बाहुनडाँडा(लमजुङ)– राष्ट्रकवि माधव घिमिरेको जन्म थलोमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्न्न भएको छ । संविधान सभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा सोही स्थानमा रहेको चन्द्रोदय माविको हातामा आयोजना गरिएको सो प्रतियोगिता मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान काठमाडौंले जेठ १६ गते आयोजना गरेको हो ।
उहिले भिरपुरस्तुनका नामले समेत चिनिने गरेको राष्ट्रकविको जन्मथलोमा आयोजित उक्त प्रतियोगिताको उदघाटन गर्दै संविधान सभा सदस्य जमिन्द्रमान घलेले कार्यक्रम सान्दर्भिक रहेको, राजनीतिभन्दा माथि उठेर काम गर्न सकेमा समाज, जनता र देशको हित हुने बताउँदै उहाँले आयोजक संस्थालाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रमका बिशेष अतिथि मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यो कार्यक्रमका लागि काठमाडौंमा समेत २– ३ पटक वैठक गरेर यो परिणाम आएको स्मरण गर्नुभयो । उहाँले राष्ट्रकविका नाउँमा हाम्रो केही गर्ने सोच छ । तर पहिले संग्रहालय बनाउने कि शालिया या अन्य संरचना सबैको सल्लाह र संस्थागत पहल हुन जरुरी छ भन्नुभयो ।
कवि एवम् इन्जिनियर हेमनाथ घिमिरेले बाहुनडाँडामा आउन पाउँदा अहोभाग्य ठानेको बताउनु भयो । उहाँले विदेशमा बस्दाका बखतमा मातृभूमिको यादले सताउँदा लेखेको कविता समेत वाचन गर्नु भएको थियो । त्यस्तै, अनुसन्धानकर्ता डा. राजु तमोरले कार्यक्रममा छात्रको तुलनामा छात्राहरूको सहभागिता र प्रस्तुतिको अबल रहेकोमा प्रशंसा गर्नु भएको थियो । सो अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेका सुपुत्र राजिव घिमिरेले आफ्ना पिताजीका नाउँमा उहाँको जन्मथलोमा आफूले पनि केही गर्ने सोच रहेको बताउनु भयो । राष्ट्र कवि प्रतिष्ठान बाहुनडाँडाका अध्यक्ष लोकनाथ घिमिरे लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
‘आधुनिक समाजमा परम्परागत ज्ञान र सीपको आवश्यकता’ विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा जिल्लाका छ पालिकाका नौ विद्यालयका छात्रछात्राले भाग लिएका थिए । सो प्रतियोगितामा ईशानेश्वर मा.वि. मध्यनेपालकी आकृती अधिकारी पहिलो, गणेश मा. वि. मर्स्याङ्दी गा.पा.का प्रज्वल थापा दोस्रो तथा शैलापुत्री मा. वि. राइनास न.पा.का अप्सरा गोतामे तेस्रो भएका थिए । यसैगरी, हिमचुली मा. वि, मर्स्याङ्दी गा. पा.का सर्बज्ञा सुवेदी र विद्या ज्योती मा. वि. सुन्दरबजार न.पा.का अनुप गौलीले सन्त्वना स्थान हासिल गर्न सफल भएको आयोजकको भनाइ छ । उनीहरूको छनौट यसअघि पालिकास्तरको प्रतियोगिता गरी पहिलो दोस्रो स्थान हासिल गर्नेलाई जिल्लास्तरमा भाग लिन पाउने प्रवन्ध गरिएको थियो ।
विजेताहरूलाई पुरस्कार स्वरुप क्रमशः १० हजार, सात हजार पाँच सय, पाँच हजार र सान्त्वना स्थानका लागि जनही दुई हजार पाँच सय रुपैयाँ नगद, प्रमाणपत्र र केही बाल उपयोगी किताव समेत दिइएको थियो । प्रतियोगीहरूलाई विषयमा बोल्न पाँच मिनेट र समापनका लागि थप एक मिनेटको समय दिइएको थियो ।
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा अतिथिहरू मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापा, मर्स्याङ्दी गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नं. ७ का वडा अध्यक्ष तिलबहादुर गुरुङ, वडा नं. ६ का वडाअध्यक्ष मीनराशि गुरुङ, लमजुङ समाज यु.के.का अध्यक्ष मणि गुरुङ, मर्स्याङ्दी गाउँपालिका सामाजिक विकास समिति सदस्य एवं शैक्षिक व्यक्तित्व आशबहादुर गुरुङ लगायतको सहभागिता थियो ।
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली घिमिरेले स्वागत गर्नु भएको सो कार्यक्रमको सञ्चालन चन्द्रोदय माविको व्यवस्थापन समितिका अध्यक्ष विष्णु गुरुङले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० जेष्ठ १६, मंगलवार १९:४८ गते