सुन्दरबजार– लमजुङको सुन्दरबजार नगरपालिकामा तीन दिने आधारभूत पत्रकारिता र न्यूमिडिया तालिम शुरु भएको छ । सोही नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले तालिमको सुन्दरबजार नगरपालिका– ६ स्थित सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लि.को सभाहलमा असार १२ गते उदघाटन गर्नु भएको हो ।
उहाँले मुलुकमा संघीयता कार्यान्वयनको चरणमा छ र तीन तहका सरकार छन् तर आम बुझाई २०४९ सालको स्थानीय निकायको जस्तै छ, यो भ्रमलाई चिर्ने काम पत्रकारिता जगतको हो उहाँले बताउनु भयो । ठूला दलहरू र आम नागरिकका बीचमा केही भ्रम सिर्जित भएका छन्, त्यसलाई चिर्न र समाजको ऐना बन्न राज्यको चौथोे अंगका उपमा पाएको पत्रकारिता जगत र यसमा क्रियाशील पत्रकारहरूको दायित्व हो र त्यो कर्तव्यमा चुक्न हुँदैन भन्ने उहाँको सल्लाह थियो । उहाँले आफ्नो विरुद्धमा कुनै पत्रकारले नकारात्मक टिप्पणी गरेता पनि आजका दिनसम्म त्यसको प्रतिवाद नगरेको र भोलिका दिनमा पनि नगर्ने उहाँले उल्लेख गर्नुभयो । पत्रकारिता सिक्न उत्साहका साथ सहभागी भएकाहरूलाई तालिमको भरपुर उपयोग गर्न र अर्थपूर्ण बनाउन उहाँले आग्रह गर्नु भयो ।
सोही नगरपालिका– ६ का वडाध्यक्ष दिनेश कोइरालाले पत्रकारहरू पूर्वाग्रही हुन्छन् भन्ने सुन्ने गरेकोमा कहिलेकाहीँ त्यस्तो आभास हुने गरी समाचार समेत आउने गरेका छन् । यस्ता कामकुरामा पत्रकारहरू बच्नु पर्छ भन्ने उहाँको जोड थियो ।
पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडीले यो तालिमले जिल्लाको पत्रकारिताको इतिहासमा नयाँ आयाम थप्ने विश्वास गरेको बताउनु भयो । उहाँले पत्रकारिता शब्दको खेतीमात्र नभई इमान्दारिताको समेत खेती हो, पत्रकार इमान्दार नभएमा उसले जुनकुनै पनि बेइमानीका विरुद्धमा खबरदारी गर्न सक्दैन भन्नुभयो ।
लक्ष्मीनारायण मिडिया हाउसको आयोजनामा सञ्चालन भएको उक्त तालिमको सोही संस्था एवम् पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको थियो । उहाँले पत्रकारिता गरेर पनि बाच्न सकिन्छ भन्ने सन्देश दिनका लागि तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले यो तीन दिनलाई के कति उपलब्धीपूर्ण बनाउने भन्ने सहभागीको हातमा रहेको औंल्याउँदै राम्रो गर्ने २, ३ जनालाई आफैले जागिर दिन सक्ने समेत बताउनु भयो ।
न्यूजपेटिकाका सम्पादक, तालिम संयोजक एवम् पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष सन्तोष पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै भोलिका दिनमा पत्रकारिताका माध्यमले केही गर्न चाहने इच्छा भएकालाई मात्र सहभागी गराएको बताउनु भयो । उहाँले ‘फर्सदको समयमा सिकिराखौं भनेर भाग लिन चाहेको’ भन्नेहरूलाई सहभागी गराउन नसकिएको भन्दै जिल्लाको पत्रकारिताको विकासमा यो टिमबाट धेरै आशा गरिएको उल्लेख गर्नु भयो ।
सो प्रशिक्षणमा पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राई, पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडी, पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष सन्तोष पौडेल, प्रशिक्षक सुनिता आचार्य, पत्रकार महासंघका पूर्वजिल्ला सचिव सन्देश पौडेल लगायतले प्रशिक्षण दिनु भएको छ ।
सो तालिममा १६ वर्षदेखि ६६ वर्षसम्म उमेरत तीन पुस्ताका २४ जनाले भाग लिएको सो तालिमका संयोजक सन्तोष पौडेलले जानकारी दिनु भएको छ । उहाँका अनुसार सो तालिमका सहभागीहरू सुन्दरबजार नगरपालिका अतिरिक्त राइनास नगरपालिका, बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाका छन् ।
प्रकाशित मिति २०८० असार १२, मंगलवार १८:३९ गते