१३ वर्षीय बाललेखक कुञ्जल शुभेच्छु लुइटेलको पुस्तक ‘मैले पढेका पुस्तक’ सार्वजनिक

१३ वर्षीय बाललेखक कुञ्जल शुभेच्छु लुइटेलको पुस्तक ‘मैले पढेका पुस्तक’ सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ २५ गते बिहिबार ०७:१८

प्रमुख अतिथि त्रिपाठीले कुञ्जल बाल्यकालमा हामीसँगै नजिकै बसेर हुर्किएका, हाम्रा आँगनमा खेल्न आइरहन्थे भन्ने स्मरण गर्नु भयो । उहाँले हामीलाई गुरुबा गुरुआमा भन्ने उनी त्यसबेला चञ्चल थिए तर आज मञ्चमा शान्त भएर बसेको देख्दा खुशी लागेको उल्लेख गर्नु भयो ।

बालबालिकालाई वातावरण दिए गर्ने रहेछन् भनेर थाहा पाएपछि किताब पढेर लेख्ने वातावरण दियो विद्यालयले

काठमाडौं– नेपाल बालसाहित्य समाज र युनाइटेड स्कुलद्वारा संयुक्त रूपमा आयोजित एक समारोहका बिच १३ वर्षीय बाललेखक कुञ्जल शुभेच्छु लुइटेलको पुस्तक ‘मैले पढेका पुस्तक’ सार्वजनिक भएको छ । प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले ‘मैले पढेका पुस्तक’को लोकार्पण जेठ २३ गते गर्नु भएको हो ।
समारोहमा बक्ताहरूले कुञ्जलको प्रतीभाको खुलेर प्रशंसा गरेका थिए । प्रमुख अतिथि त्रिपाठीले कुञ्जल बाल्यकालमा हामीसँगै नजिकै बसेर हुर्किएका, हाम्रा आँगनमा खेल्न आइरहन्थे भन्ने स्मरण गर्नु भयो । उहाँले हामीलाई गुरुबा गुरुआमा भन्ने उनी त्यसबेला चञ्चल थिए तर आज मञ्चमा शान्त भएर बसेको देख्दा खुशी लागेको उल्लेख गर्नु भयो । उहाँले कोरोनाकालदेखि आजसम्म लेखेका यतिका सामग्रीको प्रकाशन देखेर झन् खुसी लागेको छ र बधाई छ । मैले केही नमुना समीक्षा पढ्दा राम्रो लाग्यो । यहाँ माधव घिमिरेदेखि, रमेश विकल र जनकप्रसाद हुमागाईंदेखि नवपुस्तासम्मका प्रतिभाका बालसाहित्यिक कृतिको चर्चा गरिएको रहेछ । बालसुलभ समीक्षाचेत पढ्न पाएर म धेरै खुसी भएँ त्रिपाठीले बताउनु भयो ।
समारोहमा युनाइटेड स्कुलका निर्देशक डा. कविराज वान्तवाले आफूले सबै कृति पढिसकेको भन्दै बालबालिकाको क्षमताले उचित निकास पाए गर्ने रहेछ भन्ने विश्वास जागेको बताउनुभयो । उहाँले कुञ्जलले लकडाउनदेखि आजसम्म लेखेका सामग्री देखेर मैले नै प्रकाशन गर्छु भनेको हुँ । हाम्रो विद्यालय क्षमतावान् एवम् प्रतिभावान् विद्यार्थीको कदर गर्दछ । कुञ्जललाई बधाई छ । यो उनका अभिभावक र उनीसँग सम्बन्ध जोडिनु हाम्रो स्कुलको पनि खुसीको कुरा हो ।
समारोहमा सम्पादक विनयकुमार शर्मा नेपालले आफ्नो सम्पादकीय मन्तव्य प्रस्तुत गर्नुभएको थियो । उहाँले बालबालिकाले कथा, कविता लेखेर छापेका उदाहरण छन् तर बालसमीक्षकको कृति र यतिका संख्यामा कृति माथिका समीक्षा आउनु खुसीको विषय हो भन्नुभयो । यस कृतिले आजको नयाँ पुस्ताले बालसाहित्यलाई कसरी हेर्छ र बुझ्छ भन्ने सन्देश दिएको छ । यहाँ नेपाली बालसाहित्यका समकालीन पुस्ताका विविध पक्षको प्रतिनिधित्व छ । मैले सामग्री देख्नासाथ प्रकाशन गरिदिनुपर्छ भनेको हुँ । मैले यो कृति सम्पादन गर्ने क्रममा कुञ्जलको भाषालाई यथावत् रहन दिएको छु ।
कार्यक्रममा युनाइटेड स्कुलका निर्देशक कविराज वान्तवा, वरिष्ठ कवि भुवनहरि सिग्देल, समालोचक प्रा.डा. जीवेन्द्रदेव गिरी, लोकार्पित कृतिका सम्पादक विनयकुमार शर्मा नेपाल, साहित्यकार दिव्य गिरी, रामप्रसाद दाहाल, डा. विष्णु राई, प्रह्लाद पोखरेल, प्रभा भट्टराई, डा. यादेवी ढकाल, डा. सीता सुवेदी पन्थी, गङ्गा पौडेल कर्माचार्य, शिवानी घिमिरे, पुष्पलता आचार्य, नेत्र न्यौपाने, ललिता दोषी, कुञ्जल शुभेच्छु लुइटेलको मैले पढेका किताबभित्र माधवप्रसाद घिमिरेको बाला लहरी, वसन्तकुमार शर्मा नेपालको तीन तारा, गङ्गा कर्माचार्य पौडेलको नबिराउनु नडराउनु, विष्णुकुमार पौडेलका नयाँ सङ्कल्प, हात्तीको फुर्ती, शारदा अधिकारीको हराएकी छोरी, रमेश विकलको केही मूर्खहरूको कथा, महेश पौडेलको चिम्पान्जीको चिन्ता, ज्ञान उदासको नानीका कथाको किताब छन् ।
यसैगरी, जनकप्रसाद हुमागाईंको नानीको प्रगति, प्रमोद प्रधानको खैरो बकुल्लागङग कर्माचार्य पौडेलका छमछमी नाच्छु तीजमा, कागले किन काँ काँ भन्छ ? जस्ता समीक्षा समेटिएका छन् । त्यसैगरी, किताबमा कनकमणि दीक्षितको काठमाडौँ सन्धि, छायादत्त न्यौपानेको हाम्रा कुरा, रामदेव पाण्डेको घर जस्तो स्कुल मेरो, ज्ञाननिष्ठ ज्ञवालीको सविज्ञाको कम्प्युटर, यम बास्तोलाको गायक बिरालो, शेखर श्रेष्ठको सेतो हिमालमुन्तिर, विनय कसजूको अबोलाको मोबाइल फोन, शान्ति सापकोटाको लुसीको माया, म्याक्सिम गोर्कीको हृदयको ज्योति, देबु लुइटेलको मेरो गाउँ, यशु श्रेष्ठका रुँदै कराउँदै र कता जाऔँ होला ? पनि समेटिएका छन् । यस कृतिमा रामकुमार पण्डित क्षेत्रीको बुद्ध विचार, सजनी नौबागेको राजकुमारीको सपना, चन्द्रमा पौडेलको बाघको भिडियो, दिव्यलक्ष्मी पोख्रेलको झिलिमिली जुनतारा, प्रभा भट्टराईको पोसिला कविता, छायादत्त न्यौपानेको केरै केरा, सुरेन उप्रेतीको नेपालका शान, ललिता दोषीको दुई खुट्टे बिरालो, विजयराज आचार्यको स्वयम्भूका आँखाहरू, कार्तिकेय घिमिरेको ‘वाहा ! दुनोट पसलेकी छोरी’, कविताराम श्रेष्ठको जुजु हिरा, गीता सापकोटाको पुरस्कार, विनयकुमार शर्मा नेपालको किसान र भगवान् जस्ता कृतिमाथि लेखिएका लघु समीक्षा समेटिएका छन् ।
बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षता भएको समारोहमा साहित्यकार डा. रमेश शुभेच्छुले स्वागत गर्नु भएको थियो । उहाँले कुञ्जलको शारीरिक र मानसिक विकासमा सघाउने धाइआमादेखि विद्यालयका आयादिदीदेखि, ड्राइभर, गार्डदाइदेखि सम्पूर्ण शिक्षकलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो । उहाँले बालबालिकालाई वातावरण दिए गर्ने रहेछ भनेर हामीले थाहा पाएपछि आफूहरूले किताब पढेर लेख्ने वातावरण दिएको बताउनुभयो ।

प्रकाशित मिति २०८० जेष्ठ २५, बिहीबार १९:१८ गते
हजुरको प्रतिक्रिया