लमजुङ– राष्ट्रिय भूमि आयोग जिल्ला समिति लमजुङ आफ्नो जिम्मेवारी पुरा गर्नका लागि तदारुकताका साथ अघि बढी रहेको छ । यसै क्रममा जेठ १२ गते मध्यनेपाल नगरपालिकामा निस्सा अर्थात अस्थायी लालपूर्जा वितरणको तयारी गरेको छ ।
निस्सा पाउनु भएको पनि एक प्रकारले जग्गा पाउनका लागि तिमी योग्य छौं भन्नु हो । कुनै पनि व्यक्तिले पाएको निस्सामा यदि कसैको दावी विरोध नभएमा उसले स्वतः लालपूर्जा पाउने छ । कसैको दावी विरोध परेमा फेरि छानविनबाट त्यसको निक्र्योल हुने राष्ट्रिय भूमि आयोग जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीले बताउनु भयो । उहाँका अनुसार मध्यनेपाल नगरपालिकाको वडानं– ६ को भोर्लेटार र वडानं २ को सोतीपसलमा ती कार्यक्रम भोलि नै सम्पन्न गर्ने तयारी छ ।
आयोगको काम सबैभन्दा अघि सुन्दरबजार नगरपालिकामा अघि बढेको छ । सो नगरपालिकामा लालपूर्जा बनाउने क्रम सुरु भएको छ । बेसीशहर नगरपालिका, क्ब्होलासोथार गाउँपालिका र दूधपोखरी गाउँपालिकामा पनि काम सन्तोषजनक ढंगबाट अघि बढको अध्यक्ष अधिकारीको भनाई छ । तर राइनास नगरपालिका, दोर्दी गाउँपालिका र मर्स्र्याङदी गाउँपालिकामा भने काम सन्तोषजन हुन नसकेको उहाँको गुनासो छ ।
राष्ट्रिय भूमि आयोगको केन्द्रले जिल्ला समितिलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी तीन तहका मानिसहरू पहिचान गरी सकेसम्म सम्बन्धित स्थानीय तहमै बसोबासको प्रवन्ध गर्ने नभएमा जिल्ला भित्र बसोबासको प्रवन्ध गराउने र त्यो पनि सम्भव नभएमा प्रदेश सरकारलाई गुहार गर्ने छ । प्रदेशमा पनि बासोबास गराउन नसकेको खण्डमा संघीय सरकारले अन्य प्रदेशमा सुकुम्बासीलाई बासोबासको प्रवन्ध गर्ने नीति रहेको छ ।
आयोगको जिल्ला समितिले जेठ ११ गते जारी गरेको विज्ञप्ति अनुसार जिल्लाका स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या सबैभन्दा धेरै राइनास नगरपालिकामा र सबैभन्दा कम दूधपोखरी गाउँपालिकामा रहेका छन् । ती पालिकामा ती तीनथरीको संख्या राइनासमा क्रमशः १०३, ६६ र २७७ रहेको छ भने दूधपोखरीमा ४, ११ र ९४ रहेको छ ।
अन्य नगरपालिकाको हकमा सुन्दरबजारमा २३, ७१ र ७३ जना छन् । बेसीशहरमा ३८, ४० र ४८ जना छन भने मध्यनेपाल नगरपालिकामा ३३, ४५, र १३३ जना रहेका छन् । त्यस्तै, गाउँपालिकाबाट प्राप्त तथ्यांक अनुसार मर्स्याङदी गाउँपालिकामा ४८, ३५ र १८४ जना रहेका छन् । त्यस्तै दोर्दी गाउँपालिकामा रहेको त्यस्तो संख्यामा क्रमशः २१, २३ र ६९ जना फेला परेको राष्ट्रिय भूमि आयोग, जिल्ला समितिका कम्प्युटर अप्रेटर विराट न्यौपानेले बताउनु भयो । उहाँका अनुसार क्ब्होलासोंथर गाउँपालिकामा ३२, १८ र ५९ जना रहेका छन् ।
जिल्लामा हालसम्म पहिचान भएका भूमिहीन दलितको कुल संख्या– ३०२, भूमिहीन सुकुम्बासीको संख्या ३०९ र अव्यवस्थित बसोबासीको कुल संख्या ९३७ रहेको राष्ट्रिय भूमि आयोग, जिल्ला समितिका विज्ञ सदस्य ऋषिकेश घिमिरेले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ ११, बिहीबार २१:५३ गते