जिल्ला अस्पतालप्रतिको भ्रम चिर्न पत्रकार सम्मेलन

जिल्ला अस्पतालप्रतिको भ्रम चिर्न पत्रकार सम्मेलन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ ३२ गते बिहिबार ०८:१७

जिल्ला अस्पताललाई पेपरलेस बनाउने, शैक्षिक केन्द्रका रुपमा समेत विकास गरिने, आइसियू कक्षको सञ्चालन, ब्लडबैंक स्थापना, विरामीलाई चिकित्सकीय निगरानीमा उपचार प्रवन्ध, शव बहानको प्रवन्ध र शवगृहको स्तरोन्नति जस्ता कार्य गरिने भएको बताउनु भयो । उहाँले उक्त अस्पतालमा आँखा अस्पताल सञ्चालनको योजना रहेको दाँतको विशेषज्ञसहितको सेवा उपलब्ध गराउने तयारी रहेको, अबको ५० वर्षसम्मका लागि आवश्यक भौतिक संरचना निर्माणको योजना तथा जनशक्तिको प्रवन्ध गर्नेतर्फ योजनावद्ध रुपमा काम गरी १०– २० वर्षे योजना र समेत बनाउने लागिएको जानकारी दिइएको थियो ।

कमजोरी सच्याउने प्रतिवद्धता

बेसीशहर– लमजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिले अस्पतालका प्रति फैलाइएका भ्रमहरू चिर्ने प्रयास पत्रकार सम्मेलनमार्फत गरेको छ । आफ्नै सभाहलमा पत्रकार भेटघाट कार्यक्रम राखेर सो समितिले अस्पताल प्रदेश सरकार मातहत आएको मितिदेखि आजका दिनसम्म गरेका प्रगतिका बारेमा प्रकाश पार्ने र अनर्गल प्रचारहरूलाई चिर्ने प्रयास अस्पतालको व्यवस्थापन समिति र प्रशासनले जेठ ३१ गते गरेको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङ्ले स्वास्थ्य मानवअधिकारसँग समेत जोडिएको विषय हो र नागरिकलाई स्वास्थ्य सेवा दिनु तीनै तहका सरकारको दायित्व हो भन्नुभयो । उहाँले अबका दिनमा मानिस जन्मने र मर्ने दुवै ठाउँ अस्पताल हो, हुनेछ भन्दै तुलनात्मक रुपमा प्रगति गरेको उल्लेख गर्दै आफ्नो नेतृत्वकालमा भएका प्रगति र भोलिका दिनका लागि देखिएको सपना समेत सुनाउनु भएको थियो । उहाँले जिल्ला अस्पताललाई पेपरलेस बनाउने, शैक्षिक केन्द्रका रुपमा समेत विकास गरिने, आइसियू कक्षको सञ्चालन, ब्लडबैंक स्थापना, विरामीलाई चिकित्सकीय निगरानीमा उपचार प्रवन्ध, शव बहानको प्रवन्ध र शवगृहको स्तरोन्नति जस्ता कार्य गरिने भएको बताउनु भयो । उहाँले उक्त अस्पतालमा आँखा अस्पताल सञ्चालनको योजना रहेको दाँतको विशेषज्ञसहितको सेवा उपलब्ध गराउने तयारी रहेको अबको ५० वर्षसम्मका लागि आवश्यक भौतिक संरचना र जनशक्तिको प्रवन्ध गर्नेतर्फ योजनावद्ध रुपमा काम गरी १०– २० वर्षे योजना र समेत बनाउने लागिएको जानकारी दिनुभयो ।
उहाँले यसअघिको तुलनामा सेवा सुविधा कम छ वा भयो भन्ने भ्रम र दुष्प्रचार मात्र हो भन्ने दावी गर्दै आफू विहानदेखि साँझसम्म अस्पतालमै खट्ने गरेको बताउनु भयो । उहाँले निःशुल्क पाउने औषधि स्थानीय तहहरूले स्वास्थ्य चौकीमार्फत वितरण गर्ने हुँदा यहाँबाट दिन सकिएको छैन तर पनि आउँदो आवमा केही गर्न सकिन्छ कि भनेर प्रयास भएको छ भन्नुभयो । उहाँले यसअघिको व्यवस्थापनको तुलनामा निःशुल्क औषधि वितरण र पाँच वर्ष मुनीका बालबालिकाको निःशुल्क सेवा गर्न नसकिएको बाहेकमा यसअघि उपलब्ध सेवाभन्दा कुनैमा कमी नभएको दावी गर्नु भयो ।
जिल्ला अस्पतालको प्रमुख(मेसु)का रुपमा डा. रमेशप्रसाद आचार्यले २२ वर्षसम्म एक गैससमार्फत सञ्चालनमा रहेको उक्त अस्पताल गत कार्तिक ३ गतेदेखि उक्त अस्पताल गण्डकी प्रदेश सरकार मातहत आएको जानकारी दिदै सोही महिनाको १५ गतेबाट पद बहाल गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नयाँ व्यवस्थापनले पूर्ण रुपमा माघदेखि मात्र काम गर्न थालेको हो ।’ त्यस अघिको सेवाको अवस्था र त्यसपछिका सेवाको संख्या शल्यक्रिया सहितको फेहरिस्त अस्पताल प्रमुखका हैसियतले आचार्यले प्रस्तुत गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘यो तथ्यांकले पनि बोल्छ कि हामी के कति काम गर्न प्रयासरत छौं !’
बाहिर फैलाइएका भ्रमका बारेमा ‘आलोचना हुनुले फिडव्याम हुने र त्यो रुपमा आफूहरूले लिएको बताउँदै उहाँले आम रुपमा र गोलमटोल शब्दमा नभई ठ्याक्कै यो ठाउँमा, यो सेवा, यो दिनको यो क्षणमा यस्तो भयो ?’ भनेर आएमा तत्कालै सम्बोधन गरिने’ उहाँको दृढोक्ति थियो । उहाँले अस्पताल ५० बेडेको अस्थायी स्विकृतिमा काम गरिरहेको भएता पनि ८० बेडको सेवा सञ्चालन गरेको, ६९ जनाको दरबन्दी भए पनि स्थायी कर्मचारीमात्र दुई जना रहेको र अन्यलाई करारमा राखेर कुल ११८ जना कार्यरत रहेको जानकारी दिनुभयो । उहाँले प्रदेशस्तरमा निजामति किताबखाना स्थापना भइनसकेका कारण यो अस्पताल प्रदेश अन्तरगतको भएको हुँदा कर्मचारी स्थायी गर्न समस्या भएको जानकारी दिनुभयो । उहाँले अतिरिक्त समय काम गर्ने कर्मचारीका लागि ३० प्रतिशतसम्म थप सुविधा दिने गरिएको समेत बताउनुभयो ।
उहाँले अस्पतालबाट चालु आवमा शल्यक्रियाको सेवा लिने कुल संख्या एक हजार ७८१ जनामध्ये जटिल ५४९ जना, मध्यम १३५ जना र बाँकीले साधारण शल्यक्रिया सेवा लिएको जानकारी दिनुभयो ।
खुशीको कुरा सुनाउँदै अस्पताल डिजिटल सेवामा प्रवेश गरेको र कल्चर सेवा पनि यही सातामा सञ्चालनमा आउने भएको मेसु आचार्यले उल्लेख गर्नु भयो । उहाँले अस्पतालको विद्युतीय सेवालाई भरपर्दो बनाउने छुट्टै ट्रान्सफरमर राख्ने तयारी गरेको र त्यो आइसकेको जडान गर्न मात्र बाँकी रहेको जानकारी दिनुभयो ।
सो अवसरमा पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडी, पूर्वकेन्द्रीय सदस्य नवीनराज कुइँकेल, जिल्ला अध्यक्ष परेमेश्वर अधिकारी, निवर्तमान अध्यक्ष आश गुरुङ, पूर्वजिल्ला अध्यक्ष कृष्ण केसी, उपाध्यक्ष अनुज अधिकारी, पूर्वजिल्ला सचिव सन्तोष पौडेल लगायतले अस्पतालका कमीकमजोरी औंल्याउँदै सुधारका लागि सुझाव दिनुभएको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सो समितिका सदस्य एवम् पत्रकार वासुदेव थापाले सञ्चालन गर्नु भएको थियो । सो अवसरमा समितिका अर्का सदस्य मोहन थापा पनि सहभागी हुनुुहुन्थ्यो ।

प्रकाशित मिति २०८० जेष्ठ ३२, बिहीबार ०८:१७ गते
हजुरको प्रतिक्रिया