
यो हो आत्मकथा महत्तम सफा आश्चर्य गाथा नव
लेखेका मणिले खुला हरफमा माधूर्य हो वास्तव
बग्छिन् सल्सल शुक्ल छाल सरिता जो गण्डकी पावन
जन्मेका मणि चन्द्र छन्, अचम हून् संक्षेप बुझ्दा घन ।
१.
लेखेका जति काव्य छन् अचम ले माधूर्य माला बुनी
ल्याए अक्षर शब्द वाक्य रसिला आश्चर्य चाला चुनी
ज्ञाता वेद र शास्त्र फेद गहिरा ज्ञानी पिताजी थिया
पाए अक्कल बुद्धि ज्ञान दरिला लाग्दै नलाग्ने खिया ।
२.
आस्था आर्जित कामना सरलता आलोक ऊर्जासित
मोहीको हक काव्य फाँट कविजी छन् लालपूर्जासित
आभा झल्झल झल्किने मणिकथा साहित्यमा उर्वर
निष्ठा नैतिक चेतना गजबको बास्ना छरे हर्हर ।
३.
केले उत्तम सोच खुल्छ कविमा उत्साहमा झल्मल
पाइन्नन् दुविधा कुनै किसिमले संकोच वा अल्मल
खुल्छिन् वस्त्र सफेद साथ जननी आशीषमा शारदा
सौम्या छन् मनकामना प्रकटमा चातुर्यमा कामदा ।
४.
बास्ना मग्मग फैलिए अचमका सौन्दर्य गाथा कथा
ज्योत्स्ना जग्मग पैलिए किरणका उल्लासमा सर्वथा
बस्दैछन् मधुमासमा कचहरी संस्कारका चेतले
आकाङ्क्षा अभिप्रायमा सरलता थप्छन् रमी वेदले ।
५.
भर्ने उत्तम काव्य सुत्र ममता उत्कर्ष मर्यादित
थप्छन् प्रेरक प्रेरणा सुगम छन् यो काव्यमा चर्चित
जप्दै केशवको महत्व कविले पार्दै गए पोषक
निष्ठा मापनको समग्र सुविधा पाए भरे रोचक ।
६.
लेख्दा लाग्छ कमाल चित्र कविता आत्मस्थ बन्छन् कवि
आएका अवतारमा अचम हुन् साक्षात् सफा भारवि
देखिन्छन् नव प्रातका किरणमा खुल्दा कथा भाष्कर
गर्छन् काम लगाम लाग्छ सजिलै देखिन्छ जो दुष्कर ।
७.
आस्थामा अभिमान छैन, रसिला छन् काममा तत्पर
छैनन् लोभ र लालचीपन कुनै, छन् सौम्य यी मत्थर
मान्छन् पाठक पाठिका हृदयले खाट्टी कला साधक
फाल्दिन्छन् कटुता सबै किसिमका पाए भने बाधक ।
८.
छन् लोकान्तर यानमा समयको बेतोड यात्रारत
पालेका मन कामना असल छन् निर्द्वन्द यात्रा भर
साथी बन्न रुचाउँछन् हजुरको आजन्म सत्कारमा
आस्थाको अधिकारमा सुगम छन् सौजन्य संसारमा ।
९.
बुझ्छन् प्राज्ञ छ आँतमा अचम को सौन्दर्य श्रृङ्गारमा
चढ्दैनन् कवि बोटमा कुफतको, मिथ्या अहङ्कारमा
सुम्पन्छन् जति छन् विचार सुकिला यो काव्य सन्देशमा
आँखामा मणि चम्किने अचम हो व्यक्तित्व नेपालमा ।
१०.
शार्दूलविक्रीडित छन्द । तनहुँ, नेपाल ।
प्रकाशित मिति २०८० असार ४, सोमबार १६:५७ गते