सुन्दरबजार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का जिल्ला संयोजक धर्म केसीले हामीलाई सानोभन्दा सानो पनि गल्ती गर्ने छुट छैन, हामी समाज र मुलुकभर सुशासन स्थापनाको अभियानमा जुटेका छौं भन्नु भएको छ । उहाँले रास्वपाको दोस्रोे स्थापना दिवस तथा पहिलो वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिनमा आयोजित वडा भेलाको उदघाटन गर्दै असार २ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले रास्वपालाई सिद्धान्त हीन पार्टी भन्नेलाई जवाफ दिदै भन्नुभयो, ‘हाम्रो सिद्धान्त संवैधानिक समाजवाद हो ।’ संविधानले प्रत्याभूति गरेको सबैप्रकारका मौलिक हकको व्यवहारिक प्रयोग जस्तो, शिक्षा, स्वास्थ्य, न्यायमा सर्वसाधारणको पहुँच, बालबासलका, महिला, जेष्ठनागरिकको उचित सम्मान जस्ता २२, २३ वटा संविधानमा उल्लेखित अधिकार सबैका लागि बराबर होस् ।’
उहाँले हामी नीति भन्दापनि नियत ठीक भएको देश र समाजको पक्षमा काम गर्ने, आकाशबाट उडेर बाकसमा बन्द भएर फर्कने नियतिलाई बदल्न चाहन्छौं र यही देशमा रोजगारीको अवसर जुटोस् जुटाउन सकिन्छ भन्ने हामी चाहन्छौं भन्नुभयो ।
आज नेपालीहरू कोरिया जान भनेपछि मरिहत्ते गर्ने गरेको छ । त्यो देशमा आफू पनि केही वर्ष बसेर त्यहाँको इतिहास लगायत उसले के कसरी प्रगति गरेको रहेछ भन्ने नजिकबाट अनुभूति गरेको र त्यो क्रममा ९० वर्ष अघि कोरियाका मानिसहरू दिनभर चिप्टा र सल्बरको यौटा भाडो लिएर जंगलको छेउँछाउमा जाने र दिनभर फट्यांग्रा टिप्ने र साँझमा त्यही उमालेर अलिअलि नुन छरेर खाएर पेट भर्ने र सुत्ने गरेका रहेछन् त्यही दुःखलाई सम्झेर काम गरेका कारण आज उनीहरू त्यो स्थानमा पुगेका रहेछन् भने हामी त्यस्तो अवस्थामा पुगेका छैनौं हाम्रो, प्रकृति, जल, जमिनको उपयोग गरेर उन्नति प्रगति गर्न सकिन्छ भन्ने विश्वास हामीमा छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘हामी यही व्यवस्थामा अवस्था परिवर्तनका लागि जुटेका छौं, त्यसमा यहाँहरू सबैको साथ सहयोगको आवश्यकता छ ।’
रास्वपाका जिल्ला संयोजक केसीले पार्टीको स्थापना दिवसका बारेमा प्रकाश पार्दै ‘वडा वडामा रास्वपा’ भन्ने नाराका साथ हामी स्थापना दिवस मनाउन जुटीरहेका छौं भन्ने उल्लेख गर्नुभयो ।
दोर्दी गाउँपालिका– २ को वडाभेलाको उदघाटनका क्रममा उहाँले उल्लेखित मन्तव्य व्यक्त गर्नु भएको हो ।
सो कार्यक्रममा मानबहादुर कुँवरले धेरै राजनीतिक दल हेरियो, काँग्रेसभन्दा एमाले ठीक भनेर धेरै वर्ष एमालेमा पनि बसेर काम गरियो तर देश माथि जाला, हामीले सुद पाइएला भन्दा झनै दुःख पाइयो । त्यसैले ऐले ती सबै छाडेर स्वतन्त्र पार्टीलाई साथ सहयोग गर्ने सोच बनाएका छौं तर यो पार्टीले पनि काँग्रेस, एमाले, माओवादीकै बाटो लियो भने क्षमा पाउने छैन भन्ने ठोकुवा गर्नु भयो ।
यसैगरी, रमा कुँवर खड्काले हामीले पुरानाले सबैको दाजुभाइ दिदीबहिनीको पक्षमा काम गर्न सकेनन्, देखिएन भन्दै विगतमा पार्टीको विभिन्न पदमा बसेर गरेको दुःखको स्मरण गर्दै महिलाको अवस्थामा परिवर्तन हुँदैन भन्ने ठहर गरी पुराना कुरा बिर्सेर नयाँ चोसो अनुसार नयाँ पार्टीमा आएका छौं, भोलिका दिनमा हामीलाई पछुताउनु पर्ने छैन भन्ने विश्वास जागृत भएको छ हाम्रो भावनामा खेल्ने र ठेस लगाउने काम रास्वपाले गर्ने छैन भन्ने विश्वास गरेको उल्लेख गर्नुभयो ।
सो अवसरमा नवीन अधिकारीले रास्वपाले गाउँलेले बुझ्ने र अनुभूति गर्ने गरी काम गर्नु पर्छ भन्ने सुझाव दिनु भयो । उहाँले आफ्नी आमाको उदाहरण दिदै ७५ वर्षीया आमाले नागरिकता विधेयक, एमसिसी, लेण्डुप आदि बुझ्नु हुन्न उहाँले बुझ्ने भनेकोे आफू बिरामी हुँदा एम्बुलेन्स वा निजी साधनमा सरर आधा घण्टामा जिल्ला अस्पतालमा पुगेर सहज रुपमा उपचार गर्न पाउने हो, त्यसका लागि केके गर्नु पर्छ ? बाटोको अवस्था, अस्पतालको जनशक्ति, उपचार पद्दति के कस्तो छ ? आदि बुझ्नु हुन्छ अर्थात रास्वपाले व्यवहारवादी काम(राजनीति) गरोस् भन्ने चाहना छ भन्नुभयो ।
दोर्दी गाउँपालिका– २ मा श्याम अधिकारीको नेतृत्वमा वडा समिति गठन :
श्याम अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँकै नेतृत्वमा सो वडाको समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष नारायण कुँवर, सचिवमा रमा कुँवर खड्का चयन हुनुभएको छ । सदस्यहरूमा रामबहादृर सापकोटा, प्रदीप थापा, नेत्र भुजेल, कीर्तिमान विक, ईन्दिरा कुँवर, बालकुमारी कुँवर र रमेश कुँवर चयन हुनुभएको छ । त्यस्तै समितिको सल्लाहकारमा मनबहादुर कुँवर, केदार अधिकारी, अमृत लामिछाने, सिर्जना लामिछाने र हर्कबहादुर विक चयन हुनुभएको नवनिर्वाचित सचिव रमा खड्काले बताउनुभयो ।
रास्वपाका सुन्दरबजार नगर सभापति श्याम केसीले अब लुकेर बस्ने बेला छैन, मोही माग्ने ढुंग्रो लुकाउने जस्तो देखिएको छ । त्यो स्थितिबाट बाहिर निस्कन आँट गर्ने बेला आएको छ आँट गरौं भन्ने आह्वान गर्दै भेलाको सञ्चालन गर्नु भएको थियो ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रास्वपाका जिल्ला संयोजक धर्म केसीले सपथ खुवाउनु भएको थियो । नवननिर्वाचित अध्यक्ष श्याम अधिकारीले प्रतिवद्धता मन्तव्य सहित भेलाको बिसर्जन गर्नु भएको थियो ।
पुराना राजनीतिक दल र नेताहरू राजनीतिका मिटर व्याजी हुन् :
रास्वपाका जिल्ला संयोजक धर्म केसीले पुराना राजनीतिक दल र नेताहरू राजनीतिका मिटर व्याजी भएको दावी गर्नु भएको छ । देशमा आर्थिक कारोबारमा मिटरव्याजीको चलखेलका कारण धेरै सर्वसाधारणको उठी बास भएँझैं पुराना राजनीतिक दल र नेताहरू राजनीतिका मिटर व्याजी हुन् तिनका व्यवहार पनि आर्थिक कारोवार गर्ने मिटरव्याजी भन्दा भिन्न छैन त्यसैले उनीहरूबाट सावधान रहेर रास्वपाका साथ हातेमालो गर्दै अघि बढ्नु पर्छ भन्नुभयो । उहाँले सुन्दरबजार नगरपालिका– ७ को पाउँदीमा आयोजना गरिएको वडा भेलाको घण्टी बजाएर उदघाटन गर्नु हुँदै असार २ गते त्यस्तो बताउनु भएको हो । उहाँले आफ्नो व्यक्तिगत स्वार्थका लागि राजनीतिमा आएको हैन भन्नुहुँदै विगतमा विदेश विभिन्न ४० देशमा बसेर काम गरेको अनुभव छ र आज पनि विभिन्न देशबाट बोलाउने काम भएको छ । तर म आफ्नै देशमा केही गर्न पर्छ, गर्न सकिन्छ भन्ने विश्वासले फर्केको हुँ यसरी नै अन्य दाजुभाइ, दिदीबहिनीहरू पनि विदेशबाट फर्केर स्वदेशमै केही गर्नु पर्छ भन्नुभयो । हामीले नगरे कस्ले गर्छ ? आज नगरे कहिले गर्ने भन्ने अभियानमा पनि हामी छौं ‘सुशासन’ हाम्रो मुलमन्त्र हो उहाँले भन्नुभयो ।
सो अवसरमा वरिष्ठ पत्रकार नवराज पहाडीले हिजोका दिनमा देशमा प्रजातन्त्रको पुनःस्थापनाका बेलाको स्मरण गर्दै पञ्चायतमा भ्रष्टचार, अन्याय, अत्याचर, नातावाद र कृपावाद बढ्यो भनेर त्यसका विरुद्धमा उठेर पञ्चायत फ्याकेर बहुदलीय प्रजातन्त्र ल्याइयो तर पञ्चायतकालमा भन्दा पनि बढी बेथिति मुलुकमा बढेर गयो, राष्ट्र समेत ऋणमा चुर्लुम्म डुबेको छ । त्यतिमात्र हैन दोस्रो सिक्किम हुने हो कि ? भन्ने संत्रास फैलिएको छ । यी सबैका विरुद्धमा रास्वपाले चालेको कमद ठीक देखिएको हुँदा यसका गतिविधिलाई नजिकबाट नियाल्ने काम आफूले गरिरहेको बताउनु भयो ।
यसैगरी, विष्णुमाया बस्नेतले देशमा भ्रष्टाचारको अन्त्यका लागि रास्वपालाई साथ दिएर देशलाई नै घण्टीमय बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले गीतमार्फत पनि पुनारा नेता र पार्टीका पछि लाग्न नहुनेमा जोड दिनु भएको थियो ।
सुन्दरबजार नगरपालिका– ७ को पाउँदीमा आयोजना गरिएको वडा भेलाबाट दिपेन्द्र अधिकारी अध्यक्ष चयन :
दिपेन्द्र अधिकारीको अध्यक्षतामा भएको सो भेलाले उहाँलाई नै उक्त वडाको अध्यक्ष चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा विष्णुमाया बस्नेत, सचिवमा गोमा थापा चयन हुनुभएको छ । यसैगरी, सदस्यहरूमा मिनकुमार श्रेष्ठ, गमबहादुर भुजेल, रामबहादुर सार्की, हरिश्चन्द्र पाण्डे, जौमाया माल, नेत्रमान श्रेष्ठ, रामकृष्ण भुजेल र कमलनारायण श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी, सल्लाहरकारमा अमृतप्रसाद श्रेष्ठ, देवीप्रसाद श्रेष्ठ रहनु भएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रास्वपाका जिल्ला संयोजक धर्म केसीले सपथ खुवाउनु भएको थियो । नवननिर्वाचित अध्यक्ष दिपेन्द्र अधिकारीले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो ।, उहाँले आउँदा दिनमा आफ्नो वडालाई घण्टीमय बनाउने प्रतिवद्धताका साथ भेलाको बिसर्जन गर्नु भएको थियो । सो भेलाको सञ्चालन सोही नगरपालिकाका सभापति श्याम केसीले गर्नु भएको थियो ।
सुन्दरबजार नगरपालिका– १० मा पनि वडासमिति गठन : कुमार कोइराला अध्यक्ष चयन
यसैगरी, रास्वपाले हिजो कै दिनमा सुन्दरबजार नगरपालिका– १० मा पनि वडासमिति गठन गरेको छ । सो भेलाको पनि रास्वपाका जिल्ला संयोजक धर्म केसीले घण्टी बजाएर उदघाटन गर्दै आफ्ना धारणाहरू राख्नु भएको थियो । 
सो वडाको सभापतिमा कुमार कोइराला चयन हुनभएको छ । यसैगरी, उपसभापतिमा अमृत अधिकारी, सचिव कमल तिवारी चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्यहरूमा जुना भण्डारी,शंकर भण्डारी, रमेश बस्नेत, कृष्णबहादुर विष्ट, हरिबहादुर केसी, कुमराज दुरा, अञ्जु भण्डारी, तेजबहादुर अधिकारी, टिकाराम दुरा र सनयदेवी गोतामे चयन हुनुभएको छ ।
यसैगरी, सल्लाहकारहरूमा विष्णुबहादुर कुँवर र रामचन्द्र भण्डारी रहनु भएको छ ।
नवनिर्वाचितहरूलाई जिल्ला संयोजक धर्म केसीले सपथ खुवाउनु भएको थियो ।
सो भेला कुमार कोइरालाको अध्यक्षतामा भएको हो । उहाँले अध्यक्ष चयन भएपछि प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै भेलाको विसर्जन गर्नु भएको थियो । सो भेलाको सोही नगरपालिकाका सभापति श्याम केसीले सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० असार ३, आईतवार ०५:३० गते