काठमाडौं– ललिता निवास जग्गा घोटाला प्रकरणको फाइल फेरि खुलेको छ । सो प्रकरणमा संलग्न भाटभटेनी सुपरमार्केटका सञ्चालक ६९ वर्षीय मीनबहादुर गुरुङसहित सात जना पक्राउ परेसँगै त्यस्तो खुलासा असार १२ गते भएको हो । तर तीमध्ये सोही साँझ नै ३ जना भने रिहा भएका छन् ।
पक्राउ पर्नेमा गुरुङका अतिरिक्त ६९ वर्षीय सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोापल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ रहेका छन् । शाह पूर्व निर्वाचन आयुक्तसमेत हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेको खबर बाहिरियो । उनलाई प्रहरीले पक्राउ परे पनि ब्युरोले आधिकारिक रूपमा जानकारी दिएको थिएन । ब्युरोको टोलीले अपरेसन नै चलाएर ७ जनालाई पक्राउ गरेको हो ।
कोटेश्वरबाट पक्राउ परेका देउजा ७१ वर्षका छन् । भक्तपुरको सुर्यबिनायक घर भएका देउजा पछिल्लो समय कोटेश्वरमा बस्दै आएका छन् । आफन्तले उनी ‘‘क्यान्सर पीडित’ भएको भन्दै सीआईबीका अधिकारीहरूलाई भेटेर थुनामा नराखिदिन आग्रह गरेका छन् ।
शाखा अधिकृत धर्मप्रसाद गौतमलाई ब्यूरोले रातोपुल स्थित घरबाट पक्राउ गरेको हो । शाखा अधिकृतबाट २५ वर्षअघि अवकाश पाएका गौतम ८० वर्षका छन् । अधिकृतबाटै अवकाश लिएका सुरेन्द्रमान कपाली बांगेमुढा स्थित तलाँछीबाट पक्राउ परे । उनी ७९ वर्षका छन् ।
६५ वर्षीय हुपेन्द्रमणी पनि शाखा अधिकृत पदबाट रिटायर्ड भएका हुन् । उनलाई लोकन्थलीबाट पक्राउ गरिएको हो । गोपाल कार्की चन्द्रागिरि नगरपालिका– ३ स्थित खेलेम्बुबाट पक्राउ परेका हुन् । उनी ६० वर्षका छन् ।
सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश देखाएर पक्राउ परेकामध्ये डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रिहा भएको प्रहरी स्रोतले जनाएको छ ।
सार्वजनिक लिखत कीर्तेको अभियोगमा उजुरी परेको दुई वर्षभित्र मुद्दा चलाउनुपर्नेमा सीआईबीले हदम्याद गुजारेर आरोपितहरू पक्राउ गरेको हो ।
बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन् । ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानका क्रममा देखिएपछि उनलाई पक्राउ गरिएको हो । उनी त्यसअघि मालपोत कार्यालयमा अधिकृत समेत थिए । सो प्रकरणमा ‘१४७ रोपनी जग्गा तलमाथि गरिएको आशंका छ ।
ललिता निवास प्रकरणमा उनीहरू पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले बताउनु भएको छ । उहाँका अनुसार उनीहरूलाई म्याद थपका लागि आजै सरकारी वकिलको कार्यालयमा पेस गरी आवश्यक अनुसन्धान सुरु हुने छ ।
सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको हो ।
भाटभटेनीका सञ्चालक गुरुङ यसअघि २०७७ माघ २१ गते तीन करोड धरौटीमा रिहा भएका थिए । उनी विरुद्ध विशेष अदालतमा ३९ करोड २७ लाख ६८ हजार भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो ।
सो प्रकरणको फाइल कहिले बन्द नै नभएको यसबारे ब्युरोकी प्रमुख प्रहरी अतरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले बताउनु भएको छ । उहाँका अनुसार त्यसमा निरन्तर अनुसन्धान नै जारी छ । उहाँले भन्नुभयो, ‘‘यस प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेकै थियो। थप प्रमाण संकलन गरी उनीहरूलाई पक्राउ गरिएको छ ।’
यो प्रकरणमा थुप्रै व्यक्तिहरू संलग्न छन् । अहिले सिआइबीले मुख्य व्यक्तिहरूलाई समाएर अनुसन्धान गर्न लागेको हो ।
के हो ललिता निवासको जग्गा प्रकरण ?
पञ्चायतकालमा सरकारले सुवर्ण समशेरलाई राजद्रोहको अभियोग लगाएर उहाँको नाममा भएको ललितानिवासको १४ रोपनी जग्गा जफत गरेको थियो । ललिता निवासको बाँकी २८५ रोपनी जग्गा सरकारले २०२१ सालमा अधिग्रहरण गरेको हो । बहुदल आएपछि २०४७ सालमा राणा परिवारले जफत गरिएका आफ्ना जग्गा फिर्ता गर्न सरकारसँग माग गरे ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारले जफत गरेको जग्गा छानबिन गरेर फिर्ता गर्ने निर्णय ग¥यो ।
मालपोत कार्यालयले भने छानबिन नगरी सोझै त्यही निर्णयका आधारमा १ सय १३ रोपनी जग्गा सुवर्णशमसेरका हकवालाको नाममा सारेको देखिन्छ । यो बेलासम्म ललिता निवासको जग्गामा मोही कायम भएको देखिन्न । तर यसरी जग्गा नामसारी खडा गरिएको मिसिलको सक्कल नै नभेटिएको पूर्वसचिव शारदा त्रिताल संयोजकत्वको समितिले जनाएको छ । यस प्रकरणबारे अध्ययन गर्न त्रितालको संयोजकत्वमा समिति बनेको थियो ।
तर राणाहरूले जग्गा लिएपछि २०५५ सालमा कतिपय मोहीहरूले हकदाबी गर्दै अदालतमा मुद्दा दर्ता गरे ।
स्रोतका अनुसार, ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको सुरूआतमा शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी कतिपय राणा र मोहीका वारेस बनेका छन् ।
वारेसबाट उनीहरूले बालुवाटारको जग्गा आफ्नो नाममा ल्याए । अहिले पनि बालुवाटारको १४ रोपनी जग्गा ढकाल र सुवेदीको नाममा छ । नकपा(एमाले)का महासचिव विष्णु पौडेललाई पनि ढकाल र सुवेदीले जग्गा उपलब्ध गराएका छन् । उनीहरूले बालुवाटारको जग्गा हत्याउन भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँग पनि मिलेमतो गरेको देखिन्छ। गुरूङ र उनका परिवारको नाममा पनि त्यहाँको १४ रोपनी जग्गा छ । भाटभटेनी सुपरमार्केटको गोदाम पनि त्यही जग्गामा छ ।
२०६१ सालमा ढकालकी पत्नी उमा र सुवेदीकी पत्नी माधवीले विष्णु पौडेललाई ८ आना जग्गा हस्तान्तरण गरेको देखिन्छ ।
पौडेललाई आठ आना जग्गा दिँदासम्म ‘भू–माफिया’हरूले बालुवाटारका धेरै जग्गा कब्जा गरिसकेका थिए ।
चार पटक किर्ते भएको निष्कर्ष ः
बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चारपटक कागजात किर्ते भएको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । २०४९, ०६२, ०६६ र ०६९ सालमा चारपटक सरकारी कागजात किर्ते गरेर बिचौलियाहरूले सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएको सीआईबीको अनुसन्धानबाट थाहा भएको छ ।
शोभाकान्त ढकाल र रामकुमार सुवेदी समेतले योजनाबद्ध रुपमा कागजात किर्ते बनाएर तथा नक्कली मोही खडा गरेर १४७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको एक अनुसन्धान अधिकारीले बताएका छन् । फरक फरक सालमा किर्ते भएको निष्कर्षका आधारमा ब्युरोले छुट्टाछुट्टै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको थियो ।
अधिकृतहरूका अनुसार ललिता निवासको २९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको थियो ।
प्रकाशित मिति २०८० असार १३, बुधबार १३:४१ गते