काठमाडौँ– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस पार्टीलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकको रुपमा पनि चिनेका छन् भन्नुभएको छ । नेता केसीले नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण पछि सम्बोधन गर्दै असार १५ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले जनताहरू निराश भएर विकल्प खोजिरहेका भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडि बढेमा भविष्य चुनौतीपूर्ण हुने बताउँदै काँग्रेसलाई भ्रष्टाचारको संरक्षकका रुपमा जनताले चिनेको बताउनु भयो । नेता केसीले कांग्रेस भित्र वैचारिक पुर्नजागरणको नयाँ क्रान्ति सुरु गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनु भयो । उहाँले आफूहरूले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश जनतालाई दिनुपर्नेमा जोड दिनु भयो ।
उहाँले भन्नुभयो, ‘लाज नमानी भन्नुपर्दा अहिले हामीलाई यथास्थितिको प्रतिनिधिको रुपमा जनताले चिनेका छन् । भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन् । विकृति र मनपरीतन्त्रको संवाहकका रुपमा हामीलाई चिनेका छन्, त्यसले गर्दा जनतामा निराशाको स्थिति र अरु के विकल्प छ भनेर खोजिरहेका छन् । जनता विकल्प खोज्छन् । कसैलाई कुरेर बस्दैनन् ।’
नेता केसीले आफूहरूले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने बताउनु भयो । अब हामी गल्ती गर्दैनौँ भनेर त्यो ढंगले जान सकेनौँ भने लोकतन्त्रलाई चुनौती छ । पार्टीलाई पनि चुनौती छ उहाँले उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो, ‘पार्टीभित्र लागेका दोषारोपणहरू, यो समग्र रुपबाट एक ठाउँमा उभिएर नयाँ विचार र दृष्टिकोणसहित हामी अब सुध्रियौँ है भनेर नेपाली जनतालाई भन्ने र हामीले जे गल्ती गरेका छौँ, यहाँनिर चाहिँ गल्ती भएको हो है अब हामी गल्ती गर्दैनौँ भनेर त्यो ढंगले जान सकेनौँ भने लोकतन्त्रलाई चुनौती छ । पार्टीलाई पनि चुनौती छ ।’
प्रकाशित मिति २०८० असार १६, शनिबार ०६:२९ गते