पालिकाको नीति, कार्यक्रम र बजेट बनाउन विज्ञकासाथ मर्स्याङ्दी गाउँपालिका

पालिकाको नीति, कार्यक्रम र बजेट बनाउन विज्ञकासाथ मर्स्याङ्दी गाउँपालिका

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ २९ गते सोमबार ०७:४०

सो प्रयोजनका लागि गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको नेतृत्वमा काठमाडौं आएको टोलीले नीति तथा कार्यक्रम र बजेट सम्बन्धि छलफलका साथ सुझाव संकलन गरेको हो ।

कृषि, जलस्रोत र पर्यटन क्षेत्रका योजनामा जोड दिन सुझाव प्राप्त 

काठमाडौं– मर्स्याङ्दी गाउँपालिका आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट निर्माणमा युद्धस्तरमा जुटिरहेको छ । सो क्रममा पालिकाले काठमाडौंमा रहनु भएका पालिकाका प्रबुद्ध ब्यक्तिहरूसंग एक कार्यक्रमका बीच जेठ २७ गते सुझाव संकलन गरेको छ ।
छलफल तथा सुझाव संकलन कार्यक्रममा सहभागी मर्स्याङ्दीबासी प्रबुद्व व्यक्तिहरूले उत्पादन र रोजगारलाई प्राथमिकतामा राखेर कृषि, जलस्रोत र पर्यटन क्षेत्रका योजनामा जोड दिन आग्रह गरेका छन् । कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका स्थायी बसोबास भई हाल काठमाडौं विभिन्न पेशा व्यवसाय गर्नुहुने स्थापित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको अध्यक्षता मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गर्नु भएको थियो ।
सो अवसरमा पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, संविधानसभा सदस्य एवम् एमालेका केन्द्रीय सदस्य जमीन्द्रमान घले, मेजर गोपाल गुरुङ, राप्रपा केन्द्रीय सदस्य एवं पूर्वजिविस सभापति हेमजंग गुरूङ, डा. देवीप्रसाद सुवेदी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्राध्यापक डा. डीलबहादुर गुरुङ, डा. शान्तिकला सुवेदी, डा. रामकुमार भण्डारी, डा. हेमनाथ घिमिरे, कृषि विज्ञ रमेशचन्द्र सुवेदीलगायतका व्यक्तित्वहरूबाट सुझाव प्राप्त भएको थियो ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सिलिङबारे जानकारी गराउँदै कृषि, पर्यटन र रोजगारीलाई जोड्ने गरी योजना बनाउने तयारीमा रहेको जानकारी दिनुभएको थियो ।
सो प्रयोजनका लागि गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको नेतृत्वमा गएको टोलीले नीति तथा कार्यक्रम र बजेट सम्बन्धि छलफलका साथ सुझाव संकलन गरेको हो । गाउँपालिकालाई समृद्ध बनाउन के कस्ता योजना कार्यन्वयनमा ल्याउने, निती तथा कार्यक्रमहरुका लागि सुझाव तथा अन्य पुर्वाधार निर्माणका लागि के कसरी अघि बढ्न सकिन्छ भन्ने उद्देश्यले विभिन्न क्षेत्रमा लामो अनुभव लिएका व्यक्तीत्वहरूसँग परामर्श लिएको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।
कार्यक्रममा उपस्थितले मर्स्याङ्दी गाउँपालिकाको भौगोलिक हिसावलाई दृष्टिगत गरी नीति तथा कार्यक्रम निर्माण गरिनु पर्नेमा जोड दिएका छन् । उनीहरुले कृषि र पर्यटनबाट गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने खालका कार्यक्रम अल्पकालीन र दीर्घकालीन नीति बनाउन, योजना ल्याउन सुझाव दिएका छन् ।
उनीहरुले गाउँपालिकामा अब थप नयाँ सडकको लागि ट्याक खोल्नु भन्दा पनि भइरहेका सडकहरुको स्तरोन्नति गर्र्दै कालोपत्रे गर्नु पर्नेमा जोड दिएका थिए । उहाँहरूले उत्तरी लमजुङको सडक निर्माणमा भइरहेको ढिलाई प्रति चिन्ता व्यक्त गर्दै त्यसको प्रगतिका बारेसमेत चासो व्यक्त गर्नुभयो । यस्तै, स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्न पनि सुझाव प्राप्त भएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो ।
उहाँका अनुसार समृद्ध गाउँपालिका बनाउन विषयविज्ञको सुझाव, स्थानीय नागरिकहरूको माग र आवश्यकताको आधारमा आर्थिक वर्ष ०८०/८१ का लागि कार्यनीति तयार गर्ने सोच छ । उहाँले भन्नुभयो, ‘आगामी आर्थिक वर्षका लागि विषय विज्ञको सुझावसँगै पालिका भित्र वडा तथा टोलहरूमा समेत आम नागरिकको सुझाव लिने काम भइरहेको छ ।’
स्थानीय तहको बजेट विनियोजन सम्बन्धित कानून अनुसार हरेक वर्ष असार १० गते भित्र अनिवार्य बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
प्रकाशित मिति २०८० जेष्ठ २९, सोमबार ०७:४० गते
हजुरको प्रतिक्रिया