
पोखरा– ठाडोभाकाका सर्जक स्व. सुवे. सन्तबहादुर गुरुङको स्मृतिमा स्थापित पुरस्कारको अक्षयकोषका लागि उहाँको परिजारजनद्वारा ५० हजार रुपैयाँ प्रदान गरिएको छ । यहाँ आयोजिक एक कार्यक्रमका बीच परिवारजनका सदस्यहरूले सो रकम ठाडोभाका लोककला प्रतिष्ठान नेपाललाई जेठ ८ गते हस्तान्तरण गर्नु भएको हो ।
डडुवादुर्छा तमु समाजको यहाँ स्थित सामुदायिक घरमा आयोजना गरिएको सो कार्यक्रमका अवसरमा स्व. गुरुङका दुई छोरा र दुवैजना बुहारीहरू क्रमशः खिमबहादुर र निर्मला तथा तुलबहादुर र माया गुरुङका साथमा डडुवा दुर्छा तमु समाजका अध्यक्ष चिफ इनिस्पेक्टर धनबहादुर गुरुङ, उपाध्यक्ष तेजबहादुर गुरुङ तथा सचिव कृपा गुरुङ सहितका पदाधिकारहिरूको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
सो रकम स्व. सुवे. गुरुङका परिवारजनकातर्फबाट ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धमान द्ुरा ‘धम्पु’ तथा प्रतिष्ठानका उपाध्यक्ष सीता दुरालाई नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । समाजका उपाध्यक्ष तेजबहादुर गुरुङले रकम हस्तान्तरण मन्तव्य व्यक्त गर्दै आउँदा दिनमा पनि समयको माग तथा महंगीलाई ध्यानमा राख्दै अक्षयकोषको मुलकोषमा थप रकम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
त्यस्तै, प्रतिष्ठानका उपाध्यक्ष सीता दुराले सहयोग रकम ग्रहण गर्दै प्रतिष्ठानको पहलमा स्थापना गरिएको उक्त पुरस्कार हरेक वर्ष प्रतिष्ठानको स्थापना दिवसका अवसर(माघ महिनाको अन्तिम साता)मा वितरण गरिने जानकारी दिदै उक्त कार्यक्रममा स्व. सुवे.का परिवारजन र डडुवा दुर्छा तामु समाजकातर्फबाट सो पुरस्कार रकम पुरस्कृत व्यक्तित्वलाई प्रदान गर्न अनिवार्य रुपमा उपस्थित हुनुहुनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले अक्षयकोषबाट प्राप्त हुने व्याजको रकमबाट नगद पुरस्कार सहित सम्मान पत्र र दोसल्लाद्वारा हरेक वर्ष एक जना ठटाडोभाकाप्रति समर्पित गायक एवम् अभियन्ता(४० वर्षभन्दा कम उमेरका)लाई प्रदान गरिने नीति रहेको जानकारी दिनु भयो । यस्तो सहयोग गर्नु हुने परिवारजन, तमु समाज सबै प्रति प्रतिष्ठान कृतज्ञ रहेको बताउनु भएको थियो ।
उता, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले स्व. सुवे. सन्तबहादुर गुरुङको अमरत्वका लागि उहाँको स्मृति पुरस्कारको अक्षयकोष राशि कम्तिमा पनि दुई लाख रुपैयाँको हुने जानकारी दिनुभयो । उहाँका अनुसार अक्षयकोषमा प्रतिष्ठानले ५० हजार रकम जम्मा गरिसकेको छ । आज उहाँका परिवारजनबाट पनि ५० हजार नगद प्राप्त भएको छ । त्यस्तै केही दिन अघि डडुवादुर्छा तमु समाज पोखरा– १० बाट सो कोषका लागि २५ हजार रुपैयाँ प्राप्त भएको, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ंधम्पु’ र उहाँका गायन जोडी एवम् प्रतिष्ठानका उपाध्यक्ष सीता दुराबाट संयुक्त रुपमा २५ हजार रुपैयाँ प्रदान गर्नु भएको छ । त्यस्तै, प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारी र सहकोषाध्यक्ष भुन्टीमाया तामाङले ५÷५ हजार दिने बचन दिनु भएको छ । यसप्रकार आजसम्म अक्षयकोषका लागि एक लाख ६० हजार रुपैयाँ संकलन भइसकेको छ । यसैगरी, प्रतिष्ठानका अन्य पदाधिकारीहरूबाट पनि सहयोग प्राप्त हुने क्रम जारी रहेको अध्यक्ष पहाडीले जानकारी दिनु भएको छ । उहाँका अनुसार सो कोष कम्तिमा पनि दुई लाख रुपैयाँको हुने आंकलन छ ।
पहाडीले भन्नुभयो, ‘सो रकम वार्षिक १५ प्रतिशत व्याज प्राप्त हुने गरी राखिने भएको छ ।’ यसप्रकार पुरस्कारका लागि नगद २२ हजार, सम्मान पत्र, दोसल्ला, मसलन्द लगायतका कार्यका लागि अन्य तीन हजार रुपैयाँ समेत कुल २५ हजार खर्च गरिने र कर कट्टा गरी बचेको रकम रहेक वर्ष साँवा अर्थात मुलधनमा थप गर्ने नीति लिने र त्यो रकम हरेक पाँच वर्षमा मुलधनमा थप गरिने छ अध्यक्ष पहाडी भन्नुभयो । पहाडीका अनुसार नयाँ पुस्तामा ठाडोभाका हस्तान्तरण गर्न यो पुरस्कारले विशेष भूमिका खेल्ने विश्वास गरिएको छ । उहाँले भन्नुभयो, ‘नयाँ पुस्तामा ठाडोभाका हस्तान्तरण गर्न प्रशिक्षणका कार्यक्रम विगत तीन वर्षदेखि हरेक वर्ष कम्तिमा यौटा सञ्चालन गर्ने गरिएको छ ।’
सुवे. सन्तबहादुर गुरुङ ठाडोभाका लोककला प्रतिष्ठानको आजीवन सदस्य हुनुका साथै तेस्रो ठाडोभाकाको खुल्ला प्रतियोगितामा पहिलो हुनुभएको व्यक्तित्व हो । गोरखामा आयोजना गरिएको ठाडोभाकाको खुल्ला प्रतियोगितामा भाग लिनका लागि प्रतिष्ठानको प्रतिनिधित्व गर्र्दै लमजुङबाट भाग लिन गोरखाको चित्रेपोखरीमा गएका १२ टिममध्ये एक टिमको नेतृत्व गर्नु भएको थियो । सोही कार्यक्रम चल्दै गर्दा उहाँले आफ्नो प्रस्तुति राखेको लगत्तै हृदयघात भई गत वैशाख २१ गते निधन भएको थियो ।
प्रकाशित मिति २०८० जेष्ठ ८, सोमबार २२:५३ गते