काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले असार १८ गते राति १२ बजेटदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा देशभरको मूल्यमा लिटरको पाँच रूपैयाँदेखि साढे सात रूपैयाँसम्म घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आइओसी)बाट १६ आसरमा प्राप्त भएको नयाँ खरिद मूल्यसूचीका आधारमा यस्तो निर्णय भएको हो । खाना पकाउने ग्यासको मूल्य भने यस पटक पनि घटाइएको छैन । न त यो समायोजनपछि निगमको पाक्षिक नाफा कति कायम हुन्छ भन्ने न खुलाइएको छ । आइओसीले ग्यासको भाउ प्रतिसिलिन्डर १६१ रूपैयाँ घटाएर हालै पठाएको थियो ।
‘नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋण तथा मूल्य स्थिरीकरण कोष लगायतका अन्य दायित्वहरुको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको भएपनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले यो मूल्य समायोजन गरेको जानकारी गराइन्छ,’ निगमले विज्ञप्तिमा उल्लेख छ । आइओसीले पठाएको मूल्यसूची अनुसार निगम सञ्चालक समितिले नयाँ भाउ तोकेको हो ।
पेट्रोल तथा डिजेल÷मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । यस्तो मूल्य निगमको डिपोबाट १५ किलोटरसम्मको क्षेत्रमा लागु हुन्छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् ।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४७ रूपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १४९ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ ।
त्यस्तै डिजेल र मट्टीतेल १५० रूपैयाँ पर्ने निगमले जनाएको छ ।
निगमले हवाई इन्धन (आन्तरिक) मा लिटरको १४ रूपैयाँ कम गर्दै १३६ रूपैयाँ मूल्य तोकेको छ । बाह्यमा पनि प्रतिकिलोलिटर ११५ अमेरिकी डलर (करिब १५ रूपैयाँ प्रतिलिटर) कम गरेको छ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किने बापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।
प्रकाशित मिति २०८० असार १९, मंगलवार ०६:१८ गते