भोटेओडार(लमजुङ)– लमजुङमा दोस्रो राष्ट्रब्यापी मिनि म्याराथन प्रतियोगिताको आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना दोस्रो राष्ट्रब्यापी मिनि म्याराथन प्रतियोगिता आसर २ गते भएको हो ।
सो प्रतियोगितामा गजेन्द्र राईले पहिलो स्थान हासिल गरेका छन् । प्रतियोगितामा लमजुङ लगायत विभिन्न जिल्लाका ३५ जना धवकहरूले भाग लिएका थिए । सुन्दरबजार नगरपालिका– ९ को भोटेओडार बगैंचामा सञ्चालन गरिएको दोस्रो राष्ट्रब्यापी मिति म्याराथन प्रतियोगितामा नेपाली सेना सेर गणका राई पहिलो स्थान हासिल गर्न सफल भएका हुन् ।
उक्त मिनि म्याराथुन प्रतियोगिता सुन्दरबजार नगरपालिका र बेसीशहर नगरपालिकाको सीमा क्षेत्रमा रहेको बेसीशहर नगरपालिका– १ को उदीपुर स्थित स्वागत गेटदेखि सुरु भई सुन्दरबजार नगरपालिका– ९ को रामादी, कृष्ण बगैंचा, सोही नगरपालिका– ८ को पैह्रे, सोही नगरपालिका– ७ को लमजुङ क्याम्पस गेट, मातृभूमि क्याम्पस रोड हुँदै लमजुङको प्रवेश नाका पाउँदीमा पुगेको थियो । त्यहाँबाट मोडिएर सोही नगरपालिकाको वडानं– ८ फूलबारी, सिउँडीबार भएर कृष्ण वगैंचासम्मको १५ किलोमिटर दुरी पार गर्ने गरी गरिएको थियो ।
पहिलो स्थान हासिल गरेका राईले १५ किलोमिटरको सो दुरी ४५ मिनेट ५४ सेकेण्डमा पार गरेर पहिलो भएको आयोजकको भनाइ छ । यसैगरी, दोस्रो हु्ने पनि नेपाली सेना रणसिह गणका रामजी बस्नेत छन् । बस्नेतले ४६ मिनेट ३० सेकेण्डमा सो दुरी पार गर्दै दोस्रो भएका हुन् । यसैगरी, नेपाली सेना बरख गणका मोहनदेव जोशीले तेस्रो स्थान हासिल गरेका छन् । उनी पनि नेपाली सेनामै कार्यरत छन् । जोशीले ४७ मिनेट १४ सेकेण्डमा १५ मिलोमिटर दुरी पार गरेका थिए ।
प्रतियोगितामा पहिलो हुनेलाई पुरस्कार स्वरुप नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । दोस्रो हुने बस्नेतले पुरस्कार स्वरुप नगद २५ हजार ५ सय ५० रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो स्थान हासिल गरेका जोशीले सो उपाधिका साथमा नगद १५ हजार ५ सय ५० रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकको भनाइ छ ।
त्यस्तै, प्रतियोगिता भैरवनाथ गणका सञ्जय श्रेष्ठले ४७ मिनेट २५ सेकेन्ड र रणसेर गणका प्रेमबहादुर बस्नेतले ४९ मिनेट २० सेकेण्डमा १५ किलोमिटर दुरी पार गरी दुवैले सान्त्वना स्थान हासिल गरेका छन् । सान्त्वना स्थान प्राप्त गर्ने दुबैलाई जनही १० हजार ५ सय रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिए ।
विजयी खेलाडीहरूलाई प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सविधान सभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिताको समापन एवम् पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, नेकपा एमाले जिल्ला कमिटीका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल, प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदी, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष गोविन्द बस्नेत लगायतको उपस्थिति थियो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु)को अध्यक्षतामा भएको सो समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष पार्वती वाग्लेले स्वागत तथा सञ्चालन सचिव विष्णु खड्काले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० असार २, शनिबार १८:३९ गते