बेसीशहर– लमजुङको विद्युत सेवाको अनियमितताका बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले विशेष चासो र चिन्ता लिदै निरन्तर निगरानी गर्ने भएको छ । सप्ताहव्यापी रुपमा पार्टीको स्थापना दिवस मनाउँदै गरेको सो पार्टीले दिवसकै सन्दर्भमा उर्जा मन्त्री, विद्युत प्राधिकरणका साथै लमजुङ विद्युत वितरण केन्द्रको ध्यानाकर्षण गर्दै विद्युत अनियमितताको तत्काल समाधानको माग असार ६ गते गरेको हो ।
रास्वपाले असार ६ गते प्रजिअ मार्फत उर्जा मन्त्री, विद्युत प्राधिकरणलाई ज्ञापन पत्र बुझाउँदै जिल्लाबासीले विद्युत सेवाबाट खेप्नु परेको सास्तीका बारेमा अवगत गराउँर्दै ध्यानाकर्षण गरेको हो । रास्वपाले लमजुङमा उत्पादित विद्युत लमजुङमा बालेर मात्र राष्ट्रिय प्रशारण लाइनमा जोड्नु पर्नेमा जोडदार रुपमा माग गरेको छ ।
ज्ञापन पत्रमा विद्युतको विगतको इतिहास र जिल्लाबासीले खेप्दै आएको हैरानीका बारेमा संक्षिप्त जानकारी दिदै लमजुङमा उत्पादिन विद्युत जिल्ला भित्र वितरण गरेर मात्र राष्ट्रिय प्रशारण लाइनमा वितरणको प्रवन्ध गर्नु पर्नेमा जोड दिइएको छ । यसको समाधान तथा जिल्लामा उत्पादित विद्युत आयोजनाप्रति जिल्लावासीको अपनत्व जागृत गर्नका लागि ‘लमजुङमा उत्पादित विजुलीको सेवाको पहिलो हकदार पनि जिल्लाबासी नै भएको’ प्रत्याभूति दिनका लागि लमजुङमा वितरण गरेपछि मात्र राष्ट्रिय प्रशारण लाइनमा यस जिल्लामा उत्पादिन विद्युत जडान गर्ने प्रवन्ध हुन बाञ्छनीय देखिएको हुँदा सो अनुसारको प्रवन्ध गर्नका लागि ज्ञापनपत्रमार्फत मन्त्रीज्यूको ध्यानाकर्षण गर्दछौं भनिएको छ ।
त्यस्तै, सो कार्य सम्भव छने नजिर पेश गर्दै मध्यमस्र्याङदी जलविद्युत आयोजनाको आवास क्षेत्रमा २४सैं घण्टा विद्युत सेवा निरन्तर रहने गरेको स्मरण गराइएको छ । ‘त्यसरी नै लमजुङबासीलाई पनि विद्युत सेवा वितरणको प्रवन्ध गर्नु पर्छ ।’ ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापन पत्र बुझ्दै नि. प्रजिअ कृष्णप्रसाद शर्मा सुवेदीले मागहरू जायज छन् भन्नुभयो । यस्ता सबै काममा राजनीतिक दल लगायत सबैको सहकार्य भएका असम्भव पनि देखिदैन भन्नुहुँदै उहाँले ज्ञापन पत्रलाई जस्ताको तस्तै कभरिङ्ग लेटरका साथ आजै सम्बन्धित निकायमा पठाइने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले यसको प्रति आवश्यक पर्छ भने एक दुई दिनमा आएर लग्न सक्नु हुने समेत बताउनु भयो ।
विद्युतको उक्त समस्याका बारेमा रास्वपाका जिल्ला संयोजक धर्म केसीको नेतृत्वमा एक टोलीले निकट भविष्यमै उर्जा मन्त्री र विद्युत प्राधिकरणमा समेत गएर उक्त माग पुरा गर्नका लागि ध्यानाकर्षण सहित दबाब दिने र निरन्तर निगरानी गर्ने समेत रास्वपाले जनाएको छ ।
रास्वपाले जिल्ला प्रशासन कार्यालमा पुगेर नि. प्रजिअ कृष्णप्रसाद शर्मा सुवेदीलाई ज्ञापन पत्र बुझाएको हो । रास्वपाका जिल्ला उपसंयोजक अशोक सापकोटाको नेतृत्वमा प्रशासनमा पुग्नेहरूमा बेसीशहर नगरपालिकाका सो दलका सभापति कृष्ण राउत, सोही नगरपालिका– ८ का वडा सभापति धुर्व ढकाल लगायतको एक टोलीले ज्ञापनपत्र बुझाउने काम गरेको हो ।
रास्वपाले पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा यही असार १ गतेदेखि ७ गतेसम्म विविध कार्यक्रमका साथ मनाएको छ । सो दलले पहिलो दिन बृक्षारोपण, दोस्रो दिन वडा भेला र समिति गठन, तेस्रो दिनमा अस्पताल र विद्यालय सरसफाई, चौथो दिनमा वडास्तरीय छलफल, पाँचौ र छौटौं दिन विद्युत समस्यामा ध्यान केन्द्रीत र सातौं दिन भोलि असार ७ गते बेसीशहरमा कार्यकर्ता बीचमा चिया पान तथा साँझ दिपावली र नेपालीहरूको जागरणका लागि घण्टी बजाउने कार्यक्रम गर्ने भएको रास्वपाले जनाएको छ ।
प्रकाशित मिति २०८० असार ६, बुधबार १७:३४ गते