काठमाडौँ– सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८/८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतद्वारा पारित गरिएको छ । प्रतिनिधिसभाको बैठकले जेठ १३ गते राती कार्यक्रम पारित गरेको हो ।
गत जेठ ७ गतेदेखि १३ गतेसम्म नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल भएको थियो । छलफलको अन्तिम दिन प्रधानमन्त्री प्रचण्डले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने काम गर्नु भएको थियो । सरकारको नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्षका जम्मा २० जना सांसदहरूद्वारा संशोधन प्रस्ताव पेश गरिएको थियो ।
बैठकमा ती संशोधन प्रस्तावहरूलाई फिर्ता लिन समय दिइएको थियो । सो क्रममा केही प्रस्ताव फिर्ता समेत भएका थिए तर फिर्ता नलिइएका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दै बुहमतबाट अस्विकृत गरिएको थियो । कांग्रेसका सांसदहरू श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव फिर्ता लिनु भएको थियो । संशोधन प्रस्ताव फिर्ता लिने अन्य सांसद गंगाराम चौधरीले समेत हुनुहुन्थ्यो ।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी, रास्वपा सांसद डा. चन्दा कार्कीको संशोधन प्रस्ताव समेत बहुमतबाट अस्वीकृत भयो । प्रतिपक्षी दलका सांसदहरूले पेश गरेको संशोधन प्रस्ताव फिर्ता लिन मान्नुभएन ।
नीति तथा कार्यक्रम एक हदसम्म कर्मकाण्डी : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एक हदसम्म कर्मकाण्डी रहेको स्विकार गर्नु भएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा संसदहरूले उठाएको सवालहरुको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा समेटिएका आधारभूत कुराहरू अघिल्ला सरकारले ल्याएजस्तै विषयहरू रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यो अघिल्ला सरकारले ल्याएको नीति तथा कार्यक्रम अहिलेभन्दा गुणात्मक थियो र ? भन्ने प्रश्न समेत उठाउनु भएको छ । ‘म एक हदसम्म भन्ठान्छु यो कर्मकाण्डी पनि छ । कैयौँ आधारभूत कुराहरू पोहोर साल, परार सालको सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो’ भन्ने उहाँले दावी गर्नु भएको छ । उहाँले थप भन्नुभयो, यसकारण यो कर्मकाण्डी नै हो भने म के ठान्छु भने हिजो सरकारको नेतृत्व गर्ने पार्टी र नेता साथीहरूले भन्नुपर्ने हुन्छ, ‘बिलकुल ठीक आयो । हामीले ल्याएको जस्तै आयो । हामीले यस्तै ल्याउँथ्यौँ, अहिलेको सरकारले पनि त्यस्तै ल्यायो’ भनेर समर्थन गर्नुपर्ने मैले देख्छु ।’
सरकारको नीति तथा कार्यक्रममाथि परेका प्रतिपक्षी दलका सांसदहरूको संशोधन अस्वीकृत भएका छन् । सत्ता पक्षका सांसदले भने संशाधेन फिर्ता लिएका छन् । आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनहरू प्रतिनिधिसभा बैठकमा सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुअघि फिर्ता लिन समय दिँदा सत्ता पक्षका सांसदले फिर्ता लिएका हुन् ।
तर, प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्नु भएका जनमोर्चाका सांसद चित्रबहादुर केसी र प्रतिपक्षी दलका अरु सांसदहरूले फिर्ता लिन नसकिने जानकारी गराउनु भएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो । सो क्रममा ती प्रस्ताव बहुमतबाट अस्वीकृत भएका थिए । नीति तथा कार्यक्रममाथि भएको छलफलपछि प्रधानमन्त्री प्रचण्डले सदनमा उठेका प्रश्नहरूको जवाफ दिनु भएपछि संशोधनमाथि सदनमा निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
राष्ट्रियसभाबाट यसअघि जेठ ९ गते नीति तथा कार्यक्रम पारित भएको थियो ।
सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट प्रस्तुत गर्दैछ । प्रतिनिधिसभाको अर्को बैठक आज १४ गते दिउँसो १ बजे बस्ने भएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ १४, आईतवार ०७:५१ गते