लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पहिलो वार्षिकोत्सव तथा दोस्रो स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम दीप प्रज्वलन र ७–७–७–७७–७७ पटक घण्टी बजाउने कार्यक्रम सहित समापन गरिएको छ । रास्वपा लमजुङ समितिद्वारा जिल्ला सदरमुकाम बेसीशहर– ८ स्थित भीमसेन चोकमा दीप प्रज्वलान सहित ७–७–७–७७–७७ पटक घण्टी बजाउँदै असार ७ गते साँझ समापन गरिएको हो । सो पार्टीका जिल्ला उपसंयोजक अशोक सापकोटाले उक्त कार्यक्रमको औचित्यमा प्रकाश पार्नु भएको थियो भने बेसीशहर नगर समितिका सभापति कृष्ण राउतले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सो अवसरमा ७–७–७–७७–७७ (सात प्रदेश, सात गते, सात बजे, सतहत्तर जिल्ला)का लागि सतहत्तर पटक घण्टी बजाउने कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको बेसीशहर नगरको ८ नंवर वडाका सभापति ध्रर्व ढकालले बताउनु भयो । सो कार्यक्रममा मर्स्याङदी गाउँपालिका र राइनास नगरका पदाधिकारीहरु समेत सहभागी भएको वडानं ७ का सभापति राजकुमार घिमिरेले जानकारी दिनुभयो । सो अवसरमा दोर्दी गाउँपालिकाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
यसैगरी, सुन्दरजार नगरपालिकाको मिलन चोकमा पनि दीप प्रज्वलन सहित ७–७–७–७७–७७ पटक घण्टी बजाउने कार्यक्रम व्यापक जनसहभागिताका साथ सम्पन्न गरेको सो नगरका सभापति श्याम केसीले बताउनु भएको छ । उहाँका अनुसार सो कार्यक्रम नगर समितिले आयोजना गरेको हो । त्यस्तै मध्यनेपाल नगरपालिकामा पनि नगर समितिको आयोजनामा दीप प्रज्वलन सहित ७–७–७–७७–७७ पटक घण्टी बजाउने कार्यक्रम समापन गरिएको छ । सो कार्यक्रम नगर सभापति राजेन्द्र पौडेलको सभापतित्वमा भएको थियो । कार्यक्रम नगर कार्यालय क्षेत्र भोर्लेटारमा गरिएको थियो ।
प्रकाशित मिति २०८० असार ८, शुक्रबार ०८:५९ गते