काठमाडौं– नेकपा (एमाले) केन्द्रीय कमिटीले पूर्वनिर्धारित पदाधिकारी तथा सदस्य बन्ने उमेर हद हटाइएको छ । गत वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि पार्टीले जेठ २३ गते जारी गरेको अन्तरपार्टी निर्देशन– ७ मा सो बारेमा उल्लेख भएको जेठ २३ गते खुलासा भएको हो ।
पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनु भएको छ । उहाँका अनुसार पार्टीले सचिवालय बैठक, स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकका निर्णय समावेश गरेर यो अन्तरपार्टी निर्देशन– ७ जारी गरेकोे हो ।
यसअघि पार्टीमा रहने केन्द्रीय सदस्यको उमेरहद ७० वर्ष तोकिएको थियो । २०७० मा भएको नवौँ महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्यका लागि ७० वर्ष उमेर हदबन्दी लागू गरिएको थियो ।
अन्तरपार्टी निर्देशन– ७ को विविध निर्णयअन्तर्गत् केन्द्रीय कमिटीको उमेर हदसम्बन्धी व्यवस्थामा ‘पार्टी विधानमा रहेको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने’ उल्लेख गरिएको हो ।
यसैगरी अन्तरपार्टी निर्देशनमा पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटीका नेताको जिम्मेवारी पनि हेरफेर गरिएको छ । अन्तरपार्टी निर्देशनमा सबै प्रदेश अधिवेशन आगामी भदौ महिनाभित्र आयोजना गर्ने उल्लेख गरिएको छ । असोजदेखि चैत महिनासम्ममा जिल्ला, पालिका, वडा र टोलटोलका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाउने उल्लेख गरिएको छ ।
उक्त निर्देशिका अनुसार प्रदेश कमिटीको कामको महत्वलाई ध्यानमा राखी अब निर्वाचित हुने सात प्रदेशका अध्यक्ष पदेन पोलिटब्यूरोसदस्य सरह हुने र केन्द्रीय कार्यालय सचिवलाई पदेन केन्द्रीय सदस्यको रूपमा बैठकमा सहभागी गराइने अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ ।
यसैगरी, पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न नयाँ अभियान सञ्चालन गर्ने र त्यसका लागि अधिवेशन र पुनः गठनका माध्यमबाट आधारभूत तहका कमिटीमा एक तिहाई सदस्य ३५ वर्ष मुनिका पार्टी सदस्यलाई सङ्गठित गर्ने गरी युवा लक्षित अभियान सञ्चालन गर्ने भनिएको छ ।
एमालेले हालैको केन्दीय कमिटी र सचिवालयको निर्णयबमोजिम आउने असार मासन्तभित्र पार्टी सदस्यताको नवीकरण अद्यावधिक गराई भदौमा सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको सचिवालयको बैठकपछि अध्यक्ष केपी शर्मा ओलीबाट जारी अन्तरपार्टी निर्देशन– ७ मा जनाइएको छ ।
सवालाख सदस्य थपिदै :
यसैबीच, नेकपा (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा सदस्यता प्राप्तिका लागि एक लाख १९ हजार ९६ नयाँ सदस्यले आवेदन दिएका छन् । पार्टीका माथिल्ला र तल्ला कमिटीका नेता तथा कमिटी परिचालित सो अभियानका क्रममा उक्त संख्यामा नयाँ सदस्यताको आवेदन परेको बताइएको छ ।
‘मिसन ग्रासरुट’ गत फागुन ५ देखि वैशाख ९ गतेसम्म सञ्चालन गरिएको थियो । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि पार्टी सुदृढीकरणका लागि सो ‘मिसन ग्रासरुट’ अभियान एमालेले सञ्चालन गरेको हो ।
मिसन ग्रासरुट अभियानको समीक्षा र भावी योजना तर्जुमाका लागि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक भएको थियो ।
प्राप्त आवेदनलाई अध्ययन गरी पार्टीको केन्द्रीय सङ्गठन विभागले स्वीकृति र नवीकरण भएका सदस्यको अद्यावधिक गर्ने सो पार्टीका जनसङ्गठन समन्वय संयन्त्रका संयोजक एवम् सङ्गठन विभागका सदस्य भानुभक्त ढकालले बताउनु भएको छ । उहाँका अनुसार मनोनयनबाट थप भएकासहित तीन सय ४९ केन्द्रीय सदस्यको नयाँ कार्यविभाजन गरिएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ २५, बिहीबार ०७:२६ गते