पोखरा– विन्दबासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा प्राकृतिक चिकिल्सालय सञ्चालनमा ल्याउने तयारी गरेको छ । समितिले प्राकृतिक चिकित्साका माध्यमले सरल, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको जेठ ९ गते बताएको हो ।
सो प्रयोजनका लागि पोखरा महानगरपालिका– १ को गुठीबारी (बगर नजिक) पथमा विन्दबासिनी धार्मिक क्षेत्र विकास समितिका नाउँमा रहेको २२ रोपनी जग्गामा प्राकृतिक चिकित्सालय निर्माण गरिएको छ । जहाँ एकै पटक एक सय जना बिरामीलाई सहज रुपमा उपचार दिन सकिने विन्दबासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष डा. विनोद पौडेलले बताउनु भयो । उहाँका अनुसार मुलतः विन्दबासिनी मन्दिरमा आउने भक्तजनले चढाएको दानको चढावा रकमलाई मानवसेवामा लगाउने सोच एवम् उद्देश्य अनुसार यो काम गरिन लागेको हो । उहाँले भन्नुभयो, ‘हाम्रो समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ बिरामी हुनुहुँदा आफै तीन पटक रजहरमा गएर करिब डेढ महिना बसेर उपचार गरी ठीक भएर आउनु भएपछि यो अवधारणाले मूर्त रुप लिने स्थिति बन्यो ।’
उक्त चिकित्सालय निर्माणका लागि नेपाल सरकार(केन्द्र)बाट तीन करोड, प्रदेश सरकारबाट भिआइपि उपचार कक्ष निर्माण गरिएको छ भने नगरपालिकाले पनि यस कार्यमा सहयोग गरेको विन्दबासिनी धार्मिक क्षेत्र विकास समितिका सल्लाहकार एवम् वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विन्दबासिनी धार्मिक क्षेत्र विकास समितिको आफ्नै कोषबाट पनि तीन करोड बढी लगानी भएको छ यो संरचना निर्माण कार्यमा । उहाँले भन्नुभयो, ‘यो चिकित्सालयमा उपचार सेवाको काम अबको हप्ता, १० दिनभित्रै हामी सुरु गर्छौं ।’
विभिन्न संघसंस्था व्यक्तिहरू पनि त्यहाँ उपचार कक्ष आठ वटा डिलक्स रुमको निर्माण गरिदिनु भएको डा. पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सालय सञ्चालनका लागि २० जना कर्मचारी भर्ना गरिसकेको र ४– ५ जना थप गर्नु पर्ने अवस्था छ । डा. पौडेलले भन्नुभयो, ‘सो चिकित्सालयमा वर्षमा कम्तिमा १५ दिन यहाँ स्वस्थ्य मानिस आएर रोग नलागोस् भन्नका लागि बस्नु पर्ने ठाउँ हो यो ।’ तर पनि यहाँ पुराना रोगी, पेट, पक्षाघात, बाथ, अनिद्रा, मोटोपन, नसा च्यापिएको लगायतको उपचार हुन्छ उहाँले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘उहाँ मानसिक रोगीको समेत सहज उपचार हुन्छ ।’ सो चिकित्सालयको विशेषताका बारेमा राखिएको जिज्ञासामा डा. पौडेलले भन्नुभयो, ‘यहाँ पूर्वीय दर्शनमा आधारित, औषधि रहित उपचार विधिबाट उपचार हुने हुन्छ ।’ उहाँले थप भन्नुभयो, ‘सम्भवतः नेपालमा पहिलो पटक यसरी मन्दिरको समितिले त्यहाँ प्राप्त हुने भेटी रकमको उपयोग गरी यसरी मानव सेवामा लगाउने काम भएको छ ।’ उक्त चिकित्सालय हातामा सात हजार स्क्वायर मिटरमा फैलिएको दुई तले भवन निर्माणको अन्तिम चरणमा छ । त्यसको भूइँ तलामा आवासको प्रवन्ध गरिने र पहिलो तलामा कर्मचारीका लागि आवासको प्रवन्ध विरामी राखिने भएको छ । 
उपचार खर्च अत्यन्तै कम लाग्छ, निम्न आय भएका व्यक्तिहरूले समेत सहज, सरल र प्रभावकारी उपचार पाउछन् सो चिकित्सालयका प्रमुख डा. अचला पोखरेलले बताउनु भयो । उहाँका अनुसार गरिबहरूका लागि सो चिकित्सालयमा निःशुल्क उपचार हुन्छ । उहाँले भन्नुभयो, ‘यहाँ न्यूनत्तम शुल्कमा उपचार सेवा उपलब्ध हुन्छ ।’
लमजुङमा निकट भविष्यमा शिविर सञ्चालन गरिने :
उक्त चिकित्सालयको वस्तुस्थिति अवलोकन गर्नका लागि यो पंक्तिकारका साथमा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारी तथा पूर्व जिल्ला सचिव सन्देश पौडेल, सुन्दरबजार नगरपालिका– ६ का वडाध्यक्ष दिनेशबाबु कोइराला, नमूना अस्पतालका लेखा समितिका संयोजक सुरेन्द्र पौडेल लगायतको टोली पुगेको थियो ।
सो अवसरमा उक्त चिकित्सालयको सहयोगमा निकट भविष्यमै लमजुङको बेसीशहर र सुन्दरबजारमा पत्रकार महासंघको आयोजनामा एक स्वास्थ्य शिविरको आयोजना गर्ने सहमति भएको छ ।
यसैगरी, सुन्दरबजार स्थित नमूना अस्पतालमा पनि प्राकृतिक चिकित्सा पद्दतिको सेवा सञ्चालनका लागि विशेष परामर्श भएको सो अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहनु भएका नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ ११, बिहीबार ०८:०० गते