हर्राबोट(लमजुङ)– लमजुङको राइनास नगरपालिकामा दुई दिने अपाङ्गता सशक्तिकरण एवम् अभिमुखीकरण कार्यक्रम गरिएको छ । राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको सो कार्यक्रम जेठ २७ गते समापन भएको हो ।
ग्रामीण अपाङ्ग समाज लमजुङको अयोजना, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राइनास नगरपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम सोही नगरपालिका– ८ को हर्राबोटमा गरिएको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायता सामग्रीसमेत वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेयर गुरुङ तथा विशेष अतिथि खनालले ती सामग्री वितरण गर्नु भएको हो । 
सहायता सामग्री वितरणपछि प्रमुख अतिथि गुरुङले आउँदो वर्षबाट नगरपालिकाले अपाङ्गता मैत्री बजेट बनाउने जानकारी दिनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने सहायता सामग्रीका लागि आवश्यक बजेटको प्रवन्ध गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । मेयर गुरुङले नगरपालिकामा अपाङ्गता सहायता कक्ष निर्माणका लागि समेत बजेटको प्रवन्ध गरिने जानकारी दिनु भयो ।
सो कार्यक्रममा विशेष अतिथि राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल र अपाङ्गता महासंघका निवर्तमान केन्द्रीय सदस्य चन्द्रकान्त पौडेल हुनुहुन्थ्यो ।
कार्यक्रममा राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनालले नगरपालिकामा नीति तथा कार्यक्रम राख्ने÷बनाउने जिम्मेवार व्यक्ति हुनुका नाताले सबै माग र कार्यक्रम पूरा गर्ने बजेट नभए पनि अपाङ्गता मैत्री बजेट बनाउन प्रयत्न गर्ने बिश्वास दिलाउनु भयो । उहाँले कम्तिमा पनि पहेलो परिचयपत्र पाएका अपाङ्गता भएका ब्यक्तिहरूको स्वास्थ्य बीमा गाराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा ह्विलचेयर पाँच वटा, बैशाखी तीन वटा, सेतो छडी पाँच वटा, कम्बर बेल्ट तीन वटा तथा एल्बो बैशाखी र श्रवण यन्त्र १÷१ वटा वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष प्रकाश चिलुवालले गर्नु भएको थियो ।
सो अवसरमा अपाङ्ग निर्देशन समिति गण्डकीका सदस्य राजेन्द्र घिमिरेले अपाङ्गता भएका व्यक्तिहरूका बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै, अपाङ्गता महासंघका निवर्तमान केन्द्रीय सदस्य चन्द्रकान्त पौडेलले अपाङ्गता भएका व्यक्तिहरूको वर्तमान अवस्था र जनप्रतिनिधिहरूको भूमिका तथा समावेसी बजेटको आवश्यकता र जनप्रतिनिधिहरूको दायित्वका विषयमा प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि गुरुङ एवम् विशेष अतिथि उपमेयर खनाल तथा कार्यक्रममा सहभागी अतिथिहरू एवम् वडाध्यक्षहरू एवम् कार्यपालिकाका सदस्यहरू तीन जनाले समेत तीन बुँदे सहमति पत्रमा हस्ताक्षर समेत गर्नु भएको छ । उक्त सहमति पत्रको प्रतिलिपि :
सो अवसरमा राइनास नगरपालिका– १ का अध्यक्ष विष्णुप्रसाद पौडेल, वडानं– २ का अध्यक्ष लक्ष्मण शाही, वडान– ३ को अध्यक्ष देवबहादुर पौडेल, वडानं– ४ का अध्यक्ष बलराम पराजुली, वडानं– ५ का अध्यक्ष सुकबहादुर सार्की, वडानं– ६ का अध्यक्ष गोविन्द चिलुवाल, वडानं– ८ का अध्यक्ष कृष्णबहादुर रानाभाटको सहभागिता थियो । साथै अन्नपूर्ण वैदिक मान्यता अभिभावक संघका अध्यक्ष श्रीकृष्ण घिमिरे, लमजुङ नेत्र हीन संघका अध्यक्ष दानबहादुर गुरुङ, राइनास अपाङ्ग सञ्जालका अध्यक्ष जीवन श्रेष्ठ लगायतको सहभागिता थियो ।
राजेन्द्र घिमिरेले स्वागत गर्नु भएको उक्त कार्यक्रममा नेत्रहीन संघका जिल्ला सचिव विष्णु पोखरेलले गर्नु भएको थियो ।
स्मरणीय छ, अपाङ्गताका क्षेत्रमा जिल्लामा सञ्चालन हुनेमा राम्रो र ठूलो कार्यक्रममध्ये एकमा गणना हुने उक्त कार्यक्रममा पत्रकारहरूलाई भने ननिम्त्याइएको बुझिएको छ ।
प्रकाशित मिति २०८० जेष्ठ २७, शनिबार २०:५५ गते