‘ब्रा’ भित्र ब्राउनसुगर बोक्ने गर्भवती महिला धरौटीमा रिहा

‘ब्रा’ भित्र ब्राउनसुगर बोक्ने गर्भवती महिला धरौटीमा रिहा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ २८ गते आईतबार ०८:३६

७ महिना पछिका गर्भवतीलाई थुनामा राख्न नमिल्ने भएको कारण उनी धरौटी तारेकमा रिहा भएकी छन् भने श्रीमान् पुर्पक्षका लागि जेल चलान भएका छन् ।

बैशाख २ गते पक्रिएका उनीहरूलाई जेठ २५ गतेमात्र मुद्दा अदालतमा पेश भई आदेश दिएको हो

बेसीशहर– लमजुङमा लागूऔषध सहित श्रीमान/श्रीमती पक्राउ परेका छन् । २६ वर्षिया श्रीमती गर्भवती भएका कारण धरौटी लिएर अदालतले तारखेमा छाडेको छ भने ३० वर्षीेय श्रीमान् पुर्पक्षका लागि कारागारमा जेठ २५ गते चलान भएका छन् ।
उनीहरू नवलपुरको देवचुली नगरपालिका १६ घर भइ हाल सुन्दरबजार नगरपालिका– ९ भोटेओडार बस्ने वर्ष ३० का मौलादिन मिया र उनकी श्रीमती २६ वर्षिया जमिला मिया हुन् । खानतलासी गर्दा उनीहरूसंग लागूऔषध फेला परेको प्रहरी भनाइ छ । उनीहरू बैशाख २ गते पक्रिएका थिए । तर हेरोइन हो होइन भन्ने ल्यावको रिपोर्ट आउन ढिला भएका कारण मुद्दा बुझाउन ढिला भएको प्रहरी भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरी टोलीले औषध (ब्राउन सुगर) र डाइजेपाम सहित श्रीमान/श्रीमतीलाई पक्राउ गरेको थियो । उनीहरू बीरगञ्जबाट लमजुङ सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको रात्री बसबाट लमजुङ आएका थिए ।
बीरगञ्जबाट आउँदै गरेको रात्रीबसबाट बैशाख २ गते विहान साँढे ५ बजेको समयमा ओर्लिएर घर जाने क्रममा खानतलासी गर्दा जमिला मियाले लगाएको ब्रा भित्र लुकाई छिपाई ल्याएको छ पोका लागूऔषध खैरो हिरोइन २.०३ ग्राम, लागूऔषध डाइजापाम एम्पुल– २३ थान, फेनेरागन एम्पुल– २३ थान, नोफिन एम्पुल– २१ थान र नाइट्रजेपाम ट्याबलेट– ६९ थान सहित श्रीमान/श्रीमती पक्राउ परेका थिए । पक्राउ परेका श्रीमान/श्रीमतीलाई जेठ २५ गते जिल्ला अदालतले गरेको फैसला अनुसार मौलादिन मिया पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो । उहाँका अनुसार जमिला मियालाई ३५ हजार रुपैयाँ धरौटीमा तारेखमा छोडिएको छ । उहाँले भन्नुभयो, ‘कानुन अनुसार ७ महिना पछिका गर्भवतीलाई थुनामा राख्न नमिल्ने भएको कारणले अदालतले सो रकम धरौटी लिएर जमिला मियालाई तारेखमा छाडेको हो ।’ श्रीमानलाई थुनामा राखेर र श्रीमतीलाई तारेखमा राखेर अनुसन्धान अघि बढाएको रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘खैरो हिरोइन यति ठूलो परिणाममा फेला परेको यो वर्ष पहिलो पटक हो । यो हिरोइन हो कि होइन भनेर परीक्षण रिपोर्ट आउन ढिला भएको हुँदा श्रीमान्लाई हिरासतमा र महिलालाई बाहिर राखेर अनुसन्धान कार्य भइरहेको थियो, हिरोइन भन्ने पुष्टि भए पछि मुद्दा अदालतमा पेश भएको हो ।’
उनीहरूलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को बमोजिम लागू औषध ओसारपसार तथा बिक्री बितरणतर्फ सजाय हुने गरी अभियोग पत्र पेश भएको थियो । उल्लेखित कसुरमा प्रतिवादीहरूलाई ५ बर्षदेखि २० बर्षसम्म सजाय र पाँच हजारदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको कानुनव्यवसायीहरू बताउँछन् ।

प्रकाशित मिति २०८० जेष्ठ २८, आईतवार ०८:३६ गते

हजुरको प्रतिक्रिया