बेसीशहर– लमजुङले कलाकारिताका क्षेत्रमा नयाँ इतिहास रच्ने भएको छ । ‘रङ्गमञ्चमा बाल प्रतिभाको खोजी अभियान’ भन्ने नाराका साथ जिल्लामा पहिलो पटक विद्यालयस्तरीय नाटक प्रतियोगिताको आयोजना गरेर कलाकारिताका क्षेत्रमा नयाँ इतिहास रच्ने वा भनुँ नयाँ अध्यायको थालनी जेठ २१ गते हुने भएको हो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको प्रमुख आतिथ्यमा सो प्रतियोगिता हुने भएबाट पनि यस कार्यक्रमले विशेष अर्थ राख्ने भएको र अबका दिनमा लमजुङले आजसम्म ओझेलमा परेको कलाकारिता विधामा नयाँ इतिहास निर्माण गर्ने भएको हो ।
मञ्जरी नाट्य समूह लमजुङले सो प्रतियोगिता आयोजना गरेको हो । जिल्लामा २०७३ सालमा स्थापना भएको मञ्जरी नाट्य समूहले आफ्ना सफलताका पाइला चाल्दै आएको छ । यसअघि फड्के नाटकबाट आफ्नो यात्राको थालनी गरेको मञ्जरी नाट्य समूहमा १५ जना सक्रीय कलाकार र त्यही संख्यामा पार्ट टाइम दिने कलाकार आवद्ध छन् । मञ्जरी नाट्य समूहले निर्माण गरेको नाटक ‘पानीघट्ट’ले दक्षिण एशियाली प्रतियोगितामा समेत कलकत्तामा पुगेर प्रदर्शन गरिसकेको छ । त्यस्तै, अर्को ‘नौगेडी’ नाटक रारा महोत्सव सुर्खेतमा लगेर प्रदर्शन गरिसकेको छ । यस प्रकार आफ्नो उज्वल भाविष्य कोर्दै गरेको मञ्जरी नाट्य समूहले नेपाली कलाकारिता क्षेत्रमा बालबालिकालाई पहिलो पटक फिल्डमा उतार्दै छ । ‘जुन आफैमा गौरव एवम् गर्व गर्न लायक काम हो । यो सदप्रयासले भोलिका दिनमा पक्कै पनि सार्थक रुप दिन सक्नेछ भन्ने विश्वास गर्न सकिन्छ’ ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार कार्यक्रम सुन्दैमा आफूलाई निकै उत्साहित बनाएको छ ।
पञ्चायतकाल अर्थात २०४७ सालअघिसम्म जिल्लाको सबै भेगमा माविहरूका वार्षिकोत्सवहरूमा नाटक, प्रहसन तथा नृत्यहरूले रात बितेको पत्तै नहुने अनुभव समेत सँगाल्नु भएका पहाडीले भन्नुभयो, ‘सशस्त्र द्वन्द्वकालका कारणले पनि कलाकारितालाई छाँयामा पर्न गयो, त्यतिबेलाका प्रतिभाहरू(ठाकुरप्रसाद छाँगा, रुद्रनिधि तिवारी आदि)ले आफ्नो कलाकारिता दोस्रो पुस्तामा हस्तान्तरणको मौका नै पाउन सक्नु भएन ।’ यस कार्यक्रमले अवश्य पनि भोलिका दिनमा सकारात्मक उपलब्धि दिने विश्वासमा छु उहाँले भन्नुभयो ।
यो नाटकको तयारीका लागि मञ्जरी नाट्य समूहको विशेष योगदान रहेको छ । सो समूहले यसको तयारीको क्रममा गत फागुन महिनामा प्रतियोगिता विद्यालयलाई सहभागी गराउँदै जनविकास मावि, विद्याविकास आमावि, जनकल्याण मावि, उदीपुरमा एक दिने कार्यशालाको आयोजना गरेको थियो मञ्जरी नाट्य समूह लमजुङका कोषाध्यक्ष एवम् कलाकार संजोग लामिछाने बताउनु भयो । उहाँका अनुसार त्यस अवसरमा सहभागी विद्यार्थीहरू तथा विद्यालयका शिक्षकहरूलाई नाटक लेखन, निर्देशन, अभिनय तथा ध्वनी तथा हलको प्रकाशका बारेमा जानकारी गराएको थियो ।
सो प्रतियोगिताका लागि बेसीशहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आर्थिक सहयोग गरेको छ भने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौको सहकार्य रहेको आयोजक मञ्जरी नाट्य समूह लमजुङका अध्यक्ष एवम् आफैमा कलाकारका पर्याय केदार बोहराले बताउनु भयो । उहाँका अनुुसार लमजुङमा औपचारिक रुपमा प्रतियोगिता आयोजना गरिएको यो पहिलो पटक हो । उहाँले भन्नुभयो, ‘बेसीशहर स्थित बरण्डा रेष्ट्रो एण्ड इभेन्ट्सको सभाहलमा उक्त कार्यक्रम भोलि विहान ११ बजे सुरु हुने भएको छ ।’
सो प्रतियोगितामा दश माविका छात्रछात्राहरूले भाग लिने तयारी गरेको मञ्जरी नाट्य समूहका सदस्य संजोग बताउनु हुन्छ । उहाँका अनुसार सो प्रतियोगितामा बेसीशहर नगरपालिका भित्रका १० विद्यालयले भाग लिदै छन् । उहाँले भन्नुभयो, ‘एक विद्यालयबाट बढीमा १० जना कलाकारले भाग लिने छन् र उनीहरूलाई १० देखि १५ मिनेट भित्रमा आफ्नो प्रस्तुति सक्न निर्देशन गरिएको छ ।’
प्रतियोगितामा भाग लिने विद्यालयको नाम, उनीहरूले प्रदर्शन गर्ने नाटक, त्यसका लेखक र निर्देशकहरू क्रमशः दिइएको छ । ती हुन् १) मनकामनमा मा.वि.– ‘अनिवार्य शिक्षा’, कुशराज थापा र मिश्मा तिवारी, २) अन्नपूर्ण मा.वि., ‘अब कुरा बुझ्ने पालो कस्को ?’, दुवैमा थमन सिहं राना, ३) जनकल्याण मा.वि. चिति, ‘बेखर्ची पोडे’, दुवैमा वासुदेव पन्त, ४) जनजागृति आधारभूत, बेसीशहर– ११, बरबोट, ‘परिवर्तन’, आकृति जोशी र सृजत पन्त हुनुहुन्छ ।’
यसैगरी, ५) जनकल्याण मा.वि. उदिपुर, ‘काजी सापको सास्ती’, प्रभात घिमिरे र रामप्रसाद अधिकारी, ६) न्यूइरा आमावि बेसीशहर, ‘बाल्यावस्थाको मूल्य’, दुवैमा विनोद रिमाल ७) गंगामिलन मा.वि. ‘बाल विवाह’, गणेशचन्द्र भारती र कृष्णकुमारी रिमाल ८) यशोब्रह्म मा.वि. बाहुनवेसी, ‘कर्तव्य’ दुवैमा अरुण बराल हुनुहुन्छ । त्यस्तै, ९) अर्थली प्यारडाइज आमावि, ‘लागु औषधको प्रयोग, स्वास्थ्यमा रोग’ दुवैमा हरिचन्द्र भुजेल हुनुहुन्छ भने १०) विद्या विकास मा. वि. ‘पहिचान’ दुवैमा नोरदेन तामाङ हुनुभएको मञ्जरी नाट्य समूहका उपाध्यक्ष एवम् कलाकार भरत रानाले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०८० जेष्ठ २०, शनिबार २१:५१ गते