काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्ररकणमा काठमाडौँ जिल्ला अदालतमा चलिरहेको प्रतिवादी बहसका क्रममा बालकृष्ण खाणको सुरु भएको छ । वकिल पंकज कर्णले जेठ ३० गते बहस सुरु गर्नु भएको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तत्कालीन गृहमन्त्री समेत रहेका खाणले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने नाममा १ करोड २४ लाख नगद बुझेको अभियोग छ ।
खाणविरुद्धको अभियोग पत्रमा केशवप्रसाद दुलालले खाणलाई एक करोड २४ लाख ५० हजार रुपैयाँ नगदै बुझेको र त्यसपछि लगत्तै कार्यदेश समेत थप गरी समितिको म्याद थप गरेको उल्लेख छ । त्यस्तै दुलालले रकम दिने, गिफ्ट दिने, भेट्ने लगायतका संवादहरूबाट खाण समेत आपराधिक समूहमा संलग्नता रहेको पुष्टि भएको उल्लेख छ ।
खाणले मन्त्रिपरिषद्मा प्रस्ताव नै नगरी पीडितहरूलाई विश्वासमा पार्न छुट्टै समिति बनाएर भुटानी शरणार्थी समस्या स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले तयार पारेको अभियोग छ । अनुसन्धानका क्रममा मन्त्री खाणले सचिवस्तरीय निर्णयबाट जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाई छुट भएका शरणार्थीको विवरण पुनः भेरिफाई गर्न पेस गर्ने समेतको कार्यदेश दिएको खुलेको छ ।
पक्राउ पर्नुभन्दा अघि खाणले आफ्नो निजी मोबाइल विवरणहरू मेटाउने उद्देश्यले नै फ्याक्ट्री रिसेट गरेको निष्कर्ष निकालिएको छ ।
यता तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पक्राउ परेपछि हिरासतबाटै खाणलाई कसुरबाट जोगाउनका लागि प्रधानमन्त्री समेतलाई भनेर आफू उपरको अनुसन्धान प्रक्रिया अगाडि नबढाउन दबाब दिनुपर्ने तथा केशवप्रसाद दुलाल र सानु भण्डारीले दिएको रकम फिर्ता गरी आफ्नो नाम नलिने गरी इन्कारी बयान गर्न लगाउनु भन्ने लिखित सूचनाहरू दिएका थिए ।
सो लिखित सूचना खाण र निजी स्वकीय सचिव नरेन्द्र केसीको साथबाट बरामद भएको थियो । उक्त लिखित सूचना परीक्षणका लागि पठाउँदा पाण्डेले नै लेखेको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ ।
शरणार्थी नेता रिजालद्वारा हिरासतमा प्रहरी व्यवहारप्रति असन्तुष्ट, न्यायाधीशबाट डीएसपीलाई भने– फेरि गुनासो आए राम्रो हुँदैन ! भन्ने चेतावनी दिनु भएको छ ।
यसैबीच, भुटानी शरणार्थी नेता टेकनाथ रिजालले हिरासतमा प्रहरीले ‘अमानवीय व्यवहार’ गरेको भन्दै इजलासमा गुनासो गर्नु भएको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा शरणार्थी नेता रिजालले ‘व्यवहार राम्रो नभएको’ गुनासो गर्नु भएको हो । थुनछेक बहस सुरु हुनुअघि न्यायाधीश न्यौपानेले जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी पवन भट्टराईलाई बोलाएर त्यसबारे ‘सचेत’ गराउनु भएको छ । न्यायाधीश न्यौपानेले डीएसपी भट्टराईलाई सोधे, ‘उहाँहरूबाट हिरासतमा नमाज पढ्न पाइएन र मानवीय व्यवहार नभएको गुनासो आयो, के हो ? डीएसपी सा’प ?’
डीएसपी भट्टराईले जवाफ दिए, ‘हामीले मानवीय व्यवहार गरेका छौँ श्रीमान् ।’
नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले हिरासतमा नमाज पढ्न नपाएको गुनासो गरेका छन् ।
न्यायाधीश न्यौपानेले प्रतिवादीहरू पनि हामीजस्तै मानव हुन् भन्दै डीएसपी भट्टराईलाई भने, ‘मानवीय व्यवहार गर्नुस् ।’
त्यसपछि शरणार्थी नेता टेकनाथ रिजाल उठेर लयर्स पोडियम नजिकै गए । रिजालले भने, ‘त्यस्तोलाई मानवीय व्यवहार भनिँदैन, अन्य कैदीसँग राखिएको छ ।’ रिजालले डीएसपीसँग कड्किँदै भने–‘मैले के अपराध गरेको छु, प्रमाण पाउँ ?’
न्यायाधीश न्यौपानेले रिजाललाई बस्न आग्रह गरेपछि उनी आफ्नो सिटमा बसे ।
न्यायाधीश न्यौपानेले डीएसपीलाई चेतावनी दिँदै भन्नुभयो, ‘अब गुनासो आयो भने त्यो राम्रो हुँदैन ।’
प्रकाशित मिति २०८० जेष्ठ ३०, मंगलवार १४:३२ गते