सुन्दरबजार अस्पताल सुधारका लागि छलफल सहित अन्तक्रिया

सुन्दरबजार अस्पताल सुधारका लागि छलफल सहित अन्तक्रिया

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार १९ गते मङ्गलबार ०९:३८

अस्पतालको आन्तरिक श्रोतको पहिचान गर्दै बाह्य श्रोतको खोजीमा आफू लागेको जानकारी दिँदै अस्पतालले अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजना बनाई योजनाबद्ध रुपमा अघि बढ्न तयारीमा रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

आउँदो असोज २६ गते अस्पताल दीवस मनाइने

सुन्दरबजार– लमजुङको शैक्षिक एवम् व्यापारिक केन्द्र सुन्दरबजारमा अवस्थित अस्पताल सुन्दरबजार अस्पताल(सरकारी)को सेवा सहितको स्तरबृद्धिका बारेमा छलफल सहित अन्तक्रिया सम्पन्न भएको छ । सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता र सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलको बिशेष आतिथ्यतामा उक्त अन्तक्रिया असार १९ गते सम्पन्न भएको हो ।
प्रमुख अतिथि मेयर कोइरालाले अस्पतालको वस्तुस्थितिका बारेमा जानकारी लिनु हुँदै सुधार एवम् सेवा बिस्तारका लागि आवश्यक २४ सैं घण्टा सेवा सञ्चालन, एम्बुलेन्स सेवा सञ्चालन, जग्गा प्राप्ती, दरबन्दी अनुसारको कर्मचारी पदपूर्ति एवम् अस्पतालको स्तरोन्नतिका लागि आफू सदैव लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । त्यस्तै बिशेष अतिथि सुन्दर बजार नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत शिशिर पौडेलले अस्पतालको समग्र विकासको लागि नगरपालिकाको पूर्ण सहयोग हुने बताउँदै अस्पतालको सेवाहरू गुणस्तरीय र विश्वसनीय छ भन्ने सेवाग्राहीलाई महसुस गराउनु पर्नेमा जोड दिनु भयो ।
सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठको अध्यक्षता भएको सो कार्यक्रममा सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष एवम् अस्पतालका जग्गा दाता जयराम रेग्मीले वडा समिति, नगरपालिका, स्वास्थ शाखा, अस्पताल र सरोकारवाला निकायको समन्वय गरी अस्पतालको पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्थापन गर्न आवश्यक रहेको औंल्याउनु भयो । अस्पतालका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले असोज २६ लाई अस्पताल दीवस मनाउने प्रस्ताव गर्नु हुँदै अस्पतालको आन्तरिक श्रोतको पहिचान गर्दै बाह्य श्रोतको खोजीमा आफू लागेको बताउँदै अस्पतालले अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजना बनाई योजनाबद्ध रुपमा अघि बढ्ने बताउनु भयो ।
सो अवसरमा अस्पतालका मे.सु. डाक्टर होम गुरुङले अस्पतालको वर्तमान अवस्था र भावी कार्यक्रम बिषयमा प्रकाश पार्नु भएको थियोे । सो अवसरमा मेडिकल अफिसर डाक्टर शिशिर विक, स्वास्थ शाखाका प्रमुख परमेश्वर पिया, सुन्दरबजार नगरपालिका प्रसासन प्रमुख विवेक पण्डित, सूचना प्रविधि शाखा प्रमुख सुजन मिश्र, अस्पतालका सम्पूर्ण कर्मचारीहरूको सहभागिता थियोे । सिनियर अ.हे.व. दिपक पण्डितले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० असार १९, मंगलवार २१:३८ गते
हजुरको प्रतिक्रिया