
लमजुङ– लमजुङमा एक व्यक्ति लेकमा भीरमह काडेर घर फर्किने क्रममा पहराको बाटोमा चिप्लिएर लडी दोर्दीखोलामा खसेर बेपत्ता भएका छन् । ती व्यक्ति दोर्दी गाउँपालिका– ६, ताँजेका अन्दाजी ५४ वर्षीय ठागु घले भएको प्रहरीले जनाएको छ । जेठ २५ गते हराएका उनी २८ गते विहान यो समाचार तयार गर्दासम्म फेला परेका छैनन् ।
उनी खसेको ठाउँ अप्ठ्यारो भएका कारण स्थानीयले खोजी गर्न नसकेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । केही दिनअघि १५ जनाको टोली भीर मह काडेर गाउँ फर्किने क्रममा दोर्दी गाउँपालिका– ७, को महखर्क नजिकैको पहरोबाट दोर्दीखोलामा खसेका हुन् ।
सो स्थान दोर्दीखोलाको खोँच अप्ठ्यारो ठाउँमा रहेकाले बेपत्ता भएका व्यक्तिको अवस्थाबारे जानकारी प्राप्त हुन कठिन भएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार खबर पाएसंगै गाउँबाट खोजीकार्यका लागि युवाहरू खटिएका छन् र संयुक्त सुरक्षाफौजको टोली समेत घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको हो । उहाँले भन्नुभयो, ‘तीन दिन बितिसक्यो, खोलाले बगाएको समेत देखेको भन्ने मान्छे, फेला परे तर उनी फेला पर्न सकेका छैनन् ।’
गए राती जानकारी आएको र बिहानै त्यसतर्फ संयुक्त सुरक्षा फौज गएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उहाँका अनुसार घटनास्थल आसापासमा खानपिन वा बसोबास गर्ने कुनै ठाउँ नभएको हुँदा फौजलाई कठिनाई भएको छ ।
खोँचमा खसेका व्यक्तिको उद्दारका लागि उदिपुरस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका क्याप्टेन, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक र सशस्त्र प्रहरी बल आश्रित गुल्म रानीकुवाका प्रहरी सहायक निरीक्षकसहित १७ जनाको सुरक्षा टोली घटनास्थल पुगेको उहाँले जानकारी दिनुभयो । संयुक्त सुरक्षा फौजसंगै स्थानीयले खोजतलास थालेको प्रहरी भनाइ छ ।
समुद्री सतहदेखि करिब तीन हजार चार सय मिटर उचाइको उक्त ठाउँमा पुग्न सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ को ड्यामक्षेत्रदेखि कम्तिमा चार घण्टाको पैदल दुरीमा भिरालो ठाउँ रहेको र दोर्दीखोलाको खोँच अप्ठ्यारो ठाउँ रहेको स्थानीयले बताएका छन् ।
उनको खोजीका लागि घट्नास्थल पुगेको सुरक्षाको एक टोली सोही स्थानमा बसेर एक टोली फर्किएको छ । ती व्यक्ति दोर्दी खोलमा खसेर केही तलसम्म खोलाले बगाएको समेत देखेका रहेछन् उनीसँग जाने टोलीका मानिसले, खोलाले बगाएरको केही तल खोच समेत रहेको हुँदा खोजी कार्यमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो ।
प्रकाशित मिति २०८० जेष्ठ २८, आईतवार ०८:१३ गते