
दुराडाँडा– लमजुङको ऐतिहासिक थलो दुराडाँडामा माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगिता गरिएको छ । दुराडाँडा कला साहित्य प्रतिष्ठानको आयोजनामा पाणिनी संस्कृत माविको हातामा पांँचौ विद्यालयस्तरीय कविता प्रतियोगिता जेठ २६ गते सम्पन्न भएको हो ।
शैक्षिक एवम् सामाजिक व्यक्तित्व जगन्नाथ न्यौपानेको प्रमुख आतिथ्यता तथा समाजसेवी पूर्णभद्र न्यौपानेको कार्यक्रममा बिशेष अतिथि रहनुभएको थियो । प्रमुख अतिथि जगन्नाथ न्यौपानेले कार्यक्रमको उदघाटन गर्नु हुँदै कला साहित्यको संरक्षणमा लाग्नु राम्रो कार्य हो भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिएमा विद्यार्थीमा उत्प्रेरणा जागृत भइरहने बताउनुभयो ।
उक्त प्रतियोगितामा १२ जना विद्यार्थी प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले कविता छन्दमा लेख्ने प्रयास गरेका थिए ।
सो अवसरमा संस्थाका केही आजीवन सदस्यलाई सम्मानपत्र वितरण गरिएको थियो । सम्मानपत्र पाउनेहरूमा ठाकुरप्रसाद तिमिल्सिना, ईश्वरी अधिकारी, सीता मजाकोटी आदि हुनुहुन्छ ।
कार्यक्रममा प्रधानाध्यापक बाबुराम अधिकारी, गुरु शुभाकर खतिवडा, प्रतिष्ठानकी सदस्य ईश्वरी अधिकारीलगायतले छन्द कविता बाचन गर्नु भयो । कलाकारहरू कमला दुरा, शिवराज कोइराला लगायतले लोक गीत गाएर मनोरञ्जन प्रदान गर्नुभयो ।
संस्थापक उपाध्यक्ष ईश्वरी सिलवाल घिमिरे, संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी, सोही विद्यालय गुरुकुल आश्रमका अध्यक्ष पुष्पराज अधिकारी, संस्था सदस्य कमला दुरा, शिवराज कोइराला लगायतका अन्य गुरु वर्गको सहाभागिता थियो ।
निर्णायक मण्डलमा आश्रमका अध्यक्ष तथा प्रतिष्ठान संस्थापक पुष्पराज अधिकारी, श्रीप्रसाद अधिकारी र शिवराज कोइराला हुनुहुन्थ्यो । सो अवसरमा संस्थाको साधारण सभा लगायतका अन्य कार्यक्रम गर्दै आएको दुराडाँडा कला साहित्य प्रतिष्ठानका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । सो पांँचौ कविता प्रतियोगितामा सर्वोदय मा.वि.का छात्र मनोज महतो पहिलो, संस्कृतिसदन मा.वि.की छात्रा सुजिना भुजेल दोस्रो तथा संस्कृति सदन माविकै विराज बिक तृतीय भएका थिए । त्यस्तै, पाणिनी संस्कृत माध्यमिक विद्यालयका प्रेमराज भट्टले सान्त्वना स्थान हासिल गरे ।
सो अवसरमा पहिलो हुने सर्वोदय मा.वि.का छात्र मनोज महतोले लमजुङको परिवेश शीर्षकको कविता, दोस्रो हुने संस्कृति सदन मा वि. अर्चल्यानीको कक्षा– ८ मा अध्ययनरत छात्रा सुजिना भुजेलले स्व. ठाकुरप्रसाद छाँगा शीर्षकमा कविता र सोही विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र विराज वि.क.ले लोकगायक राजु परियार शीर्षकमा कविता लेखन र वाचन गरी तृतीय स्थान पुरस्कार प्राप्त गर्न सफल भएको निर्णायक समितिका पुष्पराज अधिकारीले बताउनु भयो ।
विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवम् विशेष अतिथि द्वय न्यौपाने, संस्थाका अध्यक्ष घिमिरेलगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नु भएको थियो । बिजेता प्रतियोगीहरूलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र घिमिरे तरङ्गीको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । अध्यक्ष घिमिरेले धन्यवाद मन्तव्य सहित कार्यक्रम बिसर्जन गर्नु भएको थियो । उक्त कार्यक्रममा कलाकार शिव कोइरालाले स्वागत तथा सञ्चालन संस्थाका कोषाध्यक्ष सूर्यकान्त घिमिरेले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० जेष्ठ २९, सोमबार २१:५२ गते