सुन्दरबजार(लमजुङ)– ज्म्ऋज् नमूना सामुदायिक अस्पताल सुन्दरबजारलाई सोलार सहित शल्यक्रिलाका सामग्री हस्तान्तर गरिएको छ । नेदरल्याण्डकी नागरिक म्यारिड मुल्डरसले ती सामग्री सोही अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पतालका प्रमुख हेमन्त श्रेष्ठलाई असार ५ गते हस्तान्तरण गर्नु भएको हो ।
ती सामग्री हस्तान्तरण गरेपछि मुल्डरसले आफूले प्रदान गरेका सामग्रीहरू लमजुङबासीको उपचारका लागि सहयोगी हुने विश्वास लिएको बताउँदै ती सामग्रीलाई भरपुर मात्रामा सुरक्षा गरी उचित रुपमा सकेसम्म लामो अवधिसम्म मानवसेवामा उपयोग गर्नका लागि अस्पताल परिवारलाई आग्रह गर्नु भएको थियो ।
ती सामग्री ग्रहण पश्चात अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले मुल्डरसको सहयोगका लागि विशेष धन्यवाद र बधाई दिनु भयो । उहाँले मुल्डरसले विगतको १५– १६ वर्षदेखि नेपाल, नेपालीहरू र विशेष गरी लमजुङबासीलाई माया गर्दै आउनु भएकी नेदरल्याण्डकी नागरिक म्यारिड मुल्डरसले तत्कालीन जिल्ला सदरमुका स्थित सामुदायिक अस्पताल हुँदाका बखत पनि पाठेघरको निःशुल्क शिविर सहितका विभिन्न सामग्री सहयोग गर्दे आउनु भएको स्मरण गर्नु भयो ।
यसैगरी, अस्पतालका तर्फबाट प्रशासन प्रमुख श्रेष्ठले दाता मुल्डरसलाई एक सम्मानपत्रका साथ सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रमको समेत सञ्चालन गर्नु भएका अस्पतालका प्रमुख श्रेष्ठले सम्मानपत्र आफैले वाचन गरी सुनाउनु भएको थियो ।
उहाँले मुल्डरसले प्रदान गर्नु भएको सोलार बत्ती जडान गरी सकिएको जानकारी दिदै नौ के.भि.ए. क्षमताको उक्त सोलार बत्तीले क्षणक्षणमा विजुली जाने आउने भएर समस्या भएको यस अस्पतालका लागि अब सेवामा अवरोध नहुने भएको बताउनु भयो । सोलार बत्ती साढे १२ लाख रुपैयाँ बराबरको भएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी, आज हस्तान्तरण गरिएका शल्यक्रियाका लागि आवश्यक पर्ने २९ प्रकारका विभिन्न सामग्री करिब पाँच लाख रुपैयाँ बराबरका भएको अस्पतालका अस्पतालका प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो । आफूले हस्तान्तरण गरेका शल्यक्रिया सामग्रीहरू अस्पतालको स्टोरमा गएर आफैले मिलाउनु भएको थियो । 
अर्को एक प्रसङ्गमा उहाँले उक्त अस्पताललाई १५ बेडबाट २५ बेडमा स्तरोन्नति गर्न लागिएको, शल्याक्रिया र सुत्केरी सेवा सुरु भएको, चार बेड डिलक्स सेवाका तयार गरिएको, दुई जना सर्जन डा.ले सेवा दिन थालेको, दाँत सेवाका लागि दिनहुँ १२– १५ विरामीले सेवा लिने गरेको यसरी विस्तारै विरामीको चापमा बृद्धि हुन थालेको छ भन्नुभयो । उहाँका अनुसार स्वास्थ्य बीमाको सेवा सरकारी अस्पतालहरूमा मात्र भएको हुँदा त्यो कारणले पनि धेरै विरामी उतै जाने र जटिल शल्यक्रिया गर्नु नपरेको तर हामीसँग त्यसका लागि पनि त्यस्तो जनशक्ति उपलब्ध छ अस्पतालका प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले अब २५ बेडको स्विकृत प्राप्त भएपछि स्वास्थ्य बीमाको कार्यक्रम यहाँबाट पनि हुन्छ भन्ने जानकारी दिनुभयो ।
उक्त अवसरमा सो अस्पतालका डा विजय शाहले मुल्डरस सहितका पाहुनालाई स्वागत गर्नु भएको थियो भने मुल्डरसको साथमा केयर नेपालका व्यवस्थापक सुनिला लुइँटेलसेमत सहभागी हुनुहुन्थ्यो ।
प्रकाशित मिति २०८० असार ५, मंगलवार १६:३३ गते