दुराडाँडा– लमजुङको ऐतिहासिक थलो दुराडाँडामा छात्राहरूलाई पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड बनाउने तालिम दिइएको छ । चार दिने सो तालिम जेठ २१ गते समापन गरिएको हो ।
विकासमा महिला संस्थाले किशोरी बाल बालिकाका लागि सो तालिम सुन्दरबजार नगरपालिका– ४ को दुराडाँडाँ स्थित संस्कृतिसदन मा.वि.मा सञ्चालन गरेको हो । तालिममा सो माविका दश जना छात्राहरूले भाग लिएका थिए । उनीहरूलाई पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड बनाउने चार दिने तालिम दिएको हो ।
चार दिनसम्म सञ्चालित सो तालिमका लागि डा. श्रीया अर्याल, इन्दु अधिकारी र समिरा अधिकारीले आर्थिक सहयोग गर्नु भएको संस्थाका कोषाध्यक्ष बसुधा अधिकारी बरालले जानकारी दिनु भयो ।
‘फर्कौं न गाउंँ गरौं न केही’ मूल नारा र अभियान सञ्चालन गर्न स्थापित विकासमा महिलाले किशोरी बालबालिकाको क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरू गर्दै आएकोछ ।
यसै अवसरमा संस्थाका सचिव सबला अधिकारी आत्रेयले महिला प्रजनन स्वास्थ्य, वातावरण संरक्षणका साथै आत्मनिर्भर र दिगो आर्थिक उपार्जनको स्रोत बन्न बनाउन सकिने उद्देश्य लिइ कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनु भयो ।
सो अवसरमा उक्त माविका प्रधानाध्यापक शिवशंकर तिवारीले यसरी तीसौं– चालिसौं बर्षपछि आफ्नो मातृभूमि सम्झेर यहीबाट नै कार्य थालनी गर्दै आएको यस संस्थाको छनोटमा आफ्नो स्कुल परेकोमा खुशी हुदै आगामी दिनहरूमा सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णभद्र नेउपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा स्कूलका छात्राहरूलाई पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड बितरण पनि गरिएको थियो ।
प्रकाशित मिति २०८० जेष्ठ २२, सोमबार ०९:३८ गते