लमजुङ– ठाडोभाका लोककला प्रतिष्ठान नेपालका आजीवन सदस्य एवम् ठाडोभाकाका सर्जक सुवे. सन्तबहादुर गुरुङको स्मृति पुरस्कार स्थापना गरिएको छ । सो पुरस्कारको अक्षयकोषमा दुई लाख दुई हजार रुपैयाँ संकलन भएको प्रतिष्ठानको असार १ गते सम्पन्न बैठकमा घोषणा गरिएको हो ।
बैठकमा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले स्व. गुरुङको स्मृतिमा पुरस्कार स्थापना गर्नुको आवश्यकता, त्यसको महत्व र पुरस्कारले पार्न सक्ने दुरगामी प्रभाव अर्थात उपलब्धीका बारेका प्रकाश पार्नु भएको थियो । अध्यक्ष पहाडीले स्व. गुरुङको अन्तिम संस्कारको समयमा पोखरामा भेला भएका साथीहरूका बीचमा भएको सहमति अनुसार उक्त पुरस्कारको घोषणा गरी सकिएको र अक्षयकोषका लागि प्रतिष्ठानकातर्फबाट ५० हजार रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता अनुसारको रकम समेत जम्मा गरिसकेको जानकारी दिनु भयो ।
उहाँले स्व. गुरुङको परिवार अर्थात दुई छोराबुहारीहरूबाट ५० हजार रुपैयाँ प्राप्त भएको, डडुवा दुर्छा तमु समाजबाट २५ हजार रुपैयाँ प्राप्त भएको उल्लेख गर्नु भयो । यसैगरी, सो पुरस्कार लागि प्रतिष्ठानको समितिकातर्फबाट प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र उपाध्यक्ष सीता दुराले संयुक्त रुपमा २५ हजार रुपैयाँ प्रदान गर्नु भएको जानकारी दिनुभयो । त्यस्तै, प्रतिष्ठानका सल्लाहकारहरू नरेन्द्रराज ढुंगानाले पाँच हजार पाँच सय, सल्लाहकारद्वय जमिन्द्रमान घले र रमेशचन्द्र अधिकारी तथा सहकोषाध्यक्ष भुन्टीमाया तामाङले ५÷५ हजार रुपैयाँ प्रदान गर्नु भएको छ । सो कुल रकम एक लाख ७० हजार रुपैयाँ भएको र समितिका अन्य पदाधिकारी तथा शुभचिन्तक व्यक्तित्वहरूबाट हालसम्म प्राप्त भएको कुल रकम ३२ हजार रुपैयाँ समेत कुल दुई लाख दुई हजार रुपैयाँ संकलन भएको अध्यक्ष पहाडीले बताउनु भयो । उहाँका अनुसार केही रकम थप हुने संकेत आफूले पाएको छु ।
बैठकबाट सो पुरस्कारको नाम– ‘ठाडोभाका– सुवे सन्तबहादुर गुरुङ स्मृति पुरस्कार’ राख्ने, सो पुरस्कारका लागि अक्षयकोषबाट प्राप्त हुने व्याज रकममध्ये ८० प्रतिशत पुरस्कारका लागि र २० प्रतिशत पुरस्कारको अक्षयकोष बृद्धिका लागि खर्चिने नीति तय गरिएको अध्यक्ष पहाडीले उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘यो पुरस्कार ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरण गर्न नयाँ पिढीलाई प्रोत्साहनका लागि स्थापना गरिएको हो । त्यसैले ४० वर्षभन्दा कम उमेरका ठाडोभाकाको उन्नयनमा दत्तचित्त भएर लाग्ने व्यक्तित्वलाई हरेक वर्ष प्रतिष्ठानको स्थापना दिवसमा आयोजना गरिने कार्यक्रममा माघ महिनामा वितरण गरिने छ ।’
सुवे. सन्तबहादुरको गोरखाको चित्रेपोखरीमा आयोजना भएको ठाडोभाका प्रतियोगितामा भाग लिन जाँदा गत बैशाख २१ गते आफ्नो पालोको गीत गाएर पोशाक फेर्न लाग्दा अचानक ढलेर बेहोस हुनु भएपछि आँपपिपल अस्पतालमा उपचारका लागि लग्दा अस्पतालले उहाँको निधन भएको पुष्टि गरेको थियो ।
उक्त बैठकमा आव २०७९/८० मा प्रतिष्ठानबाट सञ्चालन गरिएका कार्यक्रमको समिक्षा गर्नुका साथै, आम्दानी खर्चको प्रस्तुति समेत गरिएको थियो ।
सो अवसरमा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले हाम्रा प्रयासहरू अन्त्यन्तै सराहनीय छन् । ऐले प्रतिष्ठानको नाम स्वदेशमा मात्र नभई विदेशमा समेत चम्किदै छ, काम गर्दा कहिलेकाही भूलचुक हुन्छ त्यस्ता कमीकमजोरी सच्याउँदै अघि बढ्नु पर्छ भन्नु हुँदै वैठकका सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको बैठकको सञ्चालन महासचिव अकल विरही गुरुङले गर्नु भएको थियो । प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’को उपस्थितिमा गरिएको उक्त बैठकमा सहभागी सबै पदाधिकारीहरू तथा सदस्यहरूले आ– आफ्नो विचार व्यक्त गर्दै प्रतिष्ठानलाई अघि बढाउनका लागि थप क्रियाशीलताको आवश्यकता रहेको औंल्याउनु भएको थियो ।
बैठकमा पदाधिकारीहरू तथा सदस्यहरूले उठाएका जिज्ञासाका बारेमा अध्यक्ष पहाडी र कोषाध्यक्ष सीता गुरुङले जवाफ दिनु भएको थियो ।
प्रकाशित मिति २०८० असार २, शनिबार ०५:५३ गते