कवि जितालीमा शुभ जन्म दिनको शुभकामना !

कवि जितालीमा शुभ जन्म दिनको शुभकामना  !

कल्पना अधिकारी

@antaranganews

२०८० जेठ २९ गते सोमबार ०३:४७

हान्छन् वाण असत्य माथि दरिलो ताकेर सम्बन्धित ।
खुल्छन् फेरि ‘वसुन्धरा’ मय बनी यी काव्यका पण्डित ।।
नेपाली छहरा छ बर्सिरहने छत्तीस आधारमा ।
झार्छन् आँसु बरर्र बर्बर गरी जो काव्यको पाठमा ।।

ऊर्जाशील बनी कला छरिरहून् कल्पौँ जिताली कवि

आयो वार्षिक जन्म उत्सव घुमी साहित्यको आँगन ।
श्रोता, पाठक गर्दछौं यस घडी सुस्वास्थ्यको कामना ।।
हाम्रो माझ सँधै उषा बनिरहून् छन्द– प्रभा भारवि ।
ऊर्जाशील बनी कला छरिरहून् कल्पौँ जिताली कवि ।१।

तान्छन् चुम्बक झैँ सुटुक्क नजिकै हर्छन् फलामे मन ।
बग्छ्न् सुन्दर भावना सलसली छन् शिल्पकारी बम ।।
भन्छन् झुक्छ लचक्क वृक्ष फलको डाली फुलेका पल ।
त्यस्तै देख्छु कवित्व भाव बमको शालीनता निर्मल ।२।

हान्छन् व्यङ्ग्य तिखा सबै विकृतिमा छन् शिष्ट शब्दावली ।
छैनन् कृत्रिम भाव काव्य कृतिमा, छन् स्वादु वाक्यावली ।
भर्दै काव्यिक चारु विम्ब कृतिमा बस्छन् रमाई कवि ।
यी गङ्गा सरि बग्दछन् गहिरिंदै बेग्लै छ नौलो छवि ।।३।।

जापानी लय छन्दमा लहरिने खाटी कला शुद्धता
बस्छन् बास अनन्तसम्म मनका आँखा बनी बुद्धका ।।
लेखे पुस्तक लेखनाथ कविका ’ओैचित्यका नीतिका’
राख्छन् नाम अचम्मका रहरिला ‘धोती न टोपी’ अहा ।।४।।

हान्छन् वाण असत्य माथि दरिलो ताकेर सम्बन्धित ।
खुल्छन् फेरि ‘वसुन्धरा’ मय बनी यी काव्यका पण्डित ।।
नेपाली छहरा छ बर्सिरहने छत्तीस आधारमा ।
झार्छन् आँसु बरर्र बर्बर गरी जो काव्यको पाठमा ।।५।।

भाषा भेष छ स्वादिलो रहरिलो छन् राष्ट्र गाना गुणी।
यी डाँफे र मुनालका सँगसँगै नाच्छन् छहारी मुनि ।।
सच्चा साधक हुन् र सज्जन खुबै लाग्छन् बडा माहिर ।
माटाको ममता भरेर दिलमा बोल्छन् खुली बाहिर ।। ६।।

सादा जीवन उच्च सोच गहिरो आरोग्य होस् देहमा ।
लक्ष्मी बास गरून् सदैव सुखमा ऐश्वर्य होस् गेहमा ।।
लेखून् काव्य अझै मनोरम सधैं फुर्दै रहोस् कल्पना ।
अर्पें यो शुभकामना विनयले राखेर न्यानोपन ।।७।।

(छन्दः शार्दूल– विक्रीडित)

प्रकाशित मिति २०८० जेष्ठ २९, सोमबार १५:४७ गते
हजुरको प्रतिक्रिया