रास्वपाका कार्यकर्ताहरु स्वावलम्बी, स्वाभिमानी र सदाचारी हुनुपर्छ : रमेश प्रसाईँ केन्द्रीय सदस्य

रास्वपाका कार्यकर्ताहरु स्वावलम्बी, स्वाभिमानी र सदाचारी हुनुपर्छ : रमेश प्रसाईँ केन्द्रीय सदस्य

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ १३ गते शनिवार ०९:०४

दोर्दी करिडोरमा सञ्चालन भएका र सञ्चालनको अन्तिम चरणमा पुगेका पाँच हाइड्रो त्यहाँको सडक पिच गर्नु पर्ने होइन ? किन भएन ? यसबारेमा अन्य दलका नेता किन मौन छन् ? उनीहरूको मुख निःशुल्क सेयरले थुन्ने काम भएको छ : धर्म केसी ।

राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलामा उत्साहजनक सहभागिता

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति लमजुङ संगठन विस्तारमा सक्रियतापूर्वक जुटिरहेको छ । यसै क्रममा बेसीशहर नगरपालिका– ७, ८ र ९ को वडा समिति गठनका लागि वडानं– ७ स्थित शान्तिटोल तमु भवनका आयोजना गरिएको भेला उत्सहजनक रह्यो ।

सो दलका केन्द्रीय सदस्य, सामाजिक अभियन्ता एवम् प्रखरवक्ता रमेश प्रसाईको प्रमुख आतिथ्यता र सोही दलका अर्का केन्द्रीय सदस्य बसुमाया तामाङ र जिल्ला संयोजक धर्म केसीको विशेष आतिथ्यता रहेको सो भेला जेठ १३ गते यहाँ सम्पन्न भएको हो ।
प्रसाइँले भक्ति थापाको बीरताको प्रशंसा गर्र्दै मरेपछि पनि अंग्रेजलाई झुकाएको वीर पुर्खाका सन्तति र लमजुङ उनको बास्तविक जन्म थलो भएको अनुभूति गर्न पाएँ । व्यास भूमि तनहूँ जागिसकेको छ भने अब भक्ति थापाको यो भूमिपनि जुर्मुराएको अनुभव गर्न पाएँ । तर आज हामी विदेशीहरूबाट हैन स्वदेशकै लुटेराहरूबाट हामी लुटिएका छौं, देश बचाउन एक पटक सबै भक्ति थापा जस्तै बन्नु पर्ने बेला आएको उहाँले बताउनु भयो । हालको भुटानी शरणार्थी प्रक्रियाको अनुसन्धान प्रधानमन्त्री प्रचण्डको चाहनाले हैन अमेरिकाको दबाबले भएको हो, साच्चै दिलदेखि कारबाही गर्न मन थियो भने अनुसन्धान भाउजुहरूबाट सुरु हुनुपथ्र्यो, त्यसो भएन, त्यो भनेको तपाई हाम्रो र अमेरिकाको आँखामा पनि छारो हाल्ने प्रपञ्च मात्र हो भन्नुभयो । उहाँले सो प्रकरणमा नेतामात्र नभई उनका परिवारलाई समेत जेलमा कोच्नु पर्ने तर्क गर्दै त्यो भ्रष्टाचारको पैसाले ती परिवारका सदस्यले समेत मोजमस्ती गरिरहेको हुँदा उनीहरू समेत जेलको भागिदार हुनुपर्छ भन्नेमा जोड दिनुभयो ।
उहाँले ठूला दलहरूले राजनीतिको पसल खोलिरहेका छन् । तर हामी राजनीति सेवा हो भन्ने देखाउन चाहन्छौं, हामी काम नपाएर राजनीतिमा आएको होइन, बिग्रिएको देश बताउनका लागि हो भन्ने तर्क थियो । त्यस्तै यिनीहरू सिद्धान्त नीति विहीन छन् भन्नेहरूलाई प्रसाइँले संविधानवाद हाम्रो सिद्धान्त हो, संविधानले ग्यारेन्टी गरेका हक अधिकारलाई व्यवहारिक रुपमा हामी कार्यान्वयन हुनुपर्छ र रहेक नेपाली आफ्नो आम्दानीले बाच्न सक्ने हुनुपर्छ र विदेशमा हैन स्वदेशमै रोजगारी हुनुपर्छ भन्ने पक्षमा छौं । हामीहरू सबैका आ– आफ्ना पेशा व्यवसाय भएको हुँदा हामीलाई राजनीतिको पसल चलाउनु छैन त्यो हाम्रो नीति हो उहाँले भन्नुभयो । ढाकारामको उदाहरण दिदै उहाँले भन्नुभयो, बदमासी भयो भन्ने लाग्यो भने कारवाही गर्न हाम्रो आफ्नै पार्टी काफी छ, हामी अख्तियार, प्रहरी प्रशासन, अदालत, कानुन केही पर्खेन, हामी गुहार्दैनौं दोस्रो ढाकाराम कोही हुनुहुने छैन उहाँले भन्नुभयो । रास्वपाका कार्यकर्ता स्वावलम्बी, स्वाभिमानी र सदाचारी हुनुपर्छ भन्नेमा जोड दिदै कोही आफूले गरेको बदमासी छोप्न रास्वपाको छहारी खोज्नु भएको हो या छ भने माफ गर्नु होला त्यो काम पार्टीबाट कदापि हुनेछैन, त्यस्तो आशा नगर्नु उहाँले उल्लेख गर्नु भयो ।
सो दलका अर्का केन्द्रीय सदस्य बसुमाया तामाङले आफू विरामी भएका कारणले धेरै बोल्न नसक्ने बताउँदै लमजुङबासीको मायाले विरामी हुँदाहुँदै पनि आएँ भन्दै आफ्ना कारणले ढिलाभएकोमा क्षमा चाहन्छु भन्नुभयो । उहाँले रास्वपाको आवश्यकता किन परेको हो ? भन्ने प्रष्ट भइसकेको छ । भ्रष्टाचारको जालो केन्द्रमा मात्र नभई वडा र गाउँबस्तीमा समेत रहेको उल्लेख गर्दै जिल्ला र गाउँ, टोलमा सुशासन कायम गर्न, विकास निर्माणका योजनालाई गुणस्तर बनाउने जिम्मा रास्वाका स्थानीय तहका समितिहरूको हातमा छ, गर्नु होला । केन्द्रको भ्रष्टाचारको हामी दोहोलो काड्छौं भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफू नाङ्लो पसलेको रुपमा जीवनका सुरुवाति पाइला चालेर आजको अवस्थामा आएको हुँ त्यसैले सबैले उद्यम गर्नु पर्छ त्यो पनि स्वदेशमै उद्यम गर्नु होला उहाँले जोडदिदै बताउनु भयो ।

युवराज असफल जस्ताका लागि पनि रोजगारीको उद्योग हो रास्वपा :
आफ्नो संक्षिप्ता मन्तव्यका क्रममा सो दलका केन्द्रीय सदस्य तामाङले उद्योग सञ्चालन गर्नु पर्ने सन्दर्भमा व्यङ्ग्य कस्दै युवराज असफल जस्ता व्यक्तिका लागि रास्वपा आफै उद्योग बनेको उल्लेख गर्नु हुँदा सहभागीले कर्तलध्वनीका साथ समर्थन गर्दै सभाहल गुञ्जायमान गरेका थिए ।

जिल्ला संयोजक धर्म केसीले आफूहरू परिवर्तनको बाहक भएको दावी गर्दै यसलाई कसैले रोक्न नसक्ने र ठूलादलले नेपालीलाई अनागरिक बनाउने धन्दामा लागेको तर्क गर्दै राजनीति रुपि फोहोरको डंगुर सफा गर्ने संकल्पका साथ आफूहरू राजनीतिमा आएको र त्यो गरिछाड्ने छौं भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले हिजो पानी बाराबार जस्तो गर्ने नेताहरू आली, प्रचण्ड, देउवाका बीच हिजोआज दिनहुँ जसो भेटघाट बाक्लिनुको कारण खोज्ने बेला आएको बताउनु भयो । उहाँले विद्युत आयोजनाहरूले कानुनको खिल्ली उडाएको अन्य दलका नेतालाई फ्रिमा शेयर बाडेर मोजमस्ती गरेको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, दोर्दी करिडोरमा सञ्चालन भएका र सञ्चालनको अन्तिम चरणमा पुगेका पाँच हाइड्रो त्यहाँको सडक पिच गर्नु पर्ने होइन ? भन्ने प्रश्न गर्दै अन्य दलका नेताहरुको मुख निःशुल्क सेयरले बन्द गरेको छ भन्नुभयो । उहाँले सो दलको संगठनको ढाँचाका बारेमा जानकारी दिनुभएको थियो ।
उक्त भेलामा नेपाल पत्रकार पत्रकार महासंघका लमजुङका संस्थापक अध्यक्ष, वरिष्ठ पत्रकार नवराज पहाडीले पत्रकार स्वभावैले स्वाभिमान, मानवअधिकारकर्मी, न्यायको पक्षधर, सुशासन प्रिय हुनुका साथै आबाज विहीनहरूको आवाज हुन्छ तर पत्रकार हुँ भन्नेहरू सबैले त्यस्तो गर्न सकेका छैनन् भन्नुयो । उहाँले आफ्ूले पत्रकारिताका माध्यमले सदैव सुशासन र आवाज विहीनहरूको आवाज हुने प्रयास गरेको बताउनु भयो । अन्य दलहरूको तुलनामा रास्वपाले पत्रकारिताको भावना, मर्मसँग साझेदार हुने गतिविधि अघि बढकाएको हुँदा त्यो मन परेको छ, त्यो यात्रामा म सँगै हुनेछु उहाँले भन्नुभयो । यसैगरी, बेसीशहर नगरपालिका– ६ का वडाध्यक्ष प्रकाश थापाले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै ठूला भन्ने दलले देशको अर्थतन्त्रलाई टाट उल्टाएको बताउनु भयो । उहाँले नोललाई श्रीलंका हुनबाट बचाउनका लागि जुर्मुराउनु पर्ने बेला आएको उल्लेख गर्नु भयो । रास्वपाले लिएको परिवर्तनको बाटो नै नेपालका लागि आजको सही बाटो हो, त्यसमा सबै जुटौं उहाँले आह्वान गर्नु भएको थियो ।
बेसीशहर नगर कमिटिका सभापति कृष्ण राउतको अध्यक्षतामा भएको उक्त भेलामा कार्यक्रमका संयोजक राजकुमार घिमिरेले स्वागत गर्नु भएको थियो भने सञ्चालन विष्णु घिमिरेले गर्नु भएको थियो ।
सो मेलाबाट वडानं– ७ को अध्यक्षमा राजकुमार घिमिरे, उपाध्यक्ष– दिपेशकुमार श्रेष्ठ, सचिव विष्णु घिमिरे, कोषाध्यक्ष पार्वती केसी अधिकारी, सदस्यहरूमा जीवन गुरुङ, मोहन थापा, जितबहादुर थापा, राजकुमार अधिकारी, सुमन श्रेष्ठ, विमला रिमाल र कृष्ण थापा चयन हुनु भएको छ । यसैगरी, वडानं– ८ को अध्यक्षमा धु्रवप्रसाद ढकाल, उपाध्यक्ष अकलदिल मिया, सचिव रामहरि श्रेष्ठ, सदस्यहरू विष्णु सुयल, शिरबहादुर गुरुङ, फडिन्द्र रावल, सु्जन पौडेल, काजीराम रावल, कन्याकुमारी गुरुङ, अमृत गुरुङ र सीता तामाङ चयन हुनुभएको छ । यसैगरी ९ वडाको समितिको अध्यक्षमा भगवानसिंह अर्याल, उपाध्यक्ष– बमबहादुर अधिकारी सदस्यहरूहरू– बत्तीमाया परियार, रश्मीता अधिकारी थापा, कमल खत्री, बलबहादुर अधिकारी, सन्दिप अर्याल, मिलन गुरूङलाई चयन गरेको रास्वपाका जिल्ला सहसंयोजक अशोक सापकोटाले बताउनु भएको छ ।

प्रकाशित मिति २०८० जेष्ठ १३, शनिबार २१:०४ गते
हजुरको प्रतिक्रिया