काठमाडौं– नागरिकता माग गर्दै माइतीघरमा धर्ना बसेका एक युवकले आत्मदाहको प्रयास गरेका छन् । आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेको प्रहरीले जेठ ३० गते जनाएको छ ।
७ दिनदेखि धर्नामा बसेका २५ वर्षीय निरज कामतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
१८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकताका लागि आन्दोलनरत छन् । उनका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए ।
सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकता विहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । सोही क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताउनु भयो । उहाँका अनुसार आफैंलाई पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका थिए । उहाँले भन्नुभयो, ‘पेट्रोल खन्याउँदा खन्याउँदै प्रहरीले रोकेको हो, अहिले उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।’
‘युवकको अवस्था समान्य छ, नजिकै प्रहरी भएकाले तत्काल रोक्न सक्यौं’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनु भयो । उहाँका अनुसार उनको स्वास्थ्य परीक्षणको लागि ट्रमा सेन्टर लगिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिटमाथि आज पेशी थियो तर हेर्न नभ्याइने भएपछि उनले उक्त कदम चालेको बताइएको छ ।
कामतले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए तर उनले शरीरमा आगो लगाउन पाएनन् । कामतले शरीरमा पेट्रोल खन्याएको थाहा पाएपछि प्रहरीले तत्काल उनलाई उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले बताउनु भयो ।
प्रकाशित मिति २०८० जेष्ठ ३०, मंगलवार १९:५७ गते