काठमाडौं– नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरूको बसोबास गर्ने जेठ १९ गते खुलासा गरिएको हो ।
जातजाति, भाषा र धर्मसम्बन्धमा नतिजा प्रकाशनको पहिलो चरणमा स्थानीय तहसम्मको लिंग अनुसारको जनसंख्या सार्वजनिक गरिएको तथ्यांक कार्यालयले जनाएको छ ।
आफ्नो धर्म हिन्दु भन्ने संख्या ८१.१९ प्रतिशत, ८.२१ प्रतिशतले बौद्ध, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरूमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् । २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् ।
विसं २०६८ को जनगणना अनुसार नेपालमा हिन्दु धर्मावलम्बीको संख्या ८१.३ थियो । अहिले घटेको छ । दोस्रो नम्बरमा रहेको बौद्ध धर्मावलम्बीको संख्या २३ लाख ९३ हजार ५४९ रहेको छ । जुन कुल जनसंख्याको ८.२ प्रतिशत हुन्छ । विसं २०६८ मा बौद्ध धर्मावलम्बीको संख्या ९ प्रतिशत थियो ।
नेपालमा जातजातिको संख्या १४२
नेपालमा जातजातिको संख्या १४२ पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्यांक उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञ समूहसँग परामर्श लिएर प्रकाशित गरिएको तथ्यांक कार्यालयले जनाएको छ ।
जनगणना २०६८ मा १२५ जातजाति थिए । जनगणना २०७८ को जातजाति सम्बन्धी तथ्यांकअनुसार एक दशकमा १७ वटा जातजातिको संख्या बढेको हो ।
जनगणना २०७८ अनुसार जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ ।
नेपालमा हिन्दुको संख्यामा व्यापक गिरावट आएको हुन सक्ने चर्चा हुन्थ्यो । तर, केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले भने त्यस्तो देखाएन । तथापि तुलनात्मक रूपमा गिरावट आएको छ ।
झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली :
यसैबीच, नेपालको कुल जनसंख्याको झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को मातृ भाषासम्बन्धी तथ्यांकअनुसार ४४.८६ प्रतिशतको मातृभाषा नेपाली छ ।
सबभन्दा धेरै १ करोड ३० लाख ८४ हजार ४५७ जनाको मातृभाषा नेपाली हो । नेपालीपछि मैथिली मातृभाषा हुनेको संख्या धेरै छ । ३२ लाख २२ हजार ३८९ जना अर्थात ११.०५ प्रतिशतको मातृभाषा मैथिली छ ।
भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८, तामाङ, ४.८८, बजिका ३.८९, अवधि २.९६, नेवारी २.९६ र २.७८ प्रतिशतको मातृभाषा मगर धुत रहेको छ ।
नेपालमा १२७ भाषाभाषी :
जनगणनाअनुसार नेपालमा १२७ भाषाभाषी रहेको तथ्यांकमा उल्लेख छ ।
सबभन्दा कम कुसुण्डा भाषाका छन् । यो भाषा मातृभाषा हुनेको संख्या २३ जना मात्र छ । यस्तै बन्करिया मातृभाषा भएकाहरूको संख्या पनि ८६ मात्र रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
त्यस्तै, नेपालमा सबभन्दा धेरै क्षेत्री, नुराङ जातिको जनसंख्या ३६ मात्र छ ।
जातका हिसाबले नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिका मानिस भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको १६.४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री छन् ।
२०६८ सालको जनगणनामा क्षेत्री ४३ लाख ९८ हजार ५३ हजरा अर्थात १६.६० प्रतिशत थिए ।
पहाडी ब्राह्मणको जनसंख्या ११.२९ छ भने तेस्रो नम्बरमा मगर ६.९, चौथो नम्बरमा थारु जातिको जनसंख्या ६.२ प्रतिशत छ ।
२०६८ मा पहाडी ब्राह्मणको जनसंख्या ३२ लाख २६ हजार ९०३ अर्थात १२.१८ प्रतिशत थियो ।
तथ्यांक अनुसार सबभन्दा कम नुराङ जातिका छन् । उनीहरूको संख्या जम्मा ३६ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । २०६८ सालको जनगणनामा सबैभन्दा थोरै कुसुन्डा २७३ जना थिए भने नुराङ जातिको संख्या २७८ थियो ।
११ जाति हजारभन्दा कम जनसंख्या :
त्यस्तै, नेपालमा सबैभन्दा कम जनसंख्या भएका ११ जाति रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार उनीहरुको जनसंख्या एक हजारभन्दा कम रहेको छ । एक हजारभन्दा कम जनसंख्या हुने जातिहरुमा कलार, फ्री, कोचे, टोप्केगोला, राउटे, वालुङ, ल्होमी, सुरेल, कुसुण्डा, वनकरिया र नुराङ जातिका छन् ।
यसैगरी, कलार जातिको जनसंख्या ९३१, फ्री जातिको जनसंख्या ९२१, कोचे जातिको जनसंख्या ८४७, टोप्के गोलाक जातिको जनसंख्या ७४२, राउटे जातिको जनसंख्या ५६६ मात्र रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
वालुङ जातिको जनसंख्या ४८१, ल्होमी जातिको जनसंख्या ३५५, सुरेल जातिको जनसंख्या ३१८, कुसुण्डा जातिको जनसंख्या २५३, वनकरियाको जनसंख्या १८० र नुराङ जातिको जनसंख्या ३६ मात्र रहेको तथ्याङ्कमा उल्लेख छ ।
२०६८ सालको जनगणनामा सबैभन्दा थोरै कुसुन्डा २७३ जना थिए भने नुराङ जातिको संख्या २७८ थियो ।
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा चैत १० सार्वजनिक गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० जेष्ठ २०, शनिबार ०७:४९ गते