बेसीशहर– आफ्नो विद्यालयमा अध्ययन गर्ने छात्राहरूलाई परम्परागत सीप सिकाउने काम गरेको छ युनिभर्सल एकेडेमीले । लमजुङको जिल्ला सरदमुकाम स्थित बेसीशहर नगरपालिका– ७ को मनाङ्गे चौताराको बगल स्थित युनिभर्सल चोकमा रहेको सो आमाविले आफ्ना छात्राहरूलाई एक दिने दुना टपरी बनाउने तालिम जेठ २४ गते दिएको हो ।
सालको पातबाट बनाइने दुना टपरी पछिल्ला दिनमा गाउँघरमा समेत लोप हुने अवस्थामा छन् । यी सामग्री बुन्नका लागि पनि सीपको आवश्यकता पर्दछ । हिजो आज दुनाटपरीको सट्टामा कागज र प्लाष्टिकका प्लेट प्रयोग गर्न थालिएको छ । जसलाई वातावरणीय दृष्टिकोणबाट पनि राम्रो मान्न सकिँदैन । नयाँ पस्ताका लागि दुना टपरी कुन चरीको नाम हो जस्तो हुने अवस्था छ ।
नेपाली समाजमा दुना टपरी भोज भतेर, पूजाआजा, श्राद्ध आदिमा प्रयोग गर्ने परम्पारगत प्रचलन हो । लोपोन्मुख अवस्थामा पुगेको संस्कृतिको यो एक पाटोलाई संरक्षणमा टेवा दिने काम गरेको छ– युनिभर्सल एकेडेमीले । सो आमाविले आफ्नो विद्यालयमा अध्ययन गर्ने ४६ जना छात्रालाई उक्त सीप सिकाउँदै नयाँ पुस्तामा सीप हस्तान्तरणको कार्यमा मद्दत गरेको मात्र गरेको छैन यसले वातावरणलाई बचाउने र सीप सिकेका छात्रामा स्वाभिमानको भावना समेत जागृत गर्न मद्दत टेवा पुर्याउने काम गरेको देखिएको छ ।
सो प्रशिक्षण कार्यक्रममा लक्ष्मीनारायण सामुदायिक विद्यालयको सिकाई केन्द्रकी प्रमुख कान्ता घिमिरेले सहजकर्ताको भुमिका निभाउँदै छात्राहरूलाई दुना टपरी बुन्ने सैद्धान्तिक र प्रयोगात्मक सीप सिकाउनु भएको थियो ।
त्यसअघि उहाँले सालको पातबाट बनाईने दुना टपरीको आवश्यकता, महत्व र विशेषताका बारेमा प्रकाश पार्नु भएको थियो । यसलाई चोखो वस्तु समेत मानिन्छ र देवताका मठ मन्दिरमा समेत निर्धक्क दुना टपरी सहज तरिकाले चल्छ । सो अवसरमा उहाँले टपरी चार कुने र पाँच कुने टपरी काने दुना, बोहोता आदि बनाउन सिकाउनु भएको थियो । तालिमका सहभागगीले किनै रुचिका साथ सो काम गरेका थिए । उनीहरूले अतिनै छिटो सिक्ने काम गरे प्रशिक्षक कान्ता घिमिरेले बताउनु भयो । उहाँका अनुसार कतिपय गाउँमा उमेर छिप्पिएका महिलालाई समेत सिक्न गाह्रो भएको थियो । दुना बोहोता बुन्न सिकेपछि मात्र टपरी बुन्न सक्नु भएको थियो तर विद्यालयका नानीहरूले छिटो सिके हामी पनि प्रोत्साहित भयौं प्रमुख प्रशिक्षक कान्ता घिमिरेले बताउनु भयो । उहाँका अनुसार सो विद्यालयका हात छिटो चलाउने नानीहरूले चारवटासम्म टपरी तालिम अवधिमा बनाउने सके । उहाँले भन्नुभयो, ‘उनीहरूको त्यो गलनशीलताले हामीलाई समेत उत्साहित बनाएको छ ।’ उक्त प्रशिक्षणमा शान्ता घिमिरे र अन्नपूर्ण सिलवालले समेत प्रशिक्षणमा सहयोग गर्नु भएको थियो ।
सोही आमाविका प्रिन्सिपल विमल अधिकारीको अध्यक्षतामा भएको प्रशिक्षणमा सोही पुस्तकालयका अध्यक्ष नारइनबहादुर सुयल प्रमुख अतिथि तथा उपाध्यक्ष सुशीलचन्द्र अधिकारी र सचिव सरोज दनाई समेत अतिथिका रुपमा सहभागी हुनुभएको प्रिन्सिपल अधिकारीले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०८० जेष्ठ २५, बिहीबार ११:५२ गते