सुन्दरबजार नगरपालिकाद्वारा सौभाग्य सदन मा.वि.लाई बस हस्तान्तरण

सुन्दरबजार नगरपालिकाद्वारा सौभाग्य सदन मा.वि.लाई बस हस्तान्तरण

विराट न्यौपाने

@antaranganews

२०८० असार १९ गते मङ्गलबार ०८:१६

मेयर कृष्णप्रसाद कोइराला, सुन्दरबजार नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत शिशिर पौडेल तथा शिक्षा शाखा प्रमुख ठाकुरजी तिवारीले संयुक्त रुपमा बसको चावी, बिल बुक, ईजाजत र सम्झौता पत्रको एकप्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सुन्दरबजार नगरपालिका– १० का वडाध्यक्ष दिपकराज ढकाल, सो विद्यालयका प्र.अ. तिर्थ ढकाललाई हस्तान्तरण गर्नु भएको हो ।

नगरपालिकाको स्वामित्वमा रहेको ग १ ख ९६५६ नम्बरको बस विद्यालयलाई दिइएको हो

सुन्दरबजार– सुन्दरबजार नगरपालिकाले सौभाग्य सदन मा.वि. धुसेनीलाई एक कार्यक्रमका बिच बस हस्तान्तरण गरेको छ । नगरपालिकाले आफूसंग भएका दुई वटा नगर बस मध्ये एक बस वडा नं. १० को धुसेनी स्थित सौभाग्य सदन मा.वि. धुसेनीलाई असार १९ गते हस्तान्तरण गरेको हो ।
मेयर कृष्णप्रसाद कोइराला, सुन्दरबजार नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत शिशिर पौडेल तथा शिक्षा शाखा प्रमुख ठाकुरजी तिवारीले संयुक्त रुपमा बसको चावी, ब्लु बुक, ईजाजत र सम्झौता पत्रको एक प्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सुन्दरबजार नगरपालिका– १० का वडाध्यक्ष दिपकराज ढकाल, सो विद्यालयका प्र.अ. तिर्थ ढकाललाई हस्तान्तरण गर्नु भएको हो ।
विद्यालयलाई बस हस्तान्तरण गर्दै नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले नगरपालिकाको स्वामित्वमा रहेको ग १ ख ९६५६ नम्बरको बस विद्यालयलाई दिइएको बताउनु भयो । उहाँले त्यसको संरक्षण एवम् मर्मतको जिम्मा विद्यालयलाई दिएको बताउनु भयो । उहाँले नगरपालिकामा रहेका दुई वटा नगरबस मध्ये एक नगरबस मलामी सहितको शव बहानका रुपमा सञ्चालन गर्ने निर्णय गरी हाल मलामी सहितको शव बहानको रुपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढकालले विद्यार्थीलाई ओसार्न मासिक ९० हजार भाडा तिर्दै आएको विद्यालयलाई दिने गरी कार्यपालिकाले निर्णय गरेर विद्यालयलाई गुण लगाएको बताउनु भयो ।

नगरपालिकामा लामो समयदेखि थन्किएर रहेको एक बस विद्यालयलाई हस्तान्तरण गरिएको हो । सो बसलाई अस्पतालबाट समेत माग आएको थियो । नगरपालिका भित्रका विभिन्न विद्यालयले सञ्चालनको अवस्थामा नरहेको उक्त नगरबस विद्यालयलाई दिन अनुरोध गरेका थिए ।

नगर कार्यपालिकाको १७ औं बैठकले शर्त सहित बस सौभाग्य सदनलाई दिने निर्णय गरेको नगरपालिकाको शिक्षा प्रमुख ठाकुरजी तिवारीले बताउनु भयो । उहाँका अनुसार विद्यालयले बस सञ्चालन गर्दा पालिकाबाट सञ्चालनको लागि थप सहयोग माग्न नपाउने शर्त रहेको छ । उहाँले भन्नुभयो, ‘नगरपालिकाको ग १ ख ९६५५ नम्बरको बस मलामी सहितको शव बहानको रुपमा यथा अवस्थामा सञ्चालन भइरहेको छ ।’
बस हस्तानतरण कार्यक्रममा राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारी, उद्योग बाणीज्य संघका प्रथम उपाध्यक्ष मृगेन्द्र घिमिरे, विद्यालयका शिक्षकहरू, नगरपालिकाका कर्मचारीहरू लगायतको सहभागिता थियो ।

अघिल्लो कार्यकालमा नगर बस चलाउने उद्देश्यले किनिएका ती दुई बस नगरबसको रुपमा प्रयोग हुन नसक्दा त्यसै थन्किएर रहेका थिए ।

प्रकाशित मिति २०८० असार १९, मंगलवार २०:१६ गते
हजुरको प्रतिक्रिया