काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ । आज बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र लगिएको थियो ।
उहाँको मुटु लगायत स्वास्थ्य उपचारको लागि अस्पताल लगिएको राष्ट्रपति कार्यालय स्रोतको भनाइ छ । जेठ ३० गते बिहान ११ बजे उहाँलाई बाँसबारीस्थित गंगालाल अस्पतालमा लगिएको स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘उहाँ अहिले अस्पतालमै हुनुहुन्छ । मुटु लगायत स्वास्थ्य परीक्षण गर्नको लागि हो ।’
अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको छ । ‘श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि अस्पताल आउनुभएको थियो’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उहाँलाई मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) भएको हो ।’
उनका अनुसार राष्ट्रपतिको मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ । पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुने लगायत समस्या भएपछि अस्पताल लगिएको हो । ‘यस्तो स–साना हृदयघातले कुनै दिन ठूलो समस्या निम्त्याउँछ’ ती चिकित्सकले भने, ‘समयमै अस्पताल आइपुग्नुभएकाले एनजिओप्लास्टी गरेर रक्तनली खोलेका छौं ।’ उनका अनुसार एनजिओप्लास्टी गरेपछि मुटुले कस्तो काम गर्छ भनेर दुई दिन हेर्नुपर्ने हुन्छ ।
अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राष्ट्रपति पौडेलको शल्यक्रिया गरेको थियो । तर अस्पताल भर्ना भएका राष्ट्रपतिको विषयमा उनको सचिवालयले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य बारेमा अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले उहाँको अवस्था सामान्य रहेको र भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको छ ।’
उहाँ वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि नेपाल फर्किनु भएको हो । उपचारका लागि उहाँ वैशाख ६ गते नयाँ दिल्ली पुग्नु भएको थियो ।
काँग्रेस सभापति देउवा उपचारका लागि आजै सिंगापुर जाने :
उता, पछिल्लो एक दशकदेखि सिंगापुरमा उपचार गराउँदै आउनु भएका नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा राति ‘फलोअप’का लागि आजै सिंगापुर जाने हुनु भएको छ । पूर्व प्रधानमन्त्री देउवा आजै राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत सिंगापुर जानु हुने भएको हो ।
देउवालाई २–२ वर्षमा ‘फलोअप’मा जानुपर्ने हुन्छ देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताउनु भयो । उहाँका अनुसार ०७८ असारमा प्रधानमन्त्री बनेपछि व्यस्तताका कारण ‘फलोअप’का लागि देउवा सिंगापुर जाने परिस्थिति बनेको थिएन ।
भानुले भन्नुभयो, ‘पार्टीको १४ औं महाधिवेशन र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका कारण ‘फलोअप’ रोकिएको थियो ।’ देउवाले २०७० यता सिंगापुरको माउण्ट एलिजावेथ हस्पिटलमा उपचार गराउँदै आएका छन् । उहाँले थप भन्नुभयो ‘करिब डेढ दशक अघि वीर अस्पताल र टिचिङमा धेरै उपचार गराउनु भयो । टिचिङमा मधु घिमिरेले हेर्नु भएको थियो, रोग नै पत्ता लागेन । पछि सिंगापुरमा उपचार गराउँदा पेटमा समस्या देखिएको हो ।’
यसअघि देउवा २०७३ भदौ १० गते र २०७५ साउन २३ मा पनि देउवा उपचारका लागि सिंगापुर जानु भएको थियो । त्यसपछि २०७६ को जेठ ९ गते देउवा पुनः सिंगापुर पुगेर स्वास्थ्य जाँच एवम् उपचार गर्नु भएको थियो । चार वर्षपछि देउवा दम्पतीको सिंगापुरमा उपचार हुने भएको हो । उहाँलाई सहयोग गर्न देउवा पत्नी आरजु राणा हिजै सिंगापुर पुगी सक्नु भएको छ ।
पूर्व प्रधानमन्त्री देउवा आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत सिंगापुर जानु हुने भएको र साथ म समेत जादैछु । भानुले भन्नुभयो, ‘मेडम (आरजु) हिजो नै गइसक्नु भएको छ । आज हामी जाँदैछौं ।’
देउवाले सामान्य डोजको प्रेसर सम्बन्धी औषधिमात्र सेवन गर्ने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका चिकित्सक रहेका डा. शैल रुपाखेतीले बताउनु भयो । उहाँका अनुसार अन्य कुनै रोगको औषधि सेवन गर्नु परेको छैन ।
स्मरणीय छ, राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्नेमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्मको सूची लामै भेटिन्छ । तर पाँच पटक मुलुकको प्रधानमन्त्री भएका देउवा भने अपवाद देखिएका छन् । सरकारको रेकर्डमा देउवाले उपचार खर्चको नाममा अहिलेसम्म कुनै सुविधा लिएको देखिएको छैन ।
प्रकाशित मिति २०८० जेष्ठ ३०, मंगलवार २१:२१ गते