मौसम पूर्वानुमान : यो वर्ष मनसुनमा साढे १२ लाख नागरिक प्रभावित हुने आंकलन

मौसम पूर्वानुमान : यो वर्ष मनसुनमा साढे १२ लाख नागरिक प्रभावित हुने आंकलन

एजेन्सी

@antaranganews

२०८० जेठ २९ गते सोमबार १०:१६

हालसम्म एक लाख ४२२ जना स्वयंसेवक सूचीकृत भएका छन् । बढी प्रभावित हुने २२ जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर मानिएको उल्लेख छ ।

विपद् पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान

काठमाडौं– कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल देशको मौसमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जेठ २९ गते बताइएको छ । त्यस्तै यो वर्ष मनसुनमा साढे १२ लाख नागरिक प्रभावित हुने आंकलन गरिएको बताइन्छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको सभाहलमा बसेको बैठकले कार्ययोजना स्वीकृत गर्दै साढे १२ लाख नागरिक प्रभावित हुने आंकलन गरेको हो ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गर्ने सम्भावना रहेको बताउनु भयो । नेपालमा मनसुन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ ।
अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यो वर्ष मनसुनमा साढे १२ लाख नागरिक प्रभावित हुने आंकलन :
यो वर्षको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने बताइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना– २०८० स्वीकृत गरेको छ । समितिको १८ औं बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना– २०८० पनि स्वीकृत गरेको हो ।
सामान्यतः नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ । तर, यो वर्ष केही ढिलो हुने मौसमविद्हरूले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षको मनसुनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ ।
राष्ट्रिय विपद जोखिम न्यनूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा नोपलभर १२ लाख ५० हजार नागरिक प्रभावित हुने बताएको हो । गण्डकी प्रदेशमा ६९ हजार ७४४ जना प्रभावित हुने आंकलन छ । त्यस्तै, वाग्मतीमा ९६ हजार ८५८, लुम्बिनी प्रदेशमा एक लाख ९९ हजार ८६२ जना प्रभावित हुने भएका छन् भने कोशी प्रदेशमा तीन लाख एक हजार १४३, मधेस प्रदेशमा चार लाख तीन हजार १८०, कर्णाली प्रदेशमा ३५ हजार ३३३, सुदूरपश्चिम प्रदेशमा ४७ हजार ६० नागरिक मनसुनबाट प्रभावित हुने सम्भावना रहेको प्राधिकरणले उल्लेख गरेको छ ।
स्वीकृत कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाहरूको जिम्मेवारीका साथै खोज, उद्दार तथा राहत सामग्रीहरूको मौज्दातको विवरण समेटिएको छ ।
यो वर्षको जेठ १८ देखि असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले स्पष्ट पारेको छ । यद्यपि, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानअनुसार फरक रहेको विभागको भनाइ छ ।
त्यसैगरी बारम्बार बाढीबाट प्रभावित हुने २२ जिल्ला सूचिकृत गरिएको छ । ती हुन् झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर ।
विपद् पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्सहरू खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक– एकवटा रहने व्यवस्था गरिएको बताइएको छ ।
स्वयंसेवक प्रणालीमा हालसम्म एक लाख ४२२ जना स्वयंसेवक सूचीकृत भइसकेको प्राधिकरणले जनाएको छ । भण्डारण गरिएका आपतकालीन उपकरण र सामग्रीको जानकारी उपलब्ध हुने गोदाम स्रोत व्यवस्थापन प्रणाली र खोज तथा उद्दारमा संलग्न हुने स्वयंसेवकहरूको विवरण उपलब्ध हुने स्वयंसेवक व्यवस्थापन प्रणाली पनि बनाइएको छ ।
बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गरी विपद् जोखिम न्यूनीकरण गर्नतिर ध्यान दिन र विगत वर्षहरूका कमजोरी तथा असावधानी पुनरावृति हुन नदिई कार्ययोजनाको ठोस कार्यान्वयन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुनमा देशैभरी कम पानी पर्ने प्रक्षेपण गरिएको छ । सरदरभन्दा कम पानी पर्ने भएकोले विगत भन्दा न्यून तापक्रम हुने अनुमान पनि गरिएको छ ।

प्रकाशित मिति २०८० जेष्ठ २९, सोमबार १०:१६ गते
हजुरको प्रतिक्रिया