लमजुङ– यस जिल्लाको विभिन्न स्थानमा निर्माण गरिदै आएका खानेपानीका योजनाहरूमा ठूलो घोटाला हुने गरेको रहस्य खुल्न आएको छ । खानेपानीका पाइप लगायतका सामग्रीहरू उपभोक्ता समितिका पदाधिकारीलाई खाली माग फारममा दस्तखत गर्न लगाई उनीहरू सम्बद्ध खानेपानी योजनामा सीमित सामग्री दिएर बाँकी अन्यत्र(अर्को आयोजनामा) लग्ने वा बीचमै बिक्री गर्ने मोटो रकम असुल्ने धन्दा विगतका धेरै वर्षदेखि चल्दै आएको स्रोतको दावी छ । स्रोतका अनुसार खानेपानी उपभोक्ता समिति र खानेपानी कार्यालयका बीचमा समन्वय गरी यस्तो धन्दा चलाउने यौटा गिरोह नै सक्रिय रहेको छ ।
त्यसरी खानेपानी योजनाका सामग्री दुरुपयोग भएको खानेपानीका योजनाहरूमा राइनास नगरपालिको धमिलीकुवा खानेपानी आयोजना, सुन्दरबजार नगरपालिका– १ को भागु कुन्छा खानेपानी आयोजना, क्ब्होलासोथार गाउँपालिका– ९ को गिलुङ खानेपानी आयोजना, सोही गाउँपालिका– ६ र ७ को पसगाउँ, भोजे खानेपानी आयोजना, मध्यनेपाल नगरपालिका– ७ सो माउखोला चिसंकु खानेपानी आयोजना, सुन्दरबजार नगरपालिका– ६ को खत्रिठाँटी खानेपानी आयोजना आदि छन् ।
यसैगरी, सुन्दरबजार नगरपालिका– १० को एक घर एक धारा नामक धुसेनी खानेपानी आयोजना (यस आयोजनाका बारेमा यसअघि फोटो फिचर सहितको समाचार हामीले प्रकाशन गरी सकेका हौं तर आजका दिनसम्म पनि अनुगमन गर्ने सम्बद्ध निकायको कानमा बतास लागेको जानकारीमा आएको छैन ।)
यसैगरी, बेसीशहर नगरपालिका– ६ को चण्डिस्थानका लागि ल्याइएको कराइखोला खानेपानी आयोजना, दोर्दी गाउँपालिकाको नौथर खानेपानी आयोजना, दूधपोखरी गाउँपालिका– ४ को कोल्की आदि योजनाको नाउँमा ल्याइएका पाइपहरूमा एक योजनाको अर्को योजनामा सट्टा पट्टा गरिने वा विक्रि गरी मोटो रकम असुल्ने गरिएको पाइन्छ । हामीलाई उपलब्ध फोटामा बेवारिसे रुपमा पाइप राखिनु(सुन्दरबजार श्रेष्ठ स्टोरसँगैकोे चौरमा संलग्न फोटो सोही स्थानका हुन्)ले स्रोतबाट उपलब्ध सूचनालाई मिथ्या हो भन्न सक्ने अवस्था देखिदैन ।
यस बारेमा श्रेष्ठ स्टोरका प्रोपाइटर शशी श्रेष्ठसँग सम्पर्क गर्दा मेरो स्टोर छेउमा कहिलेकाहीँ पाइपहरू राखेको देखिन्छ । केही दिन राख्छन्, लग्छन् तर मसँग त्यसको कुनै सरोकार हुँदैन उहाँले भन्नुभयो ।
यसरी संघीय आयोजना हुन् या प्रदेशस्तरका वा स्थानीय तहका योजनाहरू सबैमा बिचौलियामार्फत यस्ता मिलेमतोका धन्दा हुने गरेको स्रोतको दावी छ । अनुगमन गर्ने निकायले सम्बद्ध उपभोक्ता समितिले बुझेको पाइप र ती योजनामा लगेर वास्तविक रुपमा प्रयोग(फिटिङ भएकों) पाइपको लेखाजोखा गर्ने हो भने छर्लङ्ग हुनेछ । त्यतिमात्र हैन उपभोक्ता समितिको पाइप बुझ्ने पदाधिकारीलाई ‘यहाँले के कति पाइप बुझेर त्यसको माग फारममा सही गर्नु भएको हो ?’ भन्ने मात्र सोध्ने काम गर्ने हो भने पनि यो रहस्य मध्यान्हको घाम जस्तै छर्लङ्ग हुनेछ ।
यसरी खाली माग फारममा मात्र हैन खाली चेक(दुईवटा)मा समेत सही गराउने गरेको धुसेनी खानेपानी आयोजनाको उपभोक्ता समितिका सचिवले यो पंक्तिकारलाई भन्नुभएको समाचार यसअघि हामीले सो आयोजनाको स्थलगत भ्रमण गरी प्रकाशन गरिसकेका छौं । उहाँका अनुसार धुसेनी खानेपानी आयोजना उपभोक्ता समितिमार्फत काम भएको भनेर अफिसियल कागजात मिलाइएकमो भए पछि त्यो काम ठेकदार अर्थात विचौलिया मार्फत भएको बुझिएको छ । त्यो खानेपानी आयोजनको काम थालिएदेखि सम्पन्न हुँदासम्म एक पटक पनि उपभोक्ता समितिको बैठक नबसेको, बैठक राख्न खोज्दा समितिका अध्यक्ष विभिन्न बहाना गरी भाग्ने गरेको त्यहाँका उपभोक्ता समितिका अन्य पदाधिकारीहरूले गुनासो गर्नु भएको छ । त्यसैले, पनि लमजुङमा सञ्चालन गरिएका सबै खानेपानी योजनाको सम्बद्ध निकायबाट राम्रोसँग अध्ययन अनुगमन हुने पर्ने देखिएको छ । त्यस्ता केही पाइपहरू भोटेओडारको लसुने खानेपानी आयोजना(फूलबारीसम्म)मा प्रयोग भएको समेत जानकारीमा आएको छ ।
त्यति मात्र हैन, उल्लेखित खानेपानी आयोजनाको उपभोक्ता समितिका जिम्मेवार पदाधिकारीहरू जो जो हुनुहुन्छ यदि तपाईहरू साच्चिकै इमान्दार हुनुहुन्छ र कुनै मुलाहिजामा फस्ने काम गर्नु भएको छैन भने तपाईहरूले आफ्नो गाउँठाउँको खानेपानी आयोजनामा आएका(ल्याइएको) खानेपानीका पाइप लगायतका सामग्रीहरू के कति थिए या आए र तपाईलाई सही गराईएको माग फारममा के कतिका सामग्री तपाईले बुझ्नु भयो भनिएको छ एक पटक सम्बन्धित कार्यालयमा गएर ती मागफारमहरू मागेर हेर्नु भयो भने तपाईहरूलाई थाङ्नामा सुताउने काम के कति भएको रहेछ भन्ने आफैले छर्लङ्ग देख्न सक्नु हुनेछ । यी खानेपानीका उपभोक्ता समितिका पदाधिकारीहरूले यस्तो काम गर्न सक्नु हुन्छ ? कि कलंकको टिका लगाउँदै रमाउनु हुन्छ ? रोजाई तपाईकै हातमा छ ।
यसैबीच, केही उपभोक्ता समितिमा बसेर बदनामी मात्र कमाउनु परेको हुँदा यस्तो कार्यमा तत्कालै छानविन नभएमा आफूहरू माथिल्लो निकाय गुहार्न बाध्य हुने समेत बताउनु भएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ २५, बिहीबार ०९:१० गते