प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जेठ १७ गते प्रस्थान गर्ने

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जेठ १७ गते प्रस्थान गर्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ १४ गते आईतबार ०९:४५

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा यसपटक भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग हवाई रुटको प्रस्तावमा जोड दिने तयारी भएको छ । नेपालले पटक–पटक यस विषय उठाए पनि भारतले ठोस निर्णय दिन सकेको छैन । यस्तै १३६ किलोमिटर काठमाडौं–रक्सौल रेलमार्ग, ऊर्जा सम्झौता (विद्युत् व्यापार र हाइड्रो कम्पनी), सीमा समस्या ई–वालेटलगायत विषय प्रधानमन्त्रीको भ्रमणको एजेन्डामा परेको बताइन्छ ।

लामो प्रतिक्षापछि प्रधानमन्त्रीको भारत भ्रमण तय

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण तालिका लामो प्रतिक्षा पछि सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने जेठ १३ गते जानकारी दिएको हो ।
प्रधानमन्त्री भ्रमणका क्रममा (१७ गतेदेखि २० गते) चार दिन भारतमा रहनु हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा भारतीय समकक्षी मोदीसँग द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणको दोस्रो दिन अर्थात जेठ १८ गते भेटवार्ता हुने तय भएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण कार्यतालिकामा प्रधानमन्त्री प्रचण्डको प्रतिनिधिमण्डलले हैदरावाद हाउसमा वार्ता गर्ने उल्लेख छ । उहाँहरूका बीच द्वीपक्षीय हितका विषयमा छलफल हुनेछ । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने समेत कार्यतालिका छ ।
मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति हामिद अंसारीसँग भेटवार्ता गर्नु हुनेछ ।
भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री प्रचण्ड तथा प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना हुनेछ । प्रधानमन्त्रीको साथमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।
मन्त्रालयले नेपालका तर्फबाट भ्रमणमा उठाउनुपर्ने विषयमा घनिभूत र गहन छलफल गरिरहेको छ ।
प्रचण्डको भारत भ्रमणका क्रममा यसपटक भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग हवाई रुटको प्रस्तावमा जोड दिने तयारी भएको छ । नेपालले पटक–पटक यस विषय उठाए पनि भारतले ठोस निर्णय दिन सकेको छैन । यस्तै १३६ किलोमिटर काठमाडौं–रक्सौल रेलमार्ग, ऊर्जा सम्झौता (विद्युत् व्यापार र हाइड्रो कम्पनी), सीमा समस्या ई–वालेटलगायत विषय प्रधानमन्त्रीको भ्रमणको एजेन्डामा परेको बताइन्छ ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)र भारतीय उद्योग परिसंघ (सीआईआई)ले संयुक्त रूपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नु हुनेछ । यसैगरी, प्रधानमन्त्री प्रचण्ड जेठ २० मा काठमाडौँ फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
स्मरणीय छ, विगतमा प्रधानमन्त्री फेरिएको डेढ दुई, बढीमा तीनमहिना भित्र हुने गरेको प्रधानमन्त्रीको भारत भ्रमण यो पटक लामो प्रतिक्षापछि तय भएको हो ।

प्रकाशित मिति २०८० जेष्ठ १४, आईतवार ०९:४५ गते
हजुरको प्रतिक्रिया