदम उठाउने प्रयास गरेको छ । यसमा कत्ति पनि खुट्टा नकमाई दोषीलाई कार्वाही गरोस भन्ने हाम्रो माग छ र नैतिक समर्थन गर्दै सरकारको कदम प्रति ऐक्यवद्धता पनि जाहेर गर्दछौं ।’
सबै देशभक्त, लोकतान्त्रिक प्रेमी नेपालीहरूले झै हामी लमजुङबासी नागरिकहरू देशमा २०४६ साल पछिका भ्रष्टचारका विभिन्न काण्डहरू जुन शक्तिको आडमा पार्टी र पार्टीका नेताले लुकाएर संरक्षण दिई आएका छन्, त्यी सबै काण्डहरूको पनि फाइल खोलियोस, अनुसन्धान गरियोस र दोषीलाई कार्वाहीको घेरा भित्र ल्याइयोस भन्ने पनि हाम्रो जोडदार माग हो । चाहे वाइडवडी होस वा ओमनी वा एनसेल होस चाहे बुढी गण्डकी वा ललिता निवास वा क्यान्टोनमेन्ट नै किन नहोस सबै काण्डहरूको निष्पक्ष अनुसन्धान गरि वास्तविक दोषी पत्ता लगाई कावाही गरियोस । यस्ता अनगिन्ती भ्रष्टाचारका काण्डहरूले नेपाल र नेपाली जनतालाई निर्मम ढङ्गले लुट्ने, ठग्ने वा शोषण गर्ने, विदेशी ऋणमा देश डुवाउने, उद्योग धन्दा वन्दव्यपार सबै डुवाइदिने र घुस, भ्रष्टाचार तथा कमिशनका दलदलमा फसाई दिने, मुल्य वृद्धिको मारले जनतालाई आक्रान्त बनाउने काम गरेर बसेका राजनीतिक दलका नेताहरूलाई अब सरकारले कार्वाही गरेन भने जनताले स्वतः स्फूर्त रुपमा उठेर जनकार्वाही नै गर्ने स्थिति सृजना नहोस भन्ने हामी चाहन्छौं र वर्तमान सरकारले सबै भ्रष्टाचारका काण्डहरूलाई कार्वाहीको दायरा भित्र ल्याओस । त्यसको लागि हाम्रो साथ रहनेछ भन्ने पनि जनकारी गराउन चाहन्छौं ।
साथै यहि २०८० जेष्ठ ९ गते भ्रष्टाचार विरोधी नागरिक अभियान लमजुङले नक्कली भुटानी शरणार्थी सम्वन्धि भ्रष्टाचार तथा देश द्रोही राष्ट्रघाती संगठित अपराधको घटनालाई लिएर बेसीशहरमा विशाल विरोध र्याली तथा सभाको आयोजना गरेको हुँदा उक्त कार्यक्रममा सम्पूर्ण लमजुङबासी बा, ामा, दाजु– भाइ, दिदी– बहिनीहरू, बुद्धिजीवी, व्यपारी वर्गहरू एवम् विभिन्न संघ संस्थाहरूमा रहनु भएका सम्वद्ध पक्षहरूलाई सहभागी भै दिनु हुनको लागि समेत हार्दिक अनुरोध गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

सो अवसरमा अमेरिकी नागरिक सन्ध्याले विगतका तीन महिनादेखि नेपालमा बसेर यो भ्रष्टाचार काण्डको आफूले नजिकबाट अध्ययन गरिरहेको बताउनु भयो । तर थप प्रतिक्रिया भने दिनु भएन ।
सो कार्यक्रमका बारेमा जानकारी दिदै खेमजङ्ग गुरुङले भोलि ९ गते मनाङ्गे चौतारबाट विहान ११ बजे सरु हुने र्याली बेसीशहर बजार परिक्रम गरी समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत हुने छ । त्यस्तै, तेजनारायण अधिकारीले र्यालीमा लगाइने नाराका बारेमा जानकारी दिनु भएको थियो । नागरिक समाजका अगुवाहरूले बरु पार्टी छाडने तर नागरिक सचेतनाको यो कार्य नछाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यसैबीच, भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरिरहेको बास नेपालको जिल्ला शाखाले पनि उक्त र्यालीमा ऐक्यवद्धताका साथ सहभागी हुने भएको छ ।

प्रकाशित मिति २०८० जेष्ठ ८, सोमबार ११:१८ गते
हजुरको प्रतिक्रिया