अब जिल्ला अस्पतालमा हाइड्रोशीलको निःशुल्क शल्यक्रिया सेवा, विरामीलाई बाटो खर्चसमेत दिइने

अब जिल्ला अस्पतालमा हाइड्रोशीलको निःशुल्क शल्यक्रिया सेवा, विरामीलाई बाटो खर्चसमेत दिइने

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार ४ गते सोमबार ०८:१४

यो रोगको सामान्य अस्पतालमा शल्यक्रियाका लागि जाँदा पनि २५– ३० हजार रुपैयाँ शुल्क लिने गरेका छन् भने ठूला सुविधा सम्पन्न अस्पतालले एक लाख, सवालाख रुपैयाँसम्म शुल्क लिने गरेको पाइएको छ । तर लमजुङ जिल्ला अस्पतालमा आउने हो भने त्यो सबै खर्च बच्ने मात्र हैन, बाटो खर्च समेत पाइन्छ डा. भण्डारीले बताउनु भयो ।

हाइड्रोशील पीडितहरूका लागि खुशीको खबर

लमजुङ– हाइड्रोशील पीडितहरूका लागि खुशीको खबर छ । लमजुङ जिल्ला अस्पतालमा हाइड्रोशीलको निःशुल्क शल्यक्रिया सेवा सुरु भएको जानकारी पत्रकार भेटघाट गरी असार ४ गते जानकारी दिएको छ ।
शल्याक्रिया मात्र नभई त्यस रोगको परीक्षणका लागि अस्पताल आउँदा बस भाडा समेत दिने प्रवन्ध रहेको लमजुङ जिल्ला अस्पतालका जनरल सर्जन डा. सुलभराज भण्डारीले बताउनु भयो । उहाँका अनुसार आफू यो अस्पतालमा आएदेखि नै यो सेवा सुरु गरिएको हो । उहाँले भन्नुभयो, ‘यसको प्रचारप्रसारलाई व्यापक र सर्वसाधारणको पहुँचमा पुर्याउन आवश्यक ठानेको हुँदा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो, यो सबै सेवा सुविधा प्रदेश सरकारको बजेटबाट प्रवन्ध गरिएको छ ।’
हाइड्रोशील रोगका बारेमा संक्षिप्त जानकारी दिदै डा. भण्डारीले भन्नुभयो, ‘यो रोग जन्मजात पनि हुन्छ र पछि हुने पनि हुन्छ बालक र उमेर ढल्केका उमेरका पुरुषलाई यो रोग हुन्छ ।’ यो रोग मृगौलाको विभिन्न झिल्लीमध्ये कुनैमा पानी जमेर, नसामा रगत जमेर, दुर्घटनाका कारणले पनि यो रोग हुन सक्छ भने लामखुट्टेको टोकाईबाट पनि हुन सक्ने देखिएको छ । हाइड्रोशीलका विरामीलाई हात्तीपाइले समेत हुन सक्ने प्रवल सम्भवना रहने भएको हुँदा सो रोग नियन्त्रणका लागि पनि हाइड्रोशीलको निःशुल्क शल्यक्रियाको प्रवन्ध सरकारले गरेको हो डा. भण्डारीले उल्लेख गर्नुभयो । उहाँका अनुसार यो रोगको समयमै उपचार नभएमा क्यान्सर हुने पनि प्रवल सम्भवना रहन्छ ।
हाइड्रोशीलको परीक्षण, औषधिको सेवन शल्यक्रिया, अस्पतालको अन्य खर्च, खानाका साथै विरामीका लागि घरसम्म आतेजाते खर्च समेत दिने व्यवस्था छ डा. भण्डारीले जानकारी दिनुभयो । उहाँले आफू गत माघमा जिल्ला अस्पतालमा हाजिर हुन आएको र फागुन ६ गतेबाट यो सेवाको थालनी अर्थात निःशुल्क शल्याक्रियाको सुरु गरेको जानकारी दिनुभयो ।
यो रोगका बारेमा राइनास नगरपालिका– ७ मा हालै एक दिने अभिमुखीकरण समेत गरिएको उहाँले बताउनु भयो । सो अवसरमा शल्यक्रिया गर्नु पर्ने हाइड्रोशीलका नौ जान बिरामीको पहिचान भएको र उहाँहरूको शल्यक्रिया यही असार महिना भित्र हुने मिति उहाँहरूलाई दिइसकेको डा. भण्डारीले बताउनु भयो । उहाँका अनुसार फागुन ६ गते यता जम्मा छ वटा यस्ता विरामीको शल्यक्रिया गरिएको छ । हालसम्मको तथ्यांक अनुसार चालु आव अर्थात असार मसान्तसम्ममा १५ जना हाइड्रोशीलका बिरामीको निःशुल्क शल्यक्रिया हुने भएको छ ।
यो रोगको सामान्य अस्पतालमा शल्यक्रियाका लागि जाँदा पनि २५– ३० हजार रुपैयाँ शुल्क लिने गरेका छन् भने ठूला सुविधा सम्पन्न अस्पतालले एक लाख, सवालाख रुपैयाँसम्म शुल्क लिने गरेको पाइएको छ । तर लमजुङ जिल्ला अस्पतालमा आउने हो भने त्यो सबै खर्च बच्ने मात्र हैन, बाटो खर्च समेत पाइन्छ डा. भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यस्तो सुविधा सहज रुपमा लिनका लागि सम्बद्ध सबैमा हामी जिल्लाका सञ्चारमाध्यमहरूमार्फत आग्रह गर्दछौं ।’

उक्त अवसरमा जिल्ला अस्पताल व्यवस्थापन समितिका सदस्य वासुदेव थापा समेत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति २०८० असार ४, सोमबार २०:१४ गते
हजुरको प्रतिक्रिया