मर्स्याङ्दी गाउँपालिकाद्वारा आउँदो आवको नीति कार्यक्रम सार्वजनिक

मर्स्याङ्दी गाउँपालिकाद्वारा आउँदो आवको नीति कार्यक्रम सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार ६ गते बुधबार ०८:५५

रैथाने वालीहरूको संरक्षण र प्रवर्द्धन गर्दै गाउँपालिकास्तरीय बीउ बैङ्कको स्थापना, ‘एक घर एक करेसाबारी’ मस्र्याङ्दी गाउँपालिकाभर अभियानकै रुपमा कार्यक्रम अगाडि बढाउने जस्ता कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश गरेको अध्यक्ष गुरुङले बताउनु भयो ।

‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधारः कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उर्जा र पूर्वाधार’ भन्ने नाराका साथ आउँदो वर्षका लागि नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष गुरुङको भनाइ छ ।

भूलभूले(लमजुङ)– मर्स्याङ्दी गाउँपालिकाले आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो गाउँसभाको पहिलो अधिवेसनमार्फत गाउँपालिकाले आउँदो आव नीति तथा कार्यक्रम असार ५ गते प्रस्तुत गरेको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गाउँसभामा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । उहाँले गाउँपालिकाले आउँदो आवका लागि खासगरी कृषि, पशु र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याएको बताउनु भयो । ‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधारः कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उर्जा र पूर्वाधार’ भन्ने नाराका साथ आउँदो वर्षका लागि नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष गुरुङको भनाइ छ । नारामा उल्लेख भए बमोजिम कृषि, पर्यटन, उर्जा र पूर्वाधारको विकास नै समृद्ध मर्स्याङ्दी गाउँपालिका निर्माणको आधार भएको अध्यक्ष गुरुङले बताउनुभयो ।
जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरूको क्षमता विकास स्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने, सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने, सेवाग्राहीको हकलाई सुनिश्चित गर्न सूचना प्रविधिको उच्चतम प्रयोग गर्न जरुरी रहेको तथ्यलाई आत्मसात गर्दैै पूर्वाधार विकास र आर्थिक बृद्धिकोे गतिले मात्रै समृद्ध गाउँपालिका निर्माण गर्न सकिन्छ भन्ने राधारणा अध्यक्ष गुरुङले राख्नु भएको थियो । उहाँले गाउँपालिकाले कृषितर्फ कृषि उत्पादनलाई बजारीकरणमा सहज बनाउन कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, कृषि उत्पादनलाई प्रोत्साहीत गर्न वार्षिक रुपमा कृषि मेला आयोजना गर्ने, ‘एक घर एक करेसाबारी’ मस्र्याङ्दी गाउँपालिकाभर अभियानकै रुपमा कार्यक्रम अगाडि बढाउने विषयहरूलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्ताव गरिएको उल्लेख गर्नु भयो ।
स्थानीय लोपोन्मुख बीउबिजन, रैथाने वालीहरूको संरक्षण र प्रवद्र्धन गर्दै गाउँपालिकास्तरीय बीउ बैङ्कको स्थापना गर्न जोड दिएको छ । पर्यटन विकास तर्फ ऐतिहासिक राष्ट्रिय व्यक्तित्वहरू भुगोलविद् डा. हर्क गुरुङ, राष्ट्रिय विभुति वीर भक्ति थापा, राष्ट्रकवि माधवप्रसाद घिमिरेका चिनारी हुने स्थलहरू संरक्षण र पार्कहरू निर्माण कार्यलाई निरन्तरता दिई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीति लिएको उहाँको भनाइ छ । उहाँका अनुसार हर्सिङडाँडा, चित्रेडाँडा, बराहपोखरी, मेमेपोखरी, सुन्दरी ताल, गोरुजुरे डाँडा, ठूलीबेसीको नेवारजुङ डाँडा, खेलपुडाँडा लगायतका स्थानहरूमा सडक सञ्जाल तथा सुविधा सम्पन्न पर्यटन पदमार्ग बनाई, पर्यटकीय गन्तव्यको रुपमा विकसित गरिने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका, रोजगारी गुमाएका युवाहरुलाई उद्यमशीलता विकास गराउन गाउँपालिकाले आवश्यक पहल गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । युवा तथा शैक्षिक बेरोजगारलाई प्राथमिकतामा राखी स्वरोजगारमुलक कार्यमा संलग्न गरी स्थानीय युवा उद्यमीहरूलाई प्रोत्साहित गर्ने जस्ता विषयवस्तु नीति तथा कार्यक्रममा समेटिएको छ । यसैलाई आधार मानेर आउँदो आवको योजना तथा बजेट निर्माण गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
गाउँसभामा अध्यक्ष गुरुङले प्रस्तुत भएको नीति तथा कार्यक्रममा गाउँसभा सदस्यहरूले राय सुझाव सहित पारित गरेको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०८० असार ६, बुधबार ०८:५५ गते
हजुरको प्रतिक्रिया