बेसीशहर– नेकपा एमालेका लमजुङ निवासी नेता वमबहादुर थापाको असामयिक निधन भएको छ । ७१ वर्षीय थापाको काठमाडौंमा जेठ १३ गते साँझ निधन भएको परिवारस्रोतले बताएको हो ।
लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका– ९, पामचोक निवासी उहाँ एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य हुनुहुन्थ्यो । एमालेबाट २०४९ र २०५४ को स्थानीय निर्वाचनमा गाविस अध्यक्षमा निर्वाचित उर्हाँ आज दिउँसो काठमार्डौं स्थित घरमै अचानक ढल्नु भएपछि उपचारका लागि मनमोहन मेमारियल अस्पताल लगिएकोमा अस्पतालले उहाँको निधन भएको घोषणा गरेको उहाँका भाञ्जा रामकृष्ण भण्डारीले बताउनु भएको छ । उहाँका अनुसार यसअघि तीन महिनासम्म भारतको मेदान्त अस्पतालमा बसेर उपचार गरी आउनु भएको उहाँ पुन चेकअपका लागि भारत जाने तयारीमा हुनुहुन्छ । बिहान साविकको खाना खानु भई आफन्तजनसँग गफिदै बस्नु भएका उहाँ अचानक ढल्नु भएपछि नउठ्नु भएको जानकारीमा आएको छ ।
आफ्ना जवानीका दिन भारतीय सेनामा बिताउनु भएका उहाँले भारतीय सेनाको पेन्सन समेत खादै आउनु भएको थियो । एमालेका विभिन्न कमिटिको पदीय जिम्मेवारीका अतिरिक्त २०३९ सालमा भारतीय सेनाबाट निवृत्त हुनुभई गाउँ आयनु भएपछि उहाँ शिक्षण पेशामा समेत लाग्नु भयो । शिक्षण कार्य गर्दा उहाँ शिक्षक संगठन हुँदै मालेको राजनीतिमा जोडिनु भएको हो । २०४६ सालमा प्रजातन्त्रको पुनः स्थापना भएपछि शिक्षक पेशा छाडेर उहाँ पूर्ण रुपमा राजनीतिमा लानु भयो । एमालेको तत्कालीन इलाका संयोजक हुँदै जिल्ला सदस्य एवम् सचिवालय सदस्य हुनुभएका उहाँ एमालेको अञ्चल कमिटी सदस्य समेत हुनुहुन्थ्यो ।
मिलनसार, प्रष्टवक्ता उहाँ फरसिलो, सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । एमाले सम्बद्ध किसान संगठनको समेत केन्द्रीय सदस्यको अनुभव हासिल गर्नु भएका थापा खुदी हाइड्रो पावर कं. लि.को सरोकार समितिको अध्यक्ष रहनु भएका उहाँ लमजुङ विद्युत उपभोक्ता संस्थाको जिम्मेवारीमा पनि हुनुहुन्थ्यो ।
उहाँलाई लमजुङको कम्युनिष्ट आन्दोलनको धरोहरका साथै मर्स्याङदी गाउंपालिकाको अभिभावकका रुपमा मान्ने गरेको सो गाउँपालिकाका अध्यक्ष अर्जुन गूरुङले बताउनु भएको छ । उहाँ २०४६ सालको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा मात्र नभई ०४२ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतमा भएको बमकाण्डमा पनि पक्राउ पर्नु भएको थियो ।
स्वर्गीय थापाका श्रीमती, दुई छोरा, पाँच छोरी र १५ जना नातिनातिना छन् । उहाँका कान्छा छोरा अस्ट्रेलियाबाट आएपछि मात्र अन्तिम संस्कार गरिने भएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ १३, शनिबार २२:५९ गते