बेसीशहर– लमजुङ जिल्ला कारागारबाट गए राती भागेका दुईजना कैदीमध्ये एक फेला परेका छन् । जेठ १८ गते विहान करिब साढे दुई बजेको समयमा फरार भएका हुन् ।
बेसीशहर नगरपालिका– ८ शेरा स्थित कारागारबाट फरार उनीहरू फरार भएका थिए । त्यो खबर पाउनासाथ लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमल आफै प्रहरी टोलीका साथ फरार भएका कैदीको खोजीकार्यमा खटिएका थिए । पक्राउ परेको भगुवा कैदी बेसीशहर नगरपालिका– २ को चिसापानी जंगलको उकालो बाटोमा भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ परेको प्रनाउ श्रीमलले बताउनु भयो । उनका अनुसार अर्कोको खोजी कार्य जारी रहेको छ । उहाँले भन्नुभयो, ‘उसलाई सकुशल रुपमा १२ घण्टा नबित्दै पक्रिएको हो ।’ सँगै भागेकामध्ये एकजना फेला परिसकेको हुँदा अर्को पनि छिटै फेला पर्नेमा बढी आशावादी भएका छौं उहाँले बताउनु भयो ।
फरार हुनेहरूमा लमजुङको मध्यनेपाल नगरपालिका– ४ दुईपिप्ले घर भएका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका– ३ घट्टेखोला घर भई पोखरा महानगरपालिका– १६ बस्ने ३७ वर्ष का चन्द्रबहादुर गुरूङ रहेको कारागार स्रोतले बताएको छ । स्रोतका अनुसार कारागारको पर्खाल नाघेर ती कैदी भागेका हुन् ।
विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएको कारागार प्रशासनले जनाएको छ ।
यसबारेमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा घट्ना हो, हामी त्यही खोजी कार्यमा जुटेका छौं प्रजिअ रामकृष्ण अधिकारीले भन्नुभयो । उहाँका अनुसार हामी आआफ्नो तरिकाले आआफ्नो ठाउँबाट खोजी कार्यलाई तिब्र बनाएका छौं, एक जना फेला परिसकेको छ र अर्को पनि छिट्टै फेला पर्नेछ भन्ने लागेको छ । उनीहरू भागेको समय एकिन भएको छ कि ? भन्ने अर्को जिज्ञासामा प्रजिअ अधिकारीले भन्नुभयो, ‘बिहान दुई÷अढाई बजे भन्ने छ ।’
स्मरणीय छ, कारागारको सुरक्षा जिम्मा नेपाल प्रहरीले लिएको छ । करिब तीन वर्ष अघि पनि कैदी बन्दी फरार भएपछि नेपाली सेनाले कारागारको सुरक्षा जिम्मा लिएको थियो । पछि फेरि नेपाल प्रहरीलाई सुम्पिएको थियो ।
प्रकाशित मिति २०८० जेष्ठ १८, बिहीबार १७:१६ गते